क्रोएसियालाई रुसी रक्षापंक्तिको चुनौती
मस्को : जारी विश्वकपको क्वार्टरफाइनल चरणको अन्तिम खेलमा शनिबार राति क्रोएसियाले आयोजक रुसको चुनौती स्वीकार गर्दैछ । यो खेलबाट विश्वकपको सेमिफाइनलमा पुग्ने चौथो तथा अन्तिम टोलीको टुंगो लाग्नेछ । आक्रामक क्रोएसिया र बलियो रक्षापंक्ति रहेको रुसबीचको यो खेल दर्शकका लागि पनि निकै रोमाञ्चक हुनेछ ।
जारी प्रतियोगिताको अघिल्लो चार खेलको प्रदर्शनलाई हेर्दा क्रोएसिया आक्रमणमा बलियो देखिएको छ भने आयोजक रुसले रक्षात्मक रूपमा निकै सशक्त प्रदर्शन गरेको छ । प्रिक्वार्टरफाइनल चरणको खेलबाट अगाडि बढ्न दुवै टोलीले टाइब्रेकरको सहायता लिनु परेको थियो । प्रिक्वार्टरफाइनलमा क्रोएसियाले डेनमार्कलाई टाइब्रेकरमा ३–२ र रुसले सन् २०१० को विजेता स्पेनलाई ४–३ गोलले पराजित गरेका थिए ।
यद्यपि समूहगत चरणमा भने क्रोएसियाले तीनवटै खेलमा सफलता हात पारेको थियो । क्रोएसियाले समूहगत चरणमा लियोनल मेसीको टोली अर्जेन्टिनालाई पनि पाखा लगाएको थियो । रुसले भने समूहगत चरणको अन्तिम खेलमा उरुग्वेसँग पराजय बेहोरेको थियो । त्यसैले पनि यो खेललाई क्रोएसियाको बलियो आक्रमण र रुसको बलियो रक्षापंक्तिबीचको प्रतिस्पर्धाका रूपमा हेरिएको हो ।
यो खेल क्रोएसियाका लागि विश्वकपमा आफ्नो निरन्तरको असफल छविलाई सुधार गर्ने अवसरसमेत मानिएको छ । क्रोएसियालाई विश्वकप फुटबलमा विशेषगरी आयोजक टोलीविरुद्ध अभागी मानिएको छ । रुससहित तेस्रो विश्वकपमा आयोजक टोलीसँग प्रतिस्पर्धा गर्ने तयारीमा रहेको क्रोएसिया अघिल्ला दुवै खेलमा पराजित भएको थियो । क्रोएसिया सन् १९९८ मा आयोजक फ्रान्ससँग सेमिफाइनलमा २–१ ले र सन् २०१४ मा ब्राजिलसँग समूहगत चरणको खेलमा ३–१ गोलले पराजित भएको थियो ।
त्यसैले क्रोएसियाले आयोजक टोलीलाई पराजित गर्दै प्रतियोगितामा टिकिरहन अनि तेस्रो प्रयासमा सफलता हात पार्न धेरै मेहनत गर्नुपर्ने देखिएको छ । रक्षापंक्तिका साथै मिडफिल्ड र अग्रपंक्तिमा पनि राम्रो देखिएको रुसले घरेलु मैदान र समर्थकका कारण सोचेभन्दा उत्कृष्ट प्रदर्शन दिन सक्छ । यी दुई टोलीबीच विश्वकपको अन्तिम चरणको खेलमा अहिलेसम्म प्रतिस्पर्धा भएको छैन ।
शनिबारको खेल विश्वकपमा यी दुई टोलीबीचको पहिलो प्रतिस्पर्धा हुनेछ । अन्य प्रतियोगितामा भएको प्रतिस्पर्धाको नतिजाले भने रुसविरुद्ध क्रोएसिया बलियो देखिएको छ । युरोपियन च्याम्पियनसिपमा दुईपटक र मैत्रीपूर्ण खेलमा एकपटक एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्दा क्रोएसियाले एक जित हात पारेको छ । बाँकी दुई खेल भने बराबरीमा टुंगिएको छ ।
विगतमा दुई टोली
कुल खेल : ३
क्रोएसिया विजयी : १
रुस विजयी : ०
बराबरी : २