पहिलो हाफमा इंग्ल्यान्ड १, स्विडेन शून्य
मस्को : रुस विश्वकप अन्तर्गत शनिबार जारी क्वाटरफाइनलको खेलको पहिलो हाफमा स्विडेनविरुद्ध इंग्ल्यान्डले अग्रता लिएको छ । इंग्ल्यान्डका लागि आसले यङले ३० औं प्रहार गरेको कर्नर किकलाई ह्यारी मगोइरले हेडमार्फत् सुन्दर गोलमा परिणत गरेका हुन् । स्विडेनविरुद्ध इंग्ल्यान्डले सुरुदेखि नै आक्रमक खेल प्रदर्शन गरेको छ।
यी दुई टोली झन्डै २५ वर्षको प्रतीक्षापछि विश्वकप फुटबलको क्वार्टरफाइनल चरणमा पुगेका हुन्। स्विडेन सन् १९९४ मा अमेरिकामा भएको विश्वकपपछि पहिलो पटक क्वार्टरफाइनल चरणमा पुगेको हो। त्यतिबेला उसले तेस्रो स्थान हात पारेको थियो।
यसैगरी इङ्ल्यान्ड पनि सन् १९९० मा इटालीमा भएको विश्वकपपछि पहिलो पटक प्रतियोगिताको अन्तिम आठमा पुगेको हो। त्यतिबेला इङ्ल्यान्डले चौथो स्थान हात पारेको थियो। यही खेलले इङ्ल्यान्डका लागि २८ वर्ष र स्विडेनका लागि २४ वर्षपछि सेमिफाइनल पुग्ने अवसर जुराइदिएको छ।
यद्यपि यसबाट दुईमध्ये एक टोलीको मात्रै विश्वकपको अन्तिम चारमा पुग्ने वर्षौंको सपना पूरा हुनेछ। यो खेलमा पराजित हुने टोलीका लागि भने अझै अर्को विश्वकपमा मिहिनत गर्नु पर्नेछ। जारी प्रतियोगिताको महत्वपूर्ण खेलमा सशक्त प्रदर्शन गर्दै स्विडेन र इङ्ल्यान्डले क्वार्टरफाइनल चरणमा भेट पक्का गरेका थिए।
इङ्ल्यान्ड विश्वकपको इतिहासमा पहिलो पटक टाइब्रेकरमा सफलता हात पार्दै प्रतियोगिताको अन्तिम आठमा पुगेको हो। कोलम्बियाविरुद्ध प्रिक्वार्टरफाइनलको निर्धारित र थप गरिएको ३० मिनेटको खेलसमेत १-१ गोलको बराबरी भएपछि प्रहार गरिएको पेनाल्टी सुटआउटमा इङ्ल्यान्ड ४-३ गोलले विजयी भएको थियो।
यसअघि लगातार तीनवटा विश्वकपमा टाइब्रेकरमै असफल भएको इङ्ल्यान्डका लागि यो विश्वकपमा प्राप्त सफलताले भाग्यको साथ पनि उसकै पक्षमा देखिएको छ। सन् १९६६ को विश्वकप जितेको इङ्ल्यान्ड इतिहासमा दोस्रो उपाधि थप्ने सपनाका साथ मैदानमा छ। स्विडेन भने प्रिक्वार्टरफाइनल चरणको खेलमा स्विट्जरल्यान्डलाई निर्धारित ९० मिनेटभित्रै १-० गोलले पराजित गर्दै प्रतियोगिताको अन्तिम आठमा पुगेको टोली हो।
विश्वकप इतिहासमा यी दुई टोलीबीच विगतमा भएको खेलको नतिजाले पनि दुवै टोलीलाई बलियो देखाएको छ। विश्वकप फुटबलको अन्तिम चरणको खेलमा हालसम्म यी दुई टोलीले एकआपसमा दुई पटक प्रतिस्पर्धा गरेका छन्। ती दुवै खेल बराबरीमा टुंगिएका छन्। यी दुई टोलीले सन् २००२ को विश्वकपमा १-१ र सन् २००६ को विश्वकपमा २-२ गोलको बराबरी खेलेका थिए।
समग्रमा भने यी दुई टोलीले अहिलेसम्म २३ पटक एकअर्काविरुद्ध प्रतिस्पर्धा गरेका छन्। ती खेलमा दुबै टोलीले समान सात÷सात जित हात पारेका छन् भने बाँकी नौ खेल बराबरीमा टुंगिएका छन्।