फेरि लम्बियो कोटेश्वर-कलंकी सडक निर्माण

फेरि लम्बियो कोटेश्वर-कलंकी सडक निर्माण

काठमाडौं : चीनको अनुदानमा निर्माणकार्य अन्तिम चरणमा पुगेको कोटेश्वर-कलंकी सडक निर्माणको समय फेरि थप भएको छ। अन्तिमपटक थप भएको समय असार ३१ (जुलाई १५) गते सकिने भए पनि काम नसकिँदा म्याद थप गर्नुपरेको हो।

काठमाडौं चक्रपथ सुधार आयोजनाका इन्जिनियर निराजन शर्माका अनुसार कोटेश्वर-सातदोबाटो-कलंकी सडक बिस्तारको समय फेरि थप भएको हो।  ‘अन्तिमपटक थपिएको समय असार १५ (२०१८ जुलाई १५) मा सकिँदैछ’, इन्जिनियर शर्माले आइतबार अन्नपूर्णसँग भने, ‘तर, चार प्रतिशत काम बाँकी भएकाले फेरि मंसिर २९ (डिसेम्बर १५) गतेसम्म समय थप भएको हो।’ 

चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले ४० महिनामा काम सक्ने गरी सन् २०१३ जुनमा कोटेश्वर-कलंकी सडक खण्ड विस्तारको काम सुरु गरेको थियो। तर २०७२ वैशाख १२ (२०१५ अप्रिल २७) गतेको शक्तिशाली भूकम्पपछि लामो समय काम ठप्प भयो। भूकम्पपछि यो सडकखण्ड बिस्तारका लागि अन्तिमपटक २०१८ जुलाई १५ सम्मको समय थप भएको थियो। तर, त्यो अवधिमा काम पूरा नभएपछि फेरि पाँच महिना अर्थात् २०७५ मंसिर २९ गतेसम्म समय थपिएको हो।

अब के छ काम ? 
कोटेश्वरदेखि कलंकीसम्म १० किलोमिटर आठ लेन (५० मिटर चौडा) सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। ‘कोटेश्वर-सातदोबाटो-कलंकी सडक बिस्तारको ९६ प्रतिशत काम भइसकेको छ’, शर्माले भने, ‘अब कोटेश्वरदेखि बल्खुसम्म एक लेयर पिच गर्न बाँकी छ।’ सडकको पेन्टिङ, सजावट र अन्य केही सुधारका काम बाँकी रहेको शर्माको भनाइ छ।

उनका अनुसार, कलंकी अन्डरपासको कामसमेत ९६ प्रतिशत भइसकेको छ। अन्डरपासको फिनिसिङ, पिच र सजावटको काम बाँकी छ। बल्खुबाट कलंकीसम्म भने पहिलो लेयरको पिच हुन बाँकी छ। सडक बिस्तारमा चिनियाँ ठेकेदारले सबैभन्दा गाह्रो पुल निर्माण र आकाशे पुल बनाइसकेको छ। अहिले चिनियाँ ठेकेदारले बल्खुदेखि कलंकी खसीबजारको कामलाई तीब्रता दिएको छ। यो काम पनि अन्तिम चरणमा पुगेको छ। निर्माण कम्पनीले ९० प्रतिशतभन्दा बढी रकम बुझिसकेको छ। निर्माण सम्पन्न भएपछि मात्र १० प्रतिशत रकम ठेकेदारले पाउनेछन्। कोटेश्वर कलंकी सडक निर्माणको लागत ३१ करोड २० लाख आरएमबी (चिनियाँ मुद्रा) हो।

कलंकी-महाराजगञ्ज सडक खण्ड विस्तारको समय सर्‍यो 
जुलाई १५ मा कोटेश्वर-कलंकी विस्तारको काम सकिएपछि चिनियाँ अनुदानमै ८.२ किमी कलंकी-महाराजगन्ज सडक खण्ड चौडाको काम सुरु हुने बताइएको थियो। तर कोटेश्वर-कलंकी खण्डकै समय पाँच महिना थप भएपछि दोस्रो खण्डको काम सुरु हुन ढिला हुने भएको आयोजनाको भनाई छ। यसअघि चिनियाँ कम्पनीले असारभित्रै कोटेश्वर-कलंकी खण्ड हस्तान्तरण गरेर नयाँ खण्डको काम सुरु गर्ने तयारी गरेको थियो। 

चीनले सन् २०२९ सम्ममा पूरै २७.२ किलोमिटर चक्रपथ बिस्तार गर्ने घोषणा गरेको छ।  घोषणाअनुसार, काम भए पूरै २७ किलोमिटर चक्रपथ ५० मिटर चौडाइसहित आठ लेनको हुनेछ। त्यसका लागि सरकारले सडक दायाँबायाँका घर टहरा हटाउने सहमति गरिसकेको छ। चीनले तीन चरणमा चक्रपथ बिस्तारको काम पूरा गर्ने घोषणा गरेको छ। तेस्रो चरणमा भने महाराजगञ्ज-कोटेश्वरसम्मको सडक विस्तार हुनेछ।

चाबहिल-गौशाला सडक खण्डमा साइट क्लियर गर्न सरकारलाई कठिनाइ हुने देखिएको छ। त्यस विषयमा भने सरकारले के गर्ने भन्ने विषयमा निर्णय गरेको छैन। तेस्रो चरणको काम भने दोस्रो चरणको बिस्तार सकिएपछि मात्र सुरु हुनेछ। चाबहिल-गौशाला सडक खण्डमा दायाँबायाँ साइट क्लियर गर्न कठिनाई हुने हुँदा त्यहाँ फ्लाई ओभर बनाउने प्रस्तावसमेत गरिएको छ। यो विषयमा चिनियाँ पक्ष सकारात्मक भए पनि औपचारिक निर्णय भने भइसकेको छैन।

पहिलो चरण कोटेश्वर-कलंकी सडक खण्डमा देखिएका समस्याको सम्बोधन गर्दै दोस्रो र तेस्रो चरणको विस्तार गर्ने विषयमा चिनियाँ पक्ष सकारात्मक छ। पहिलो खण्डको सडकमा डिभाइडर, आकाशे पुल, जेब्राक्रस आवश्यकताअनुसार नभएको भन्दै व्यापक गुनासो आएका छन्। चिनियाँ पक्षले यी गुनासाको सम्बोधन दोस्रो र तेस्रो चरणको सडक बिस्तारका क्रममा गर्ने बताएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.