एक घुम्तीको कहानी

एक घुम्तीको कहानी

केही संवादांशबाट किताब–टिप्पणीतिर प्रवेश गरौं, जसले समकालीन राजनीतिक इतिहासप्रति प्रस्तुत उपन्यासको विचार–स्थान र विश्वदृष्टिको एक झलक थाहा लाग्नेछ।

  • संविधानमा धेरै धेरै कुरा लेखिया छ, तर ती अहिले पशुपतिधामका व्यभिचारी मुखियाहरूका दराजमा थन्क्या छन्। (पृ. ३४३)
  • तिम्ले चाहेर उनलाई (कमरेड मुखियालाई) भेट्न सकिन्न। हजारौं मानिसको रगतमा टेकेर उनको वर्गोन्नति भइसक्या छ। अब उनको मित्रपंक्तिमा तिमी हैन, राष्ट्रिय र अन्तर्राष्ट्रिय दलाल र युद्धसरदारहरू छन्। (पृ. ३५२)
  • हामी अहिले विचारहीनताको युगमा पुगेका छौं। विचारहीनताले सस्ता उद्धरण र तुकबन्दीको सहारा लिन्छ। विचार गौण बन्छ र सूचनाले विचारको ठाउँ लिन्छ। आदर्श मर्छ र अन्यायले टाउको उठाउँछ। युटोपिया मर्छ, सपना मर्छ र मानवता कहिल्यै नवीकरण नहुने फोहोरको डंगुर बन्न पुग्छ। चुट्किला र हास्यरसपन्थीहरूको बोलवाला बढ्छ। जोक्करहरू नै शक्तिको हर्ताकर्ता बन्छन्। तिनीहरूले समाजमा सहयोद्धा हैन, दास र दलालहरू तयार गर्छन्। अपराधीसित साँठगाँठ गर्छन्। सत्ताको लागि जस्तोसुकै अवाञ्छित शक्तिसित पनि निहुरिन्छन्। (पृ. ३६९)

साहित्य क्षेत्रमा झण्डै पाँच दशकदेखि क्रियारत लम्बे साधक नारायण ढकालको नयाँ उपन्यास ‘हजार माइलको बाटो’ पाठकबीच संवादार्थ उपस्थित छ। आफ्नो रुचिक्षेत्र र वैचारिक प्रतिबद्धताका कारण ढकालको लेखनले त्यस्ता सचेष्ट पाठकलाई लक्षित समूह बनाएको हुन्छ, जो सामाजिक समस्यामा चिन्ता गर्छन् र राजनीतिक समाधानमा न्यूनतम समझ राख्छन्। निबन्ध, अखबारी लेखन, ऐनमौकामा झुल्कने कविता र सहरी सार्वजनिक प्रवचनमा ढकालले जुन विषय क्षेत्रमा सरोकार राखेका हुन्छन्, आख्यानमा पनि उनी पात्रहरूलाई परिवेश र सन्दर्भ दिँदै आफ्नो त्यही जण्ड सुधारको ‘एब्स्ट्र्याक एजेन्डा’को पैरवी गरिरहेका हुन्छन्। नेपाली कम्युनिस्ट आन्दोलनमा आँठे तरह फैलिएको विचारहीनता, व्यक्तिवादिता र दलाल–निर्भरतालाई नै केन्द्रीय कथ्य बनाएको छ— हजार माइलको बाटोले।

कम्युनिस्ट आन्दोलन व्यक्ति हिताय थिएन, होइन। कम्युनिस्ट पार्टी वा संगठनको प्रयोजन निजी कुण्ठा विरेचन थिएन, होइन। तथापि बेलान्तरमा देखिँदैछ— कम्युनिस्ट नेताहरूको हित्तचित्त निजी शासनसुखमा स्पर्धारत छ। अगुवाहरूकै व्यवहार स्वयंको स्थान–सुरक्षार्थ केन्द्रित छ। हजार माइलको धीरेन्द्रले त्यस्तै योद्धाको विम्बका रूपमा उपन्यासको विशाल फलक ओगटेको छ, जो आफ्नै बाउसँग प्रतिशोध साँध्न राजनीतिमा लाग्छ, क्रान्तिकारी बन्छ र आफ्नो इखसँधाइलाई सैद्धान्तीकृत गर्छ। बाउ नरेन्द्रनाथ राजनीतिक रूपमा पञ्चायती सत्ताको स्थानीय प्रतिनिधि हो, सामाजिक रूपमा महिला–दलित उत्पीडक तथा सामन्तवादको भुइँपुर्जा हो। पञ्चायतभरि ऊ पञ्च हो। बहुदल आएपछि एमाले हो। माओवादी आन्दोलन बलियो हुँदै जाँदा उसैसँग नजिकिँदै गरेको सत्तानुकूलित अवसरवादी हो। बाउ आफ्नो स्थानीय सत्ता कायम राख्न बदलिएको रीतिमा पनि आफूलाई सोही मुताबिक बनाउँदै जान्छ। छोरोचाहिँ बाउसँग बदला लिन एमाले हुँदै पछि माओवादी विद्रोही बन्छ। र, बाउकै हत्या योजना बुन्छ।

यो उपन्यास नवगठित नेकपाको विचारहीनता र चुट्किलापन्थको आख्यान–आलोचना हो। निजी कुण्ठा तुष्टिका लागि नेतृत्वले सिंगै पार्टीपंक्तिलाई मोड्ने, रोक्ने, हाँक्ने गरिरहेको दृश्यफलकमा हजार माइलको धीरेन्द्र धेरै अस्वाभाविक पात्र लाग्दैन।

वर्गवैरीका रूपमा हुन लागेको पितृहत्या तब भाँडिन्छ, जब नरेन्द्रनाथले विद्रोहीको न्यायालयसामु आफ्नो लिखित स्वीकारोक्ति पेस गर्छ। त्यही स्वीकारोक्ति पढेपछि छोराको बाउप्रतिको शत्रुतापूर्ण आग्रह चकनाचुर हुन्छ। बाउको हत्या योजनासमेत बुनिसकेको धीरेन्द्र त्यही पत्र पढेपछि बाउप्रति एकाएक सहानुभूतिशील र आफैंप्रति ग्लानिबोधी देखिन्छ। उपन्यासको क्रमभञ्जन उपसंहार चरणमा हुन्छ, त्यहीँ चल्छ पुष्पलाल नेतृत्वमा स्वैरकाल्पनिक भूत गणतन्त्रको क्रान्ति विमर्श। नेपाली कम्युनिस्ट आन्दोलनप्रति नारायण ढकालको वैचारिक स्वरलाई पुष्पलालले यहीँ बोल्छन्। माथि उद्धृत तीन संवाद पुष्पलालबाटै बोलाइएका हुन्, जसले वर्गोत्थानमा पुगेका युद्धपथी मुखियाको पनि चरित्र चित्रण गर्छ, अनि तुक्काबन्दीमा रमाइरहेको जबजपथी मुखियाको पनि सिद्धान्त विश्लेषण गर्छ।

यस्तो लाग्छ, यो उपन्यास नवगठित नेकपाको विचारहीनता र चुट्किलापन्थको आख्यान–आलोचना हो। निजी कुण्ठा तुष्टिका लागि नेतृत्वले सिंगै पार्टीपंक्तिलाई मोड्ने, रोक्ने, हाँक्ने गरिरहेको दृश्यफलकमा हजार माइलको धीरेन्द्र धेरै अस्वाभाविक पात्र लाग्दैन। जतिसुकै गम्भीर विषयमा पनि मनोरञ्जक प्रस्तुति दिइरहेका ‘कम्युनिस्ट’ अगुवाले शासन चलाइरहेका बेला कल्पित पुष्पलालको तर्क घच्चीको लाग्छ, जो भन्छन्, ‘विचारहीनताले सस्ता उद्धरण र तुकबन्दीको सहारा लिन्छ।’

०००

हजार माइललाई ढकालका अघिल्ला दुई उपन्यास ‘प्रेतकल्प’ र ‘वृषभ वध’को तेस्रो शृंखलाका रूपमा प्रचार गरिएको छ। कथा–शृंखला वा उपन्यास–शृंखलामा सामान्यतः अघिल्लो र पछिल्लोबीच कथा, विषय–सन्दर्भ, काल र पात्र आपसी कडीमा जोडिएको हुनुपर्ने मानिन्छ। ढकालका यी तिनै उपन्यासमा भिन्न कथा, भिन्न सन्दर्भ र भिन्न पात्रहरू छन्। समय कालखण्डको चर्चा गर्दा क्रमिक देखिन्छ अर्थात् राणाकालीन, पञ्चायतकालीन र पञ्चायतोत्तर (बहुदलकालीन)। अनि तीनै उपन्यासमा कथाको देश (परिवेश) एउटै छ, अर्थात् काँठ। यस अर्थमा यी तीन किताबलाई उपन्यासत्रयी मान्न सकिन्छ। त्यो पनि उपन्यासकारले छानेका तीन इतिहासखण्डको कहानी। पञ्चायतीखण्डको वृषभ कथापछि ढकाल एकैचोटि फड्केर माओवादी विद्रोह र त्यसको अवसान कथाको हजार माइलमा पुगेका छन्। उपन्यासत्रयीका रूपमा तीनै किताब एकैचोटि पढ्दा पंक्तिकारलाई खड्केको थियो— ०४६ सालपछिको नवउदारवादी सत्ताशासन र कांग्रेस–एमालेको पार्टीसत्ताबारे काँठ परिवेशमै थप दुई उपन्यास हुन सक्थे कि ?

उपन्यास नेपाली कम्युनिस्ट आन्दोलनका ती दुई धाराप्रति नै प्राश्निक छ, जो अब एउटै पोखरीमा परिणत भइसकेका छन्। दुवै धाराको मूल नेतृत्वप्रति उपन्यासले दूरी राख्छ। फरकचाहिँ के छ भने दशक लामो माओवादी युद्धप्रति झण्डै खारेजीभाव छ भने अढाई दशक लामो एमाले–प्रवृत्तिको आलोचना मात्रै। हेमबहादुर शाह नामक पात्रमार्फत उपन्यासले भन्छ, ‘माओवादी युद्ध क्रान्तिको नाममा कि त आत्महत्या, कि ठगी हो।’ उसैले अर्को सन्दर्भमा संसदीय राजनीतिप्रति टिप्पणी गर्छ, ‘संसदीय जीवन त कसरी राम्रोसँग चल्नु ! पैसा, पैसा र पैसाबिना यसमा टिक्नै सकिन्न।’

नेपाली राजनीतिमा कहिले एउटै प्रवृत्तिले फरक झण्डा बोक्छ। कहिले फरक प्रवृत्तिले एउटै झण्डा बोक्छ। नरेन्द्रनाथ पहिलो कोटीको पात्र हो किनभने ऊ पञ्चायतमा राजाको झण्डा बोक्छ। बहुदलमा एमालेबाट गाउँ अध्यक्ष जित्छ अनि माओवादी उत्कर्षमा उसकै निकट जान खोज्दो छ। आन्दोलनका मुखियाहरू दोस्रो कोटीका पात्र हुन्। उनीहरूले पञ्चायतकालदेखि नै एउटै झण्डा बोकेका छन्, कम्युनिस्ट झण्डा। तर, पञ्चायतमा उनीहरू अर्कै प्रवृत्तिका थिए, बहुदलकाल वा जनयुद्धकालमा अर्कै र गणतन्त्रपछि अर्कै प्रवृत्ति हासिल गरिसकेका छन्। उपन्यास पहिलो प्रवृत्तिप्रति लच्केको छ।

हजार माइलका दलित पात्रहरू पर्वते भाषा बोल्छन्, जसलाई मानक भाषाविद्हरू भाषिका भन्छन्। पर्वते भाषामा नारायण ढकालको गल्ती प्रेतकल्पदेखि नै जारी छ। पर्वतको दलित जीवनमाथि उपन्यास लेख्ने खगेन्द्र संग्रौला र शरद पौडेलहरूले झैं सबै क्रियापदमा र क्रियापदबाहेकका शब्दमा समेत ‘छ’को ठाउँमा ‘च’ लगाइदिने गल्ती ढकालले पनि दोहो¥याएका छन्। यो सम्बन्धित विषय वा क्षेत्रको अध्ययन नपुग्दा हुने चिप्ल्याहट हो। जात, ईश्वर, धर्मजस्ता विषयमा पनि अवधारणागत समस्या उपन्यासमा ठाउँठाउँ भेटिन्छ। जस्तैः एक ठाउँ भनिएको छ, ‘बाहुन र कामी भनेर भगवान्ले छुट्याको त हैनन् नि।’ मानौं, भगवान् छन्, उनले अरू कामकारबाही गर्छन् तर बाहुन र कामी भनेरचाहिँ उनले छुट्याएका होइनन्। अथवा, बाहुन र कामी भनेर भगवान्ले नै छुट्याएको भएचाहिँ मान्नुपथ्र्यो।

केही ऐतिहासिक तथ्यबारे पनि उपन्यासमा भ्रमपूर्ण चर्चा छ। तत्कालीन माओवादी पार्टीले नेतृत्व केन्द्रीकरणको नीति लिएको २०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनलाई कहीँ (पृ. २२५) चौथो सम्मेलन भनिएको छ भने कहीँ (पृ. २४०) दोस्रो राष्ट्रिय सम्मेलन भनिएको छ। त्यस्तै दरबार हत्याकाण्डपछि राजा ज्ञानेन्द्रको नायकत्वमा शाही सेनाले सम्पूर्ण शासनसत्ता हातमा लिएको सन्दर्भ (पृ. २३१) छ। ज्ञानेन्द्र गद्दीनसीन बनेको २०५८ जेठमा हो भने उनले सम्पूर्ण सत्ता हातमा लिएको २०६१ माघमा। माओवादीको ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ रणनीतिलाई २०६१ सालकै (पृ. ३३८) भनिएको छ, जुन २०६२ सालको हो। २०६२ मंसिरको माओवादी लडाइँलाई ‘अन्तिम’ (पृ. ३३८) भनिएको छ, जब कि मंसिरदेखि चैतसम्म पनि लडाइँहरू चलेका थिए।

हजार माइल संकेत र विम्बमा हजारौं वर्षदेखिको वर्गीय समाजको अन्त्यखातिर चलेको कम्युनिस्ट क्रान्ति र त्यसको विचलन–विघटनप्रतिको सम्बोधन हो। तर, यही उपन्यासको देशकाललाई हेर्ने हो भने यो हजार माइलकै कथा होइन। यसले लामो यात्रामा निस्केका हजारौं सवारीमध्ये एक सवारीको एक घुम्तीको कहानी मात्र भन्छ। नेपालको कम्युनिस्ट आन्दोलन, त्यसमा पनि पछिल्लो माओवादी आन्दोलन हजारौंजनका हजारौं कथा–उपकथाले बुनिएको महाआख्यान हो, जसबारे लेखिनै बाँकी छन्— हजारौं कथा र उपन्यास। ‘हजार माइलको यात्रा’ले भनेझैं त्यो क्रम चलिरहनेछ— चरैवेती, चरैवेती।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.