इन्जिनियरिङबिनाका सडकले दुर्घटना

इन्जिनियरिङबिनाका सडकले दुर्घटना

काठमाडौं : स्थानीय क्षेत्रमा इन्जिनियरिङबिनै बन्ने सडकका कारण सवारी दुर्घटना बढेको पाइएको छ। ग्रामीण क्षेत्रमा दैनिकजसो भइरहने सानाठूला दुर्घटनाको मुख्य कारण इन्जिनियरिङ, डिजाइन, सर्भे र कुनै योजनाबिनै सडक निर्माण हुनु रहेको सरोकारवालाको भनाइ छ। ‘पहाडी बाटोमा जहाँ मन लाग्यो, त्यहीँ डोजर पुर्‍याउने र त्यसकै भरमा खनिने बाटोले दुर्घटना बढाएका हुन्’, मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका प्रमुख ई. शिवहरि सापकोटाले भने।

नेपालमा हाल करिब ७५ हजार किलोमिटर सडक निर्माण भइसकेको छ। त्यसमध्ये २५ प्रतिशत सडकमा मात्र बाह्रै महिना सवारी सञ्चालन गर्न सकिन्छ। सहरी क्षेत्र र राष्ट्रिय तथा रणनीतिक सडक मात्रै सबै सिजनमा चल्ने प्रकृतिका छन्। बाँकी सडक सिजनेबल हुन्। यस्ता सडक नयाँ, धुलेदेखि ग्राभेलसम्म छन्। पहाडी बाटोमा बनेका र गाउँगाउँसम्म पुग्ने सबैजसो सडक तोकिएको मापदण्डमा नभएका कारण सवारी दुर्घटना बढेको सापकोटाले बताए।

‘पहाडी बाटोमा खन्ने–खोस्रिने कामका लागि विभिन्न १७ प्रकारका हेभी इक्विपमेन्ट नेपाल भित्रिन्छन्’, हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबाहादुर कार्कीले भने, ‘त्यसमध्ये अधिकांश साधन पहाडी बाटोमै प्रयोग हुन्छन्।’ पछिल्लो तीन वर्षमा ५ हजारको संख्यामा यस्ता सवारी नेपाल भित्रिएका छन्, जुन आवश्यकभन्दा बढी भएको उनको भनाइ छ।

पछिल्लो समय सामान्य व्यवसायीदेखि गाउँपालिकासम्मले हेभी इक्विपेमन्ट खरिद गरिरहेका छन्। बाटोको आवश्यकता नभएका स्थानमै पनि सरकारी बजेट सक्ने हिसाबले जथाभावी डोजर चलाइएको पनि छ। सीमित क्षेत्र र वर्गलाई आर्थिक लाभ पुर्‍याए पनि यसबाट हुने दीर्घकालीन असर एवं वातावरणीय विनाश भने भयानक हुने कार्कीले बताए।

सडक विभागका प्रवक्ता मुक्ति गौतमले भने सवारी दुर्घटनाको पहिलो कारण सम्बन्धित सवारी चालककै हुने बताए। सवारीको अवस्था, प्रतिकूल मौसम र सडककै कारणले पनि दुर्घटना हुने गरेको उनको भनाइ छ।

बाटोको आवश्यकता नभएका स्थानमै पनि सरकारी बजेट सक्ने उद्देश्यले जथाभावी डोजर चलाइएको छ।

पहाडी बाटोमा हुने दुर्घटनाको एउटा कारण भने उनले पनि इन्जिनियरिङबिनाकै सडकलाई मान्छन्। पहाडी सडकमा उकालोको मात्रा अधिक हुने गरेको छ। सामान्यतया १० प्रतिशतसम्मको उकालो मात्रै पहाडमा मान्य हुन्छ। यद्यपि अहिले १२ प्रतिशतसम्मलाई छुट दिइएको छ। तर त्यसभन्दा बढी १५ देखि १८ प्रतिशतसम्म उकालो बाटो बनाउने र अन्धाधुन्ध सवारी हाँक्ने गरिएकाले दुर्घटना बढेको गौतमको भनाइ छ। साँघुरो घुम्ती, चालकमा हुने दृष्टिदोष, अनियन्त्रित गति र मौसमको खराबीका कारण पनि सवारी दुर्घटना हुने उनले बताए।

अहिले सडक विभागले साँघुरा बाटोमा दुर्घटना हुन सक्ने भन्दै सुरक्षा एवं वातावरण विनाशलाई समेत दृष्टिगत गरी सिंगल लेनका सडक बनाउन छाडेको छ। विभागले पछिल्लो समय निर्माण गर्ने सबै सडक कम्तीमा पनि मध्यम लेनको बनाइरहेको छ।

तर ग्रामीण सडक, उपभोक्ता समिति तथा अन्य निजीक्षेत्रबाट बन्ने सडक भने मापदण्ड नपुर्‍याई बनाउने र विभागको ‘नेपाल रोड स्ट्यान्डर्ड’अनुसार नहुँदा दुर्घटना बढेको प्रवक्ता गौतमको भनाइ छ। ‘सबै सडक मापदण्डअनुसार स्तरीय एवं इन्जिनियरिङसहितका हुनैपर्छ’, उनले भने, ‘जबसम्म हरेक गाउँगाउँ जोड्ने नाममा डोजर आतंक बन्द हुँदैन, तबसम्म न सवारी दुर्घटना नियन्त्रण हुन्छ, न भूक्षय एवं वातावरण विनाश नै रोक्न सकिन्छ।’ ०००

दुर्घटनामा कुन आवमा कतिको मृत्यु भयो ?

आव २०६८/६९  = १८३७ जना

आव २०६९/७०  = १८१६ जना

आव २०७०/७१  = १७८७ जना

आव २०७१/७२ = २००४ जना

आव २०७२/७३ = २००६ जना

आव २०७३/७४ = २३८४ जना

आव २०७४/७५ = २०९७ जना


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.