रुकुम उद्योग वाणिज्य संघको अघिबेशन रोकियो
मुसीकोट : शुक्रबार उद्घाटन हुने भनिएको रुकुम उद्योग वाणिज्य संघको १२ औं अधिवेशन तथा साधारण सभा संस्थाको बिभिन्न आय–व्ययका बिषयमा कार्यसमितिबीच नै विवाद हुदाँ र साढे १ बर्ष अघि सम्पन्न प्रथम मध्यपश्चिम रुकुम महोत्सव २०७३ को आय–व्यय सार्वजनिक गर्न व्यवसायीले माग गरेपछि उद्घाटन हुन नपाई स्थगित भएको छ ।
व्यवसायी टेबबहादुर पुनको नेतृत्वमा रहेको रुकुम उद्योग बाणिज्य संघको विगत ३ बर्ष यताको आम्दानी तथा खर्चको कुनै लेखाजोखा नभएको पाइएपछि कार्यसमितिका पदाधिकारी र अन्य सदस्य बीच विगत केही समयदेखि नै विवाद थियो । विवाद यतिबेला सतहमा आएको छ । उद्योग बाणिज्य संघका सदस्य वसन्त खड्काले दिएको जानकारी अनुसार रुकुम उद्योग वाणिज्य संघले तीन बर्षमा झण्डै ४० लाख जति संस्थागत आम्दानी गरेको र २० लाख खर्च भएको प्रारम्भीक आँकलन गरिएको छ । तर, आम्दानी र खर्चको कुनै आधिकारिक कागजात नहुदाँ बाँकी २० लाख कहाँ छ र खर्च भएको २० लाख कसरी, के कामका लागि, कहाँ खर्च भयो भन्ने अलमल रहेको छ ।
अध्यक्ष पुन र कोषध्यक्ष राजन पुनबीच विवाद हुदाँ आय–व्यय सार्वजनिक हुन नसकेको सदस्य खड्काको दावी छ । ‘संस्थाभित्रै विवाद भयो । दुई हजार भन्दा बढी रकम अध्यक्षले आफ्नो ढंगले चलाउन नपाउने व्यवस्था भएपनि यो नियम कार्यन्वयन भएन र अहिले यो अवस्था आयो ।’ उनले भने, ‘तर सबै कुरा मिलाउनेगरी छलफल अगाडि बढेको छ । संम्भवत चाडै यसको समाधान निस्केर कार्यक्रम अगाडि बढ्छ ।’
त्यस्तै २०७३ फाल्गुण १२ गतेदेखि २२ गतेसम्म रुकुम (पश्चिम)को सदरमुकाम मुसीकोटमा पहिलोपल्ट आयोजना गरिएको महोत्सवको पनि खर्च र आम्दनी कुनै पनि कुरा अहिलेसम्म सर्वजनिक नभएको भन्दै पटक–पटक उद्योग वाणिज्य संघको आलोचना हुने गरेको थियो । अधिवेशन उद्घाटनका क्रममा उपस्थित अन्य व्यवसायीले यसको हर–हिसाव सार्वजनिक गर्न माग गरेपछि पनि यतिबेला यो पनि विवाद थपिएको छ । व्यवसायीका स्टल, प्रायोजक र टिकट बिक्री लगायतबाटै लगभग ५२ लाख अम्दनी भएको अनुमान गरिएपनि यसको पनि यतिबेलासम्म कुनै आधिकारिक कागजात भने भेटिएको छैन ।
महोत्सवको सचिवाललयले आम्दानी भन्दा ८ लाख बढी अर्थात कुल ६० लाख खर्च भएको बताएको छ । तर कहाँ, कसरी खर्च भयो भन्ने बारेका कागजात सबै गायव गरिएकाले हिसाव गोलमाल देखिएको स्रोतले बताएको छ ।
रुकुम उद्योग वाणिज्य संघका वर्तमान महासचिव नवराज गिरी र कोषध्यक्ष राजन पुनले छुट्टाछुट्टै प्यानल बनाएर अगामी कार्यसमितिमा अध्यक्षका लागि दावीसहित चुनावी मैदानमा आउने गरी तयारी थालेका छन् । रुकुमका एक व्यवसायी तथा रुकुम उद्योग वाणिज्य संघका संस्थापक मध्येका एक हेमराज श्रेष्ठले जसरी पनि अहिलेसम्मको हर–हिसाव जुनसुकै हालतमा पनि सार्वजनिक गर्नुपर्ने बताउदै यसका लागि आफूहरुले आवश्यक दवाव दिइरहेको बताए । उता रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष टेकबहादुर पुनले आर्थिक बिषयमा केही विवाद भएपनि यो खासै ठुलो विवाद नभएको र यो सब मिलाएर चाडै अधिवेशको कार्यक्रम अगाडि बढ्ने बताए ।