मन्त्री यादवले कोदो र फापरको महत्वबारे सांसदलाई पढाए
काठमाडौँः उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले आइतवार बसेको राष्ट्रिय सभाको बैठकमा कोदो र फापरको महत्वबारे सांसदहरुलाई पढाएका छन् सांसदहरुले उठाएका प्रश्नको उत्तर दिने क्रममा मन्त्री यादवले फापर र कोदोको राम्रोसँग उपभोग हुन नसकेको पनि उल्लेख गरे । हुल्ला, मुगु र जुम्ला लगायत जिल्लामा कोदो, फापर र सिमीको राम्रो उत्पादन भएपनि त्यसको उपयोग नहुँदा खाद्यन्नको अभाव देखिने गरेको बताए ।
‘कोदो, फापर र सिमी गरिबले मात्रै खान्छन्, भातचाहिँ धनीले खाने हो भन्ने मानसिकता परिर्वतन गर्न जरुरी रहेको छ’, उनले भने, ‘कोदो, फापर, सिस्नो र सिमी पौष्टिक आहार हुन्, यिनको उपयोग बढाउन जरुरी छ । स्थानीय उत्पादनको खपत पनि बढाउन सबैले यसको उपयोग बढाउन पर्छ ।’ मन्त्री यादवले कोदो र फापर सिमीको महत्वबारे संसद्मा बुझाउँदा सांसद्हरु भने मुखामुख रिरहेका थिए ।
वस्तु निकासी सहज बनाऊँ
मन्त्री यादवले नेपाली बस्तुको सहजरुपमा निकासी गर्र्ने व्यवस्था गर्न पनि आवश्यक प्रक्रिया अगाडि बढाइएको उनले बताए । सुशासनलाई टेवा दिनका लागि मन्त्रालय तथा मातहतका निकाय अब अनलाइन प्रणलीमा लैजाने तयारी गरिरहेको पनि उनले जानकारी दिए । करको दायरामा ल्याउनका लागि मिडियालाई पनि अनुगमन गर्ने तयारी गरिहेको यादवले बताए ।
मन्त्री यादवले स्थानीय उत्पादनलाई वृद्धि गरी समृद्धि हालिस गर्न योजना अगाडि ल्याइएको बताएका छन् । यादवले हस्तकलादेखि स्थानीय उद्योग सञ्चालनका लागि निजी क्षेत्रसँग सहकार्य गरे अगाडि बढ्ने बताए । हस्तकाला प्रर्वद्धनका लागि छुट्टै केन्द्रको स्थापना गरी योजना अगाडि बढाइसकेको पनि उनले जानकारी दिए ।
बन्द उद्योग पुनः खोलिने
सरकारको लगानी रहेका वुटवल धागो कारखाना, हेटाँैडा कपडा उद्योग, वीरगञ्ज चिनी कारखाना र विराटनगर जुट मिल र गोरखकाली रबर उद्योग पुनः सञ्चालनका लागि आवश्यक योजना अगाडि बढाएको पनि उनले बताए ।
‘निजीकरण र उदारीकरणको नाउमा यी उद्योगहरु धरासायी भए देशको उत्पादन नबढाएसम्म समद्धि हासिल हुँदैन, त्यसका कारण
रुग्न उद्योग सञ्चालन गर्न सरकार केन्द्रित बनेको हो’, उनले भने, ‘उत्पादन नबढाएसम्म व्यापार घाटा कम हुन नसक्ने हुँदा पनि उद्योग सञ्चालन गरी उत्पानदन बढाउनेतर्फ सरकारले ध्यान केन्द्रित गरेको छ ।’
खानी उद्योगबारे अध्ययन
त्यस्तै खानी उद्योग सञ्चालनका लागि आवश्यक योजना अगाडि बढाएको उनले बताए । नवलपरासी धोबादीको फलाम खानी र जारकोटमा रहेको पेट्रोलियम खानी उत्खननका लागि अवाश्यक योजना अगाडि बढेको उनले बताए । खानी उद्योग सञ्चालनका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने पनि उनले बताए ।
मन्त्री यादवले १७ दुर्गम जिल्लामा आयोडिनयुक्त नुनको अभाव हुन नदिन यो आर्थिक वर्षमा ६० हजार क्युन्टल नुन ढुवानी गर्ने जानकारी दिए ।