हिलोले हुलाकी सडक ठप्प

हिलोले हुलाकी सडक ठप्प

जनकपुरधाम/सिरहा : तराई–मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी सडक हिलोका कारण अवरुद्ध बनेको छ । एक सातादेखि निरन्तर भइरहेको वर्षाले हुलाकी सडक हिलाम्मे छन् । सिरहा र धनुषा खण्डमा ठूल्ठूला खाल्डा परेका छन् । केही भागमा मोटरसाइकल र साइकल चले पनि चारपांग्रे सवारी साधन चल्न सकेका छैनन् ।

सिरहाको भगवानपुरबाट जिल्ला सदरमुकामसम्म चल्ने बस एक सातादेखि ठप्प रहेको नवराजपुर–१ का जयनाथ यादवले बताए । उनका अनुसार औरहीस्थित हुलाकी सडक भत्काएर गागन नदी बग्ने गरेका कारण बस चल्न नसकेको हो । ‘यस भेगका जनता पूर्व–पश्चिम राजमार्गको घुमाउरो बाटो भएर सिरहा सदरमुकाम जान बाध्य छन्’, उनले भने ।

गागन नदीमा पुल बनेको थियो तर एक–दुई वर्ष नबित्दै कटानका कारण ४ सय मिटर पूर्वबाट बग्न थाल्यो । गागन नदीका कारण सयौं बिघा उब्जाउ जग्गा बगरमा परिणत भएका छन् । नदी अर्को ठाउँबाट बगेको ४–५ वर्ष बितिसक्दा पनि सम्बन्धित निकायले बाँध बनाएर नदीलाई पुरानो ठाउँमा फर्काउने प्रयास नगरेको स्थानीयको गुनासो छ । अहिले नदी हुलाकी सडक भत्काएर बगेपछि आवतजावत गर्न त समस्या भएको छ ।

सिरहा बजारबाट पूर्वमा बलानसम्म २९.८८ किलोमिटर सडक बनाउन स्वच्छन्द, रोशन, महादेव खिम्ती जेभी जनकपुरले ठेक्का लिएको छ । ठेकेदारको लापरवाहीले गर्दा गाडी गुड्न नसक्ने सडक बनेको स्थानीयको आरोप छ । ‘दुई तिरबाट माटो हालेपछि बीचमा सडक गहिरो बन्यो’, भगवानपुरका सञ्जय रामले भने, ‘दुवै साइडको उचाइ बढेपछि बीचमा पानी जमेर हिलो बनेको छ ।’

हुलाकी सडकमा गाडी नचल्दा दूध बेच्न नपाएको किसानले बताएका छन् । ‘डेरीको गाडी सिरहा बजारबाट दूध लिन घरमै आउँथ्यो’, औरही–४ का सञ्जय यादवले भने, ‘सडक हिलाम्मे बनेपछि नौ दिनदेखि गाडी आएको छैन । यहाँको करिब ५ सय लिटर दूध खेर गइरहेको छ ।’ दूध बिक्री गर्न नपाएपछि सिरहा पुगेर प्रमुख जिल्ला अधिकारीसँग तत्काल सडक मर्मत गराउन माग गरे पनि वास्ता नगरेको उनले सुनाए ।

सिरहाभन्दा पहिले नै धनुषाखण्डको हुलाकी सडक ठेक्कामा लागेको थियो । धनुषा, महोत्तरी, सर्लाही र सिरहामा ३ सय १५ किलोमिटर हुलाकी सडक निर्माणाधीन छ  । औरही गाउँपालिका–५ का विवेक यादवले सडक निर्माण सुस्त रहेको बताए । ‘सडकमा माटो हाल्यो तर ग्राभेल नहालेर सास्ती भएको छ’, उनले भने ।

सडक निर्माण गर्न कम्पनीलाई ३६ महिने समयसीमा तोकिएको साइट इन्जिनियर मनोज मण्डलले जानकारी गराए । सिरहाखण्डमा १ सय २० वटा कल्र्भट निर्माण गरिने उनको भनाइ छ । ‘सडकमा माटो भर्ने काम मात्र भएको छ, त्यो पनि अहिले बन्द छ’, उनले भने, ‘वर्षाले सडकको अवस्था खराब भएको छ, त्यसमा मर्मत पनि भइरहेको छ ।’ उनका अनुसार सरकारले नदीबाट ढुंगा, गिट्टी निकाल्न रोक लगाएपछि ग्राभेल छाडेर माटो हालेर काम छाडिएको हो ।

कमलामा पुल नबन्दा झनै सास्ती

सिरहा र धनुषा जोड्ने हुलाकी सडकस्थित कमला नदीमा पुल निर्माण सात वर्ष बितिसक्दा पनि पूरा भएको छैन । ठेकेदार कम्पनीले यही असारअगावै पुल बनिसक्ने बताएको थियो तर अझै अधुरै रहँदा बाढीका बेला जोखिम मोलेर नदी तर्नुपरिरहेको सारश्वरका दिनेश यादवले सुनाए ।

‘पुल बने हामी एक घण्टामा जनकपुर पुग्छौं’, उनले भने, ‘अहिले त चोहर्वा पुगेर राजमार्ग हुँदै ढल्केवरको घुमाउरो बाटो भएर जनकपुर पुग्न चार घण्टा लाग्छ । समय र भाडा पनि बढी लाग्छ ।’ पुल निर्माणको ठेक्का पप्पु–लुम्बिनी जेभी काठमाडौंले लिएको थियो । सम्झौताअनुसार ४ सय ५० मिटर लम्बाइको पुल २०७३ सालभित्र बनाइसक्नुपर्ने थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.