उपकुलपति कोइराला भन्छन्: प्रधानमन्त्रीले हवल्दारी पारा देखाए, अब चुप बस्दिनँ
काठमाडौं: नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा अपराधीलाई जस्तै छापामार शैलीमा आफूलाई विमानस्थलबाट नियन्त्रणमा लिइएको आरोप लगाएका छन् ।
क्यानडाको भ्यानकुभर शहरमा आयोजना हुन लागेको १७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन जाने क्रममा शनिबार सरकारले विमानस्थलबाट नियन्त्रणमा लिएपछि आइतवार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर कोइरालाले यस्तो आरोप लगाएका हुन् ।
उनले वर्तमान सरकार सर्वसत्तावादको चगुंलमा फसेको र प्राज्ञिक क्षेत्रलाई कब्जामा लिन उद्धत रहेको समेत आरोप लगाए । ‘क्यानडामा हुने विश्व संस्कृत सम्मेलनमा भाग लिन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको थिएँ', उनले भने, 'प्रहरी लगाएर मलाई पक्राउ गरियो, कुनै कारण देखाइएन ।’
तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार हुँदा पनि आफू क्यानडाकै जस्तो कार्यक्रममा भाग लिन चीन गएको स्मरण कोइरालाले गराए । 'चीन जाँदा जुन प्रक्रिया अपनाएको थिएँ, त्यही प्रक्रिया र नियम अहिले पनि पालना गरेको थिएँ', कोइरालाले भने, 'मैले एक साताअघि नै यसबारे सरकारको सम्बन्धित निकायलाई जानकारी गराएको थिएँ । तर मलाई विमानस्थलबाट छापामार शैलीमा अपराधीलाई जस्तो पक्राउ गरियो, यो अपमान मप्रति मात्रै नभएर सिंगो प्राज्ञिक जगतमाथिको हो।’
उनले उक्त घट्नालाई आफूले सामान्य रुपमा नलिएको बताउँदै यो अन्तर्राष्ट्रिय फोरममा समेत यो विषयले नेपालको बेइज्जती भएको दुःखेसो पोखे । प्रधानमन्त्री ओली बहुमतको दम्भबाट ग्रसित रहेको कडा टिप्प्णी कोइरालाले गरे ।
‘म त एक प्रतिनिधि पात्र मात्रै हुँ, मलाई अपराधी जस्तो पक्राउ गर्नु भनेको नेपाली प्राज्ञिक क्षेत्रको अपमान हो', उनले भने, 'मैले अपमानका प्याला सहज तरिकाले पिउन सक्छु, तर प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको लागि लडेको सिंगो नेपाली समाजलाई यस्ता गतिविधि पाच्य हुँदैनन् ।’
यो घट्नाले अन्य राष्ट्रमा समेत नेपालकोको नकरात्मक सन्देश प्रवाह भएको उनले बताए । 'म क्यानडामा पिकनिकको लागि जान खोजेको थिइँन्', कोइरालाले भने, 'हाम्रो सभ्यता, संस्कृत र संस्कृतिको प्रर्वद्धन तथा विकासको विषयमा अन्तर्राष्ट्रिय मञ्चमा भाग लिनको लागि जान लागेको थिएँ।’
हवल्दारी पाराले विश्व विद्यालय नचल्ने दाबी गर्दै उनले विश्वविद्यायलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीलाई आग्रह गरे ।
'म विनम्र अनुरोध गर्न चाहन्छु, ओलीज्यू हामीले पनि लोकतन्त्र र गणतन्त्रका लागि भूमिका खेलेका छौं, हवल्दारी पाराले प्राज्ञिक क्षेत्रलाई तहसनहस पार्न खोज्नु मुर्खता हो', उनले अगाडि भने, 'हामीले अनुमान गरेका थियौं, कालिदासले कुनै डिग्री लिएका थिएनन्, कति वैज्ञानिकले विश्वविद्यालयको आँगन टेकेका थिएनन्, हामी सबै बुझेका मानिस त होइनौं, तर तपाईहरुभन्दा केही जान्दछौं, मलाई अपहरण किन गरियो ? मैले के अपराध गरेको थिएँ ? विश्व संस्कृत सम्मेलनमा भाग लिन जाँदा के भत्किने थियो ? तपाईले चालेको कदम अधिकानायवादको पूर्वसंकेत हो, नेपालको लागि अधिनायकवाद कल्पनाभन्दा बाहिरको कुरा हो, सरकारका रवैयाहरुले राम्रो संकेत दिइरहेका छैनन् ।’
उपकुलपति पद छोडिदिनुपर्यो भनेर सरकारले भन्दा नमान्नु भएको स्थितिमा आजको दिन आएको हो अरे नि ? भनेर सोधिएको पत्रकारको प्रश्नको जवाफमा उनले प्रक्रिया मिलाएर छाड्छौँ भनेको बताए । ‘एकदिन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले हामी १० उपकुलपतिलाई बोलाएर छोड्नुपर्यो भन्नुभएको थियो, हामीले नियम र प्रक्रिया छ, हामी त्यसअनुरुप बाहिरिन्छौं भनेका थियौं', उनले भने, 'तर मेरो एक हप्ताको बिदा १० दिन टेबुलमा थन्काइयो, कुनै जवाफ नदिइ विमानस्थलबाट पक्राउ गरियो ।’