प्रदेश २ का सांसदलाई प्रधानमन्त्रीको निर्देशन: महिला हिंसामा मिलापत्र नगर्नू
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ का सांसदसँग छलफल गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीसँगको छलफलमा पछिल्ला घटनाक्रम र राजनीतिक विकासका विषयमा कुराकानी भएको छ। आफ्नो क्षेत्रको विकास र समृद्धिमा जोड दिनुपर्ने बताएका प्रधानमन्त्री ओलीले महिला हिंसाका घटनामा मिलापत्र नगर्नसमेत जनप्रतिनिधिलाई निर्देशन दिए।
प्रधानमन्त्री ओलीले महिला हिंसा भएका ठाउँमा जनप्रतिनिधिले मिलापत्र गराउन खोज्नु गलत भएको भन्दै यस्तो निर्देशन दिएका हुन्। ‘कहिकतै पनि महिला हिंसाका घटनामा मिलापत्र हुन सक्दैन’, प्रधानमन्त्री ओलीले भने, ‘यस्ता मुद्दामा मिलापत्र गराउन खोज्नेलाई पनि कारबाही हुन्छ।’
ओलीले व्यवस्थापिकाको जिम्मेवारीलाई अनुभूत हुनेगरी अगाडि बढ्नसमेत निर्देश गरे। ‘शक्ति पृथकीकरणको सिद्धान्त अनुसार सबै अंग जिम्मेवार हुन्’, प्रधानमन्त्री ओलीले सांसदसँग भने, ‘आफ्नो–आफ्नो क्षेत्राधिकारमा सिमति हुनुपर्छ र सबै अंगको मर्यादामा हामी सबै बस्नुपर्छ।’
ओलीले प्रदेशको विकाश र समृद्धिका लागि जगबाटै सुधार गर्नु पर्नेमा जोड दिए। ओलीले विकास, समृद्धि, शिक्षा, स्वास्थ्य, सामाजिक सुधार गर्नुपर्नेमा बताए। प्रदेश २ को विकासमा देखिएका समस्याको बारेमा आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले प्रदेश २ को स्वरुप फेर्नका लागि सांसद नै लाग्नुपर्ने जोड दिए।
छलफलमा नेकपा प्रदेश २ का सांसदसँगै नेताहरु सुवासचन्द्र नेम्वाङ, देव गुरुङ,मातृका यादवलगायत सहभागी थिए।