गुफामा फसेका किशोरहरुलाई निकाल्न १८ गोताखोर पसे
बैंकक: थाइल्यान्डको थाम लुआङ्ग गुफामा १५ दिनदेखि फसेका १२ किशोर उनीहरुका प्रशिक्षकलाई निकाल्न १८ जना गोताखोरको टोली पसेको छ । आइतवार बिहान फाइनल अपरेशन सुरु गर्दै १८ जना गोताखोरको टोलीलाई त्यसतर्फ पठाइएको हो । यी सबै किशोर र उनीहरुका प्रशिक्षकलाई गोताखोरको टोलीले बाहिर ल्याउने छ।
चियाङ्ग राय प्रान्तका गभर्नरका अनुसार हरेक किशोरसँग दुई गोताखोर हुनेछन् । जसले ती किशोरहरुलाई पानीले भरिएको गुफाको सुरुङबाट पार गराउँदै बाहिर ल्याउने छन् ।
उद्धार टोलीमा १३ अन्तर्राष्ट्रिय गोताखोर र थाई नेभी टोलीका पाँच अधिकृत पनि छन् । चियाङ्ग राय प्रान्तका गभर्नर नरोङ्गसाक ओसोत्थानकोर्नका अनुसार गोताखोर आइतवार बिहान १० बजे (नेपाली समयानुसार बिहान ८:४५) बजे गुफामा पसेका हुन् ।
किशोरहरुका ता-पितालाई पनि उद्धार अपरेशनको जानकारी दिइएको छ। उनले यो अपरेशन २ दिनमा सकिने बताएका छन् । तर सेनाले भने तीनदेखि चार दिनसम्म यो अपरेशन चल्ने जनाएको छ । एक दिनअघि गभर्नर नरोङ्गसाकले गुफामा अक्सिजन कमीका कारण किशोरहरुलाई निकाल्न कम्तिमा पनि ३ देखि ४ दिन लाग्ने बताएका थिए ।
यदि निकाल्न सकिएन भने गुफामा कार्बनमोनोअक्साइडको मात्रा बढेर किशोरहरुको रगत विषमा परिणत हुने खतरा छ । गुफामा अन्डर-१६ फुटबल टिमका ११ देखि १६ वर्षसम्मका १२ किशोर र उनीहरुका २५ वर्षीय प्रशिक्षक फसेका छन् ।
उनीहरु आफ्नो अभ्यास खेलपछि गुफा हेर्न पसेका थिए । त्यहीबेला भीषण पानी परेपछि गुफामा बाढी आएको थियो । यो गुफा १० किलोमिटर लामो छ । बर्षातको समयमा यो गुफा यो गुफा जुलाईदेखि नोभेम्बरबीच बन्द हुने गरेको छ।