सडक मर्मतमा भुक्तानी समस्या
काठमाडौं : सरकारले गत साउनमा परेको अविरल वर्षाका कारण क्षति सडक मर्मतको पैसा अहिलेसम्म भुक्तानी गरेको छैन । निर्माण व्यवसायीलाई एक वर्षसम्म भुक्तानी दिन नसकेको सडक विभाग मात्र होइन भौतिक मन्त्रालयका अधिकारी समेत अहिलेको वर्षाका कारण भौतिक पूर्वाधारमा क्षति नगरीदिए हुन्थ्यो भन्ने कामना गरेर बसेका छन् । अथ मन्त्रालयले बजेट निकासा नदिँदा यो समस्या आएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपाल सिग्देल यो वर्षको वर्षाले सडकमा क्षति गरायो भने स्थिति भयाभह हुने बताए । उनले भने, ‘हामीले गत वर्ष काम लगाएर पैसा दिएका छैनौं । यो वर्ष पनि सडक क्षति भयो भने काम गर भनेर निर्माण व्यवसायीलाई भन्न सक्ने अवस्था छैन । पैसा नपाएपछि उनीहरूले पनि काम गर्ने कुरा भएन । त्यसैले हामी बाढीले क्षति नगरोस् भन्ने कामना मात्र गर्न सक्ने अवस्थामा छौं ।’ गत वर्ष सडक विभागका महानिर्देशकको रूपमा सिग्देलले आपतकालीन मर्मतको काम लगाएका थिए ।
बाढीले तराईका विभिन्न स्थानमा पुर्याएको भौतिक पूर्वाधार मर्मत गर्न सडक विभागले साढे चार अर्ब रुपैयाँ बजेट मागेको थियो । अघिल्लो वर्षकै पैसा निकासा नहुँदा रोकिएको काम यो वर्षको बाढीले थप क्षति पुर्याउने भन्दै समयमा नै सम्बन्धित स्थानका बासिन्दालाई सचेत रहन सडक विभागले आग्रह गरेको छ । अघिल्लो वर्ष साउन अन्तिम साताको प्राकृतिक विपत्तिले भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको सडक तथा पुलमा मात्रै साढे चार अर्ब रुपैयाँको क्षति भएको थियो । क्षतिको विवरण संकलन गरेर तत्काल बजेट निकास गर्न माग गरिएको रकम एक वर्षसम्म पनि निकासा भएन ।
सहसविच सिग्देलका अनुसार विभिन्न राष्ट्रिय राजमार्गका पुलमा र बाँकी सोही प्रकृतिका सडक तथा विभाग अन्तर्गतका स्थानीय सडकमा भएको क्षतिको अझै रकम निकासा गरेर आवश्यक मर्मत भएको छैन । बाढी तथा पहिरोले सबैभन्दा बढी क्षति पुर्याएको सडक अन्तर्गतको महेन्द्र राजमार्ग, त्रिभुवन राजपथ, दाङको घोराही–तुलसीपुर, धरान–धनकुटा सडक र अन्य स्थानीय सडकका केही भाग अझै अलपत्र अवस्थामै रहेको उल्लेख छ । सडकसँगै बगेको पुलमा भएको क्षतिको पनि अहिलेसम्म मर्मत हुन सकेको छैन ।
सडक तथा पुलको निम्ति माग गरिएको साढे चार अर्ब रुपैयाँमा एक रुपैयाँ पनि अर्थले दिएन । सडक विभागले सो रकम भौतिक मन्त्रालय हुँदै अर्थबाट माग गरेको थियो । अर्थले पुनर्निमाण प्राधिकरण पठाएको र सो निकायले पनि गृहको विपत व्यवस्थापनमा पठाएको थियो । जहाँ पठाए पनि रकम नपाउँदा भौतिक पूर्वाधारको अबस्था अझै कमजोर रहेको सिग्देलको भनाइ छ ।
गत वर्ष बाढीपहिरोले कृषि, सिँचाइ, सडक तथा पुलमा करिब ३७ अर्ब रुपैयाँ क्षति पुर्याएको थियो ।
गत वर्ष बाढीले कृषि, सिँचाइ, सडक तथा पुलमा करिब ३७ अर्ब रुपैयाँ क्षति पुर्याएको विवरण तयार पारिएको थियो । यसमध्ये सिँचाइमा सबैभन्दा ठूलो रकम रहेको थियो । सिँचाइमा १२ अर्ब र जल उत्पन्न प्रकोप नियन्त्रण विभाग अन्र्तगतका निकायमा पाँच अर्बको क्षति भएको थियो । यस्तो क्षति कृषिमा साढे आठ अर्ब, पशुधनमा १० अर्बसहितको क्षति भएको थियो । यो क्षति भएको रकममध्ये तत्काल रिकभरी गर्नुपर्ने, आवश्यक मर्मत नगरेर थप समस्या हुन सक्ने स्थान र क्षेत्र पहिचान गरेर मागेको बजेटसमेत नपाउँदा समस्या भएको छ ।
तत्कालको लागि आकस्मिक उद्धार तथा मर्मतको निम्ति सडक विभागसँग भएको डेड दुई करोड खर्च भएको थियो । बाँकी काम बजेटले रकम व्यवस्था गरेको छैन् । भौतिक मन्त्रालय अन्तर्गतका निकायमा आएको शीषर्कगत रकमबाट कहीँ कतै चलाउन नपाइने भएकाले पनि थप खर्च गर्न समस्या भएको उल्लेख छ ।
सडक मर्मतको जिम्मा सडक बोर्डको हुने भए पनि बोर्डले मागेको रकमको २५ प्रतिशत मात्रै रकम पाउने गरेको छ । सरकारले सडक मर्मतमा आवश्यक रकम नै नदिने समस्याको कारण पनि सडक मर्मत र निर्माण गर्न नसकिएको विभागको भनाइ छ ।
सडक विभाग अन्तर्गगत सडक मर्मत महाशाखा हुने गरको भएपनि यसमा हुने मर्मत रकमका कमीले सडक मर्मतमा समस्या हुने गरेको छ । सरकारले सडक बोर्ड नेपालमार्फत सडकका मर्मत तथा सुधारका निम्ति रकम संकलन गर्ने गरेको भए पनि यो निकायसँगै पर्याप्त रकम नहुँदा सडक मर्मतमा बर्षेनी रकम अभाव हुने गरेको सडक विभाग अन्तर्गतको मर्मत महाशाखाले बताएको छ ।
सडक विभागमा हुने आकस्मिक सडक मर्मतको रकम नियमित बजेटबाटै विनियोजन गरेर सीमित मात्रामा राखिने गरिएको छ । यस्तो रकम बर्षायाममा हुने सामान्य मर्मतमै सकिने भएकोले पनि बर्सेनि ठूला सडक मर्मत गर्न र खर्च बढी हुने सडकको मर्मत गर्न अर्थ मन्त्रालयललाई नै गुहार्नुपर्ने बाध्यता रहेको बुझाइ झाको छ ।
वर्षात्का कारण तराई—पहाडको लाइफलाइनका विभिन्न पाँच वटा सडकका २८ स्थानमा गत वर्ष क्षति पुगेको र यसको अहिलेसम्म स्थायी मर्मत नभएकाले सोही स्थानमा समस्या देखिन सक्ने सडक विभागको भनाइ छ । विभागका अनुसार बर्दियाको बबई नदीमा पुल, काँकडभिट्टादेखि इटहरीसम्मको सडक, इटहरी ढल्केबर सडक, ढल्केबर–हेटौंडा सडक, हेटौंडा–बुटवलमा र बुटवल कोहलपुर सडकमा गत वर्षको बाढीले क्षति पुर्याएको थियो । उक्त स्थान अस्थायी संरचनाबाट मात्रै चलेको छ ।