विश्पकमा धेरै क्षेत्र ओगट्ने खेलाडी उरूग्वेका भेसिनो
मस्को : रुस विश्वकपबाट माटियस भेसिनोको टोली उरुग्वे पनि बाहिरिइसकेको छ। शुक्रबार नै भएको खेलमा फ्रान्ससँग पराजित भएपछि उरुग्वे रुस विश्वकपको क्वार्टरफाइनल चरणभन्दा माथि जान सकेन। तर, भेसिनो भने रुस विश्वकपसँग इतिहासका रूपमा जोडिई रहनेछन्।
उनी रुस विश्वकपमा शुक्रबार खेलिएको क्वार्टरफाइनल चरणको दोस्रो खेल सम्मको आँकडाअनुसार टोलीलाई सफलता दिलाउन मैदानमा धेरैभन्दा धेरै क्षेत्रफल ‘कभर’ गर्ने खेलाडीको सूचीको शीर्ष स्थानमा पुगेका छन्। उरुग्वेको राष्ट्रिय टोलीबाट प्रिक्वार्टरफाइनल चरणसम्मका पाँचमध्ये सबै खेलमा खेलेका उनले ५२ किलोमिटर दूरी कभर गरेका छन्, जुन प्रतियोगितामा कुनै पनि टोलीका कुनै पनि खेलाडीको भन्दा बढी हो।
उनै भेसिनोको मेहनत र प्रदर्शनका कारण उरुग्वेले रुस विश्वकपको अन्तिम आठसम्मको यात्रा तय गरेको थियो। बलियो फ्रान्ससँग पराजित भएपछि भने उरुग्वे अघि बढ्न सकेन। तर, यही प्रदर्शनबाट भेसिनोले भने टोलीमा आफ्नो भविश्य सुनिश्चित गरेका छन्।
सन् २०१६ मा उरुग्वेको राष्ट्रिय टोलीबाट डेब्यु गर्ने अवसर पाएका भेसिनोले त्यसयता यस्तै सशक्त प्रदर्शनसँगै आफूलाई टोलीको नियमित सदस्यका रूपमा स्थापित गराएका छन्। मिडफिल्डबाट खेल्ने उनी रक्षापंक्तिमा आफ्ना रक्षकहरूलाई सहयोग गर्न मात्रै हैन, अग्रपंक्तिमा स्ट्राइकरलाई अवसर सिर्जना गर्न र आफैं गोल गर्न पनि पुग्छन्। उरुग्वे प्रतियोगिताको अन्तिम आठबाटै बाहिरिँदा भने बाँकी खेलमा फुटबल समर्थकहरूले उनको उपस्थिति खड्केको महसुस गर्नेछन्।