लामाबगरको पहिरोमा परी एक घाइते, ६ परिवार विस्थापित
दोलखा : अविरल वर्षाका कारण शनिबार राति चौकीखोलामा आएको पहिरोमा परी उत्तरी दोलखाको दुर्गम विगु गाउँपालिका-१ लामाबगरमा एक महिला घाइते भएकी छन् भने ६ परिवार विस्थापित भएका छन्।
बिगु गाउँपालिका-१ लामाबगर माथिल्लो टोलकी ४१ वर्षीया असरी तामाङको पहिरोमा परी हात भाँचिएको र उनको सदरमुकाम चरिकोटस्थित दोलखा सामुदायिक अस्पतालमा उपचार भइरहेको विगु गाउँपालिकाका सूचना अधिकारी लेखनाथ चौंलागाईंले जानकारी दिए।
पहिरोले घर पुरे पछि विस्थापित हुनेमा निमाछिरी तामाङ, दिलबहादुर तामाङ, साङ्गे तामाङ, मिले तामाङ, निमा तामाङ र पेमा गुरुङको परिवार रहेको सूचना अधिकारी चौंलागाईले जानकारी दिए।
विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्का तथा कर्मचारीसहितको टोली घटनास्थल पुगेर विस्थापितलाई सोही गाउँको तल्लो क्षेत्रमा बैकल्पिक वासको व्यवस्थापन गर्नुको साथै खाद्यन्नको व्यवस्थापन समेत गरिएको सूचना अधिकारी चौलागाईं जानकारी दिए।