सरकारले राष्ट्रसंघका लागि स्थायी प्रतिनिधिलाई फिर्ता बोलायो
काठमाडौँः सरकारले संयुक्त राष्टसंघका लागि नेपालको स्थायी नियोग न्यूर्योकका राजदूत/स्थायी प्रतिनिधि दुर्गा प्रसाद भट्टराईलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
आइतबार राति बसेको मन्त्रिपरिषद्को बैठकले कांग्रेस सरकारको पालामा राष्ट्र संघका लागि स्थायी प्रतिनिधिमा नियुक्त भएका भट्टराईलाई साउन १५ भित्र नेपाल फर्किन निर्देशन दिने निर्णय गरेको हो ।
‘राष्ट्रसंघस्थित नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलाई यही साउन १५ गतेभित्र फिर्ता आउन निर्देशन दिने निर्णय गरिएको छ’, सरकारका प्रवक्ता सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बास्कोटाले भने, ‘यससँगै राजदूत नियुक्ति प्रक्रियालाई पनि अघि बढाउने कार्यविधिलाई अघि बढाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।’
राष्ट्र संघका लागि स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईको अवधि गत अगस्टमै सकिएको थियो। अर्का प्रतिनिधि नियुक्ति नहुँदासम्मका लागि उनको अवधि यसअघि थप गरिएको थियो।
नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नयाँ मापदण्ड अनुसार राजदूत नियुक्ति प्रक्रिया अगाडि बढाउनका लागि भट्टरार्इलार्इ फिर्ता बोलाएको हो ।
संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधिमा भट्टराई २०७० साउन १ मा नियुक्त भएका थिए । नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले भट्टराईलाई उक्त पदमा मंगलबार नियुक्त गरेका थिए ।