इङ्ल्यान्ड र स्विडेनलार्इ क्वार्टरफाइनलअघि बाल फुटबरको चिन्ता
मस्को : जारी विश्वकपमा फुटबलको क्वार्टरफाइनलमा शनिबार इङ्ल्यान्ड र स्विडेन आमनेसामने हुँदैछन् । यी दुवै टोलीका खेलाडी यतिबेला सोही खेलको अन्तिम तयारीमा व्यस्त छन् । तर, आफ्नो महत्वपूर्ण खेलको तयारीसँगै यी दुवै टोलीका खेलाडीलाई यतिबेला थाइल्यान्डमा एउटा गुफाभित्र फसेर जीवनका लागि मृत्युसँग संघर्ष गरिरहेका १२ जना बाल फुटबल खेलाडी र तीनका प्रशिक्षकको चिन्ताले पनि उत्तिकै सताएको छ ।
उत्तरी थाइल्यान्डस्थित जंगलको एउटा गुफामा फसेका बाल फुटबल खेलाडी र तिनको प्रशिक्षकलाई सकुशल उद्धार गर्न थुप्रै उद्धारकर्मी दिनरात नभनी आफ्नो काममा सक्रिय छन् । विश्वकपको क्वार्टरफाइनल खेलको तयारीमा व्यस्त इङ्ल्यान्ड र स्विडेनका खेलाडीले ती बाल फुटबलरको सकुलशल उद्धारका लागि ईश्वरसँग प्रार्थना गर्दै सन्देश पनि पठाएका छन् ।
उद्धारकार्यमा सक्रिय एक व्यक्तिले छायांकन गरेको एउटा भिडियोमा गुफामा फसेका बाल फुटबलरमध्ये एकजनाले इङ्ल्यान्डको राष्ट्रिय जर्सी लगाएको देखिन्छ । ‘इङ्ल्यान्डका हामी सबै खेलाडी जीवनका लागि संघर्ष गरिरहेका बाल फुटबलर र तिनको प्रशिक्षकको सकुशल उद्धारको कामना गर्न चाहन्छौं’, इङ्ल्यान्डका डिफेन्डर जोन स्टोन्सले भनेका छन् ।
‘अप्ठ्यारो अवस्थामा रहेका ती बाल फुटबरको परिवार र तिनका साथीभाइलाई हामी भन्न चाहन्छौं, इङ्ल्यान्डका खेलाडीको शुभेच्छा हरपल तपाईंहरूको साथमा छ’, स्टोन्सले भनेका छन् । यसैगरी इङ्ल्यान्डसँग विश्वकपको क्वार्टरफाइनल खेल्ने तयारीमा व्यस्त स्विडिस टोलीका मिडफिल्डर सेबास्टियन लार्सनले पनि ती बाल फुटबलरको सकुशल उद्धारको कामना गरेका छन् ।
‘हामी सबै स्विडिस खेलाडी ईश्वरसँग ती बाल फुटबलरको सकुशल उद्धारको कामना गर्दछौं र छिटोभन्दा छिटो खुसीको समाचार सुन्न आतुर छौं’, लार्सनले भनेका, ‘फुटबलरहरू जस्तोसुकै अप्ठ्यारो स्थितिसँग जुध्न पनि सक्षम हुन्छन्, ती बाल फुटबलर पनि सकुशल आफ्नो परिवारमा फर्कनेमा हामी विश्वस्त छौं ।’ उद्धारकर्मीहरू अहिले ठुल्ठूला पाइपको सहायताले बाल फुटबलर र तिनका प्रशिक्षक फसेको गुफाबाट लगातार पानी बाहिर फाल्न सक्रिय छन् । उनीहरू पुनः वर्षा सुरु हुनुअघि नै उद्धारकार्य पूरा गर्न चाहन्छन् ।
यसैगरी विश्वकपमा सहभागी भएर स्वदेश फर्किएको जापानी फुटबल टोलीका सदस्यले पनि गुफामा फसेका बाल फुटबलर र तीनका प्रशिक्षकको सकुशल उद्धारको कामना गरेको छ । ‘आत्मविश्वास बलियो बनाउ, तिमीहरूलाई केही हुने छैन । हामी सबै तिमीहरूको सकुशल उद्धारको प्रार्थना गरिरहेका छौं’, जापानी टोलीले समाजिक सञ्जाल ट्विटरमा ट्विट गरेको छ ।
यसैबीच, विश्व फुटबल महासंघ (फिफा) ले पनि ती बाल फुटबलरको सकुशल र शिघ्र उद्धारको कामना गरेको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले थाइल्यान्ड फुटबल संघमार्फत पठाएको पत्रमा सकुशल उद्धारपछि स्वास्थ्यले साथ दिएमा ती बाल फुटबलर र तिनका प्रशिक्षकलाई विश्वकपको फाइनल खेल हेर्न रुसमा आमन्त्रण पनि गरिएको छ ।