दार्चुलावासीका लागि धराप बन्दै पहिरो
दार्चुला : भारतको धार्चुलाको खोतिलामा पहिरो खस्दा आवतजावतमा निकै समस्या भएको छ । असार १८ र १९ गते परेको मुसलधारे वर्षाका कारण लगातार पहिरो खस्न थालेको हो । भारतको खोतिला भन्ने स्थानको पहिरोले सीमा नदी महाकालीलाई पनि रोक्ने भएकाले त्यो पहिरो नेपालका लागि खतरा बनिरहेको हो ।
गत वर्ष पनि ठूलो पहिरो खसेर नेपालतर्फ ठूलो क्षति भएको थियो भने यस वर्ष पनि पहिरो खसेर मानिसलाई आवतजावतमा निकै समस्या परेको छ । महाकाली किनारदेखि सुरु भएर झन्डै ५ सय मिटर उचाइबाट खोतिलामा पहिरो खस्ने गरेको छ ।
त्यस ठाउँमा न मेसिन ल्याउन सकिन्छ न त मानिसले बाटो निर्माण गर्न सक्छन् । घाम लागेका बेला पहिरो खस्ने गरेको छ । पहिरोले दार्चुलावासीलाई निकै ठूलो दुःख दिन सक्ने दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आर्चायले बताए । ‘पहिरो हटाउन भारतीय पक्षसँग पटक–पटक पत्राचार गर्दा पनि कुनै वास्ता गरिएको छैन’, आर्चायले भने ।
०७३ सालदेखि सुरु भएको पहिरोले मानवीय क्षति नगरे पनि आवतजावतमा निकै समस्या भएको महाकाली नदी नियन्त्रण आयोजना प्रमुख सुशीलचन्द्र देवकोटाले बताए । ‘गत वर्ष त्यो ठाउँमा ठूलो पहिरो खसेको थियो तर यस वर्ष पनि गत वर्षको भन्दा निकै ठूलो पहिरो खसेको छ’, उनले भने । उनले भारतको त्यो कमजोर पहाड खसेर कहिले सकिन्छ भनेर पर्खनुबाहेक विकल्प नरहेको बताए ।
पहिरो नियन्त्रणका लागि अध्ययन गर्न गएको नेपाल र भारतको टोलीले त्यस क्षेत्रलाई निकै जोखिम क्षेत्र घोषणा गरेको छ । तर, भारतीय पक्षले पहिरो हटाउने विषयमा खासै चासो नदिएर नेपाललाई झन् दुःख दिएको दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिंह ठगुन्नाले बताए ।