लामो समयको प्रतीक्षापछिको मौका
सामरा : जारी विश्वकपको क्वार्टरफाइनल चरणको तेस्रो खेलमा शनिबार दुई युरोपेली टोली इङ्ल्यान्ड र स्विडेन भिड्दै छन् । यो खेलमा जितको महŒव इङ्ल्यान्ड र स्विडेनलाई कसैले सम्झाइराख्नु आवश्यक छैन । किनभने यी दुवै टोली झन्डै २५ वर्षको प्रतीक्षापछि विश्वकप फुटबलको क्वार्टरफाइनल चरणमा पुगेका हुन् । स्विडेन सन् १९९४ मा अमेरिकामा भएको विश्वकपपछि पहिलो पटक क्वार्टरफाइनल चरणमा पुगेको हो । त्यतिबेला उसले तेस्रो स्थान हात पारेको थियो ।
यसैगरी इङ्ल्यान्ड पनि सन् १९९० मा इटालीमा भएको विश्वकपपछि पहिलो पटक प्रतियोगिताको अन्तिम आठमा पुगेको हो । त्यतिबेला इङ्ल्यान्डले चौथो स्थान हात पारेको थियो । यही खेलले इङ्ल्यान्डका लागि २८ वर्ष र स्विडेनका लागि २४ वर्षपछि सेमिफाइनल पुग्ने अवसर जुराइदिएको छ । यद्यपि यसबाट दुईमध्ये एक टोलीको मात्रै विश्वकपको अन्तिम चारमा पुग्ने वर्षाैंको सपना पूरा हुनेछ । यो खेलमा पराजित हुने टोलीका लागि भने अझै अर्काे विश्वकपमा मेहनत गर्नु पर्नेछ ।
जारी प्रतियोगिताको महŒवपूर्ण खेलमा सशक्त प्रदर्शन गर्दै स्विडेन र इङ्ल्यान्डले क्वार्टरफाइनल चरणमा भेट पक्का गरेका हुन् । इङ्ल्यान्ड विश्वकपको इतिहासमा पहिलो पटक टाइब्रेकरमा सफलता हात पार्दै प्रतियोगिताको अन्तिम आठमा पुगेको हो । कोलम्बियाविरुद्ध प्रिक्वार्टरफाइनलको निर्धारित र थप गरिएको ३० मिनेटको खेलसमेत १–१ गोलको बराबरी भएपछि प्रहार गरिएको पेनाल्टी सुटआउटमा इङ्ल्यान्ड ४–३ गोलले विजयी भएको थियो । यसअघि लगातार तीनवटा विश्वकपमा टाइब्रेकरमै असफल भएको इङ्ल्यान्डका लागि यो विश्वकपमा प्राप्त सफलताले भाग्यको साथ पनि उसकै पक्षमा देखिएको छ ।
आगामी खेलमा पनि आफ्नो लय र आवश्यक परेको अवस्थामा भाग्यको साथ रहे सन् १९६६ को विश्वकप जितेको इङ्ल्यान्ड इतिहासमा दोस्रो उपाधि थप्न सफल हुनेछ । स्विडेन भने प्रिक्वार्टरफाइनल चरणको खेलमा स्विट्जरल्यान्डलाई निर्धारित ९० मिनेटभित्रै १–० गोलले पराजित गर्दै प्रतियोगिताको अन्तिम आठमा पुगेको टोली हो ।
दुवै टोलीले यस खेलमा वर्षाैंपछि प्राप्त बहुप्रतीक्षित अवसरलाई सदुपयोग गर्ने प्रयास गर्दा तिनका समर्थकले भने फुटबलको छुट्टै मज्जा लिन पाउनेछन् । किनभने प्रतियोगिताको अन्तिम आठ चरणको खेलअघि यी दुवैले सशक्त प्रदर्शन गरेका छन् । यी दुवै टोलीमा नाम चलेका खेलाडी रहेकाले पनि खेलको रोमाञ्चकता अझ बढ्ने निश्चित छ ।
विश्वकप इतिहासमा यी दुई टोलीबीच विगतमा भएको खेलको नतिजाले पनि दुवै टोलीलाई बलियो देखाएको छ । विश्वकप फुटबलको अन्तिम चरणको खेलमा हालसम्म यी दुई टोलीले एकआपसमा दुई पटक प्रतिस्पर्धा गरेका छन् । ती दुवै खेल बराबरीमा टुं्गिएका छन् । यी दुई टोलीले सन् २००२ को विश्वकपमा १–१ र सन् २००६ को विश्वकपमा २–२ गोलको बराबरी खेलेका थिए । समग्रमा भने यी दुई टोलीले अहिलेसम्म २३ पटक एकअर्काविरुद्ध प्रतिस्पर्धा गरेका छन् । ती खेलमा दुबै टोलीले समान सात÷सात जित हात पारेका छन् भने बाँकी नौ खेल बराबरीमा टुंगिएका छन् ।
विगतमा दुई टोली
कुल खेल : २३
इङ्ल्यान्ड विजयी : ७
स्विडेन विजयी : ७
बराबरी : ९