विश्वकपमा इङ्ल्यान्डका प्रशिक्षकको सफलता सूत्र
मस्कोः इङ्ल्यान्ड २८ वर्षको प्रतीक्षापछि विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ। सन् १९९० मा इटालीमा भएको विश्वकपपछि इङ्ल्यान्ड पहिलो पटक विश्वकपको अन्तिम चारमा पुगेको हो। सन् १९६६ को विश्वकप जितेको इङ्ल्यान्ड त्यही इतिहास दोहोर्याएर दोस्रो उपाधि कुम्ल्याउने अभियानमा छ। इङ्ल्यान्डले फाइनलमा स्थान पक्का गर्न आगामी बुधबार क्रोएसियाको सामना गर्दैछ।
इङ्ल्यान्डको दमदार प्रदर्शनमा टोलीका प्रशिक्षक गारेथ साउथगेटको पनि महत्वपूर्ण भूमिका रहँदै आएको छ। इङ्ल्यान्डको पछिल्लो सफलतामा प्रशिक्षक साउथगेटले अपनाएको फरक शैलीको अभ्यासले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। टोलीका कप्तान हेरी केन जारी विश्वकपमा ‘गोल्डेन बुट’ अवार्डको प्रमुख दाबेदार मानिएका छन्। उनी ६ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन्। उनी पछि बेल्जियमका रोमेलु लुकाकू, रुसका डेनिस चेरिसेभ र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो छन्। लुकाकू, चेरिसेभ र रोनाल्डोले समान चार÷चार गोल छ।
रुसमा विश्वकप सुरु हुनुअगावै प्रशिक्षक साउथगेटले खेलाडीलाई एउटा टिममा ढाल्नका लागि विभिन्न तरिका अवलम्बन गरेका थिए। उनले अवलम्बन गरेका एउटा सफल तरिका हो, आफ्ना खेलाडीलाई नियमित रूपमा कबड्डी खेलाउने। हरेक दिन नियमित अभ्यासमा इङ्ल्यान्डका खेलाडीले कबड्डी खेल्ने गरेका छन्। इङ्ल्यान्डका खेलाडीले कबड्डी खेलेर टिम बिल्डिङ, ट्याकल र स्टामिना बढाउने प्रयास गरेको समाचारमा जनाइएको छ।
प्रशिक्षक साउथगेट आफूले खेलाडीलाई फुटबल कला सिकाउनुका अतिरिक्त लामो समय कबड्डी पनि खेलाएको बताउँछन्। कबड्डीले खेलाडीमा सामूहिक भावना बढाउन महŒवपूर्ण भूमिका निर्वाह गरेको प्रशिक्षक साउथगेटको दाबी छ। साउथगेटले कबड्डीमार्फत आफ्ना खेलाडीलाई ‘रेडर’ एक्लैले विपक्षी कोर्टमा कसरी धावा बोल्ने र उनीहरूको एकतालाई कसरी तोड्ने भन्ने कला सिकाएका थिए।
इङ्ल्यान्डका खेलाडी अलगअलग क्लबबाट व्यावसायिक फुटबल खेल्ने भएकाले पनि टिममा सामूहिक भावनाको विकास गर्न साउथगेटले निकै मेहनत गरेका हुन्। ‘उनीहरूलाई भावनात्मक रूपमा नजिक ल्याउन कबड्डीसँगै अन्य मनोरञ्जनात्मक खेलहरू पनि खेलाउनु पर्यो। खेलाडीले बालबालिकाले खेल्ने वाटर फ्लोटिङमा बसेर रेस पनि लगाए’, साउथगेट भन्छन्।
विश्वकपका लागि रुस प्रस्थान गर्नुअघि इङ्ल्यान्डका खेलाडीले कमान्डो ट्रेनिङ पनि लिएका थिए। इङ्ल्यान्डका खेलाडी कम्ब्याट पोसाक लगाएर एक साताभन्दा बढी कमान्डो ट्रेनिङमा खटिएको साउथगेट बताउँछन्। प्रशिक्षक साउथगेटले राष्ट्रको प्रतिनिधित्व गरेर युद्ध लड्दा अथवा पराजय बेहोर्दा कसरी गम्भीर हुनुपर्छ भनेर सिकाउन खेलाडीलाई कमान्डो तालिम लिन लगाएको बताए।
‘हाम्रा खेलाडीलाई युद्धमा पराजित हुँदाको क्षण कस्तो हुन्छ र त्यो क्षणको गम्भीरतालाई कसरी चिर्नुपर्छ भनेर सिकाउनु जरुरी थियो। अप्ठ्यारो परिस्थितिबाट कसरी अगाडि बढ्न सकिन्छ भन्ने ज्ञान दिलाउन खेलाडीलाई कमान्डो ट्रेनिङमा सहभागी गराइएको थियो’, साउथगेट भन्छन्। यसैगरी प्रशिक्षक साउथगेटकै आग्रहमा टोलीका हरेक खेलाडीलाई मनोचिकित्सक डा. पिपा गाङ्गेले परामर्श पनि दिएकी थिइन्। उनले खेलाडीको जिमखानालाई ‘मोटिभेसनल स्लोगन’ले सजाएकी थिइन्। पूर्व बास्केटबल खेलाडीसमेत रहेकी डा. पिपाले खेलाडीले तनावबाट कसरी छुटकारा पाउने, पेनाल्टीलगायतका तनावपूर्ण अवस्थालाई कसरी सहज बनाउनेजस्ता विषयमा पनि तालिम दिएकी थिइन्।