उत्तर कोरियासँगको वार्ता लाभदायी
तोक्यो : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको दुई दिने भ्रमणका क्रममा उत्तर कोरियाली समकक्षीसँग भएको वार्ता प्योङयाङलाई आणविक रूपमा निःशस्त्र बनाउन ‘निकै लाभकारी’ भएको बताएका छन्।
उत्तर कोरियाको भ्रमणपछि टोकियो प्रस्थान गर्नुपूर्व सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले कसरी उत्तर कोरियाले आणविक निःशस्त्रीकरणबारे आफ्नो प्रतिबद्धतालाई सम्मान गर्न सक्छ भन्ने विषयमा आफूहरूले केही नयाँ विवरण आदानप्रदान गरेको बताए। पोम्पेओले भने, ‘यी पक्कै पनि जटिल विषय हुन् तर हामीले सबै खाले प्रमुख मुद्दामा प्रगति गरिसकेका छौँ।
केही कुरामा निकै नै प्रगति भएको छ भने अन्यमा पनि सफलताका लागि थप काम भइरहेका छन्। यसैबीच दक्षिण कोरियाली समाचार संस्था योन्हापका अनुसार उत्तर कोरिया भने अमेरिकासँगको वार्तापछि सन्तुष्ट देखिएको छैन। वासिङटनका ‘सर्वग्राही माग’ र ‘अति नै अपशोचजनक धारणा’को आलोचना गरेको ’छ।
पोम्पेओसँगको वार्ता सकिएको केही घण्टामै उसको यस्तो भनाइ आएको हो। उत्तर कोरियाली विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिलाई उद्धृत गर्दै योन्हापले जनाएको छ, ‘उच्चस्तरीय वार्तामा अमेरिकी धारणा र अडान निकै अपशोचपूर्ण पाइयो।’