मनमोहक मर्दी ट्रेक

मनमोहक मर्दी ट्रेक

स्थानीय रैथानेसँग मर्दी चर्चित हुनुको कथा छ। सन् १९५६ तिर एक स्विस नागरिकले मर्दी यात्रा गरे। फोटो खिचे र प्रचार गरे। सुन्दर छ भनेर मान्छेलाई विश्वास दिलाए। त्यसपछि मर्दीमा मान्छे हिँड्न थाले।


मर्दी हिमाल पोखराबाट दुई दिनमै पुगिन्छ। हिमाल छुन रहर मान्नेका लागि मर्दी ट्रेक सुन्दर गन्तव्य हो।

मर्दी आधार शिविर ४५०० मिटर उचाइ पुग्दा माछापुच्छ्रेलाई सबैभन्दा नजिकबाट देखिन्छ। त्यो फेवातालमा डाइभ हान्ने फिस्टेल कस्तो होला ? थाहा लाग्छ !

मर्दी हाइक्याम्प ३५४० मिटरमा घामले पाइला टेक्नुअघि त्यहाँ पुगेका यात्रुहरू माछापुच्छ्रेतिर उकालो लाग्छन्। टाउकोमा टर्चलाइट बोकेर भिरैभीर हिँड्नेको लर्काे सम्झिँदा लाग्छ, ‘माछापुच्छ्रेको फेदमा भव्य खजाना छ, जुन घाम झुल्कनुअघि नै पुग्नु अनिवार्य छ।’

माछापुच्छ्रे भर्खरै सुनको पोखरीमा नुहाएर निस्केजस्तो सुनौलो देखिन्छ। पूर्वबाट एउटा नयाँ बिहान उदाउँछ। थकित यात्रुको अनुहारमा उज्यालो भरिन्छ। उचाइ चुम्नुको खुसी कम्ता हुँदैन।

आफसेआफ आवाज निस्कन्छ, ‘बबाल हिमाल !’ पृथ्वीको कुनाकाप्चाबाट लौरो टेक्दै आइपुगेका यात्रीको उज्यालो अनुहारले हिमाललाई थप सुन्दर बनाउँछ।

‘ट्रेक मर्दी’ भए पनि देखिनचाहिँ माछापुच्छ्रे देखिन्छ। हिमचुली, साउथ अन्नपूर्ण, अन्नपूर्ण प्रथमलगायत अन्य हिमाल देखिन्छ। मर्दीचाहिँ यी ठूला हिमालको चेपुवामा परेर हराउँछ तर मान्छेहरू हिँड्नचाहिँ मर्दी हिमाल नै हिँडेका हुन्।

ब्रान्डेड माछापुच्छ्रेको छायामा परेको सानो हिमालको नामबाट यो ट्रेक ब्रान्डिङ हँदैछ। सानाहरूको पनि आफ्नै नाम र उचाइ हुन्छ। आफ्नै सौन्दर्य र चर्चा हुन्छ। मर्दीको उचाइ ५५८७ मिटर मात्र भए पनि चढ्न कठिन छ।

सामान्य यात्रु मर्दीको आधार शिविर ४५०० मिटरबाटै फर्किन्छन्। केही यात्रुले मात्र उचाइ चुम्ने अन्तिम यात्रा तय गर्छन्। मर्दीका लागि सिदिंग रुट सबैभन्दा छोटो हो। पोखराबाट दुई दिनमा ४५०० मिटर चुमेर फर्किन सकिन्छ। बिहान पोखराबाट साना जिपमा हिँड्ने हो भने दुई घन्टा तीस मिनेटमा सिदिंग पुगिहालिन्छ।

सिदिंगबाट उकालो लागेपछि घना जंगलको सुन्दर उकालो बाटो आउँछ, जहाँ चरा र बतासको सुमधुर संगीतले मोहित तुल्याउँछ। सिदिंगबाट हिँडेको चार घन्टामै मर्दी लो क्याम्प २९८५ मिटर पुगिन्छ। यहाँ होटलहरू छन्। भोक छ भने खाजा नास्ता खान सकिन्छ। लो क्याम्पबाट हाइक्याम्प पुग्न जम्मा तीन घन्टा लाग्छ। हाइक्याम्पमा पनि होटलहरू छन्।

हाइक्याम्पबाट माछापुच्छ्रे साउथ अन्नपूर्ण आँखामै ठोकिन्छ। हिमाली बतासले हिमालसँग साउती मारेको कानले सुन्न सकिन्छ। बिहान सुनको तलाउमा डुबेर उज्यालिएको हिमाल फेरि सुनकै तलाउमा डुबेर अँध्यारिन्छ। मुटु कमाउँदै सुनको हिमाल हेर्नेहरू आँखा झिम्क्याउन मान्दैनन्। तस्बिर खिच्नेहरू ग्याजेटमा अल्झिन्छन्। ती सुनका हिमालहरू आफन्त साथीभाइलाई तुरुन्तै बाँड्छन्। नेपालको सुनको हिमाल तुरुन्तै फैलिन्छ विश्वको कुनाकाप्चा।

भर्चुअल संसारमा हाम्रो हिमाल देखेर कयौंको पैताला सकसकाउँदो हो। मन भड्किँदो हो। कतिले सपना देख्दा हुन्, ‘एक दिन पुगेरै छाड्छु हिमाल।’

स्थानीय रैथानेसँग मर्दी चर्चित हुनुको कथा छ। सन् १९५६ तिर एक स्विस नागरिकले मर्दी यात्रा गरे। फोटो खिचे र प्रचार गरे। सुन्दर छ भनेर मान्छेलाई विश्वास दिलाए। त्यसपछि मर्दीमा मान्छे हिँड्न थाले। सन् १९८० देखि विदेशीबाट क्यम्पिङ हुन थाल्यो। अहिले ‘मर्दी ट्रेक’को नामले चर्चित छ। पृथ्वीका कुनाकाप्चाका मान्छे यहाँ भेटिन्छन्।

हाइक्याम्पबाट बेस क्याम्प पुग्न जम्मा तीन घन्टा लाग्छ। बिहान ३ बजेतिरै हिमालतिर लाग्छन् यात्रुहरू। बतास ब्यूँझिएर हुरी चल्नुअघि नै मान्छे बेसक्याम्प पुगेर फर्किसक्छन्। हिमाली बतासलाई झुक्याएर उचाइमा पाइला राख्नु कम्ता आनन्दको बात होइन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.