अवैध कल बाइपास गर्ने बंगलादेशी र भारतीय गिरोह काठमाडौंमा सक्रिय

अवैध कल बाइपास गर्ने बंगलादेशी र भारतीय गिरोह काठमाडौंमा सक्रिय

काठमाडौं : भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भीओआईपी)मार्फत अवैध कल बाइपासको गिरोह काठमाडौंमा सक्रिय रहेको पाइएको छ। सूचना पाएसम्म प्रहरीले ती गिरोहलाई नियन्त्रणमा लिँदै आएको छ। सुरुमा बंगलादेशी नागरिकले उपत्यकामा भीओआईपी सञ्चालन गर्दै आएका थिए। अहिले भारतीय गिरोह सक्रिय रहेको प्रहरीको दाबी छ।

एउटा सिमकार्ड पाँच घण्टासम्म भीओआईपीमार्फत कल बाइपास गर्न पाए गिरोहले बढीमा ३० डलरसम्म कमाइ गर्ने गरेको प्रहरीले जानकारी दिएको छ। गिरोहले बढीमा ३२ वटा सिमकार्ड लाग्ने गेटवे भएको जीओआईपी पोर्टको प्रयोग गर्दै आएको छ। डेरावालाको भेषमा काठमाडौं छिर्ने यो गिरोह कुनै तामझामसँग बस्दैनन्। बरु घरधनीले मागेजति भाडा तिरेर बस्छन्। ३२ पोर्टको जीओआईपी गेटवे पोर्टबाट एक साता कल बाइपास गर्न पाए गिरोहले करोडौं रुपैयाँ उठाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

अवैध कल बाइपास गर्ने गिरोह पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ‘अपरेसन भ्वाइस फक्स’ नामक अपरेसन सञ्चालन गर्दै आएको छ। हालसम्म सीआईबीले भीओआईपीमार्फत अवैध कल बाइपास गर्ने एक सय ६० जनालाई नियन्त्रणमा लिइसकेको छ।

पक्राउ परेकाविरुद्ध सरकारी वकिल कार्यालयले ११ अर्ब ९० करोड ३८ लाख ६० हजार एक सय ६३ रुपैयाँको बिगो मागदाबी गरेको छ। यो गिरोहले प्रायः एनसेलको सिम प्रयोग गरेर अवैध कल बाइपास गर्दै आएको छ। सीआईबीले हालसम्म एक सय तीन स्थानमा छापा मारी उनीहरूबाट विभिन्न कम्पनीका २२ हजार आठ सय ३५ वटा सिमकार्ड बरामद गरेको छ।

अपरेसन भ्वाइस फक्सअन्तर्गत सोमबार मात्रै सीआईबीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारत नयाँ दिल्लीका २४ वर्षीय जफर खानलाई भीओआईपीमा प्रयोग हुने उपकरणसहित नियन्त्रणमा लिइएको हो। भारतकै गिरोहको सहयोगमा खानले काठमाडौं महानगरपालिका–३२ स्थित शुभकामना मार्गमा रहेको रमेश सिंह हमालको घरमा डेरा लिएर भीओआईपी सञ्चालन गर्दै आएका थिए। खानले भीओआईपीका लागि नयाँ प्रविधिको जीओआईपी गेटवे पोर्ट प्रयोग गरेका छन्।

 उनले ३२ पोर्टका ३२ वटा एन्टेना प्रयोग हुने जीओआईपी गेटवे प्रयोग गरी भीओआईपी सञ्चालन गर्दै आएका थिए। सिमकार्ड निकाल्न भारतीय र नेपाली नागरिकता तथा राहदानी प्रयोग गर्दै आएका खानबाट प्रहरीले एक सय ४२ जनाको फोटो र विभिन्न व्यक्तिका ४० वटा राहदानीको फोटोकपी बरामद गरेको छ।

खानबाट प्रहरीले एनसेल कम्पनीको एक सय २० र स्मार्ट सेलका दुई वटा सिमकार्ड बरामद गरेको छ। खानले आफू तीन महिनाअघि मात्रै काठमाडौं आएर भीओआईपी सञ्चालन गर्दै आएको सीआईबीलाई बयान दिएका छन्। उनले उक्त कार्य गरेबापत मासिक ५० हजार भारु तलब लिँदै आएको प्रहरीसमक्ष स्वीकार गरेका छन्।

 इन्टरनेट कलमार्फत अवैध रूपमा भीओआईपी सञ्चालन गरेर रातारात धनी हुन यस्ता गिरोह सक्रिय रहेको सीआईबीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) नारायणसिंह खड्का बताउँछन्। ‘सेवाप्रदायक संस्थालाई तिर्नुपर्ने राजस्व छलेर गरिने कल बाइपासबाट यस्ता गिरोहले करोडौं रुपैयाँ कमाएका छन्’, उनले भने, ‘सूचना पाएसम्म प्रहरीले पक्राउ गरेर कारबाहीको दायरामा ल्याएको छ।’

इन्टरनेटबाट कुनै पनि सेवाप्रदायक कम्पनीको फोनमा भीओआईपीमार्फत कल बाइपास गर्न मिल्छ। भीओआईपीका गिरोहले अन्तर्राष्ट्रिय कललाई सजिलै टर्मिनेट गर्न सक्छन्। सेवाप्रदायक कम्पनीले समयमै सूचना दिएमा यसका गिरोह पक्राउ गर्न सजिलो हुने डीआईजी खड्काले बताए। वैध रुपमा भीओआईपी सञ्चालन गर्न सरकारलाई धरौटीस्वरूप ६ करोड ५३ लाख रुपैयाँ लाइसेन्स शुल्क बुझाउनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.