यी हुन् रुस विश्वकपमा रातो कार्ड पाउने खेलाडी
कार्लोस सान्चेज (कोलम्बिया)
दक्षिण अमेरिकी टोली कोलम्बियाका अनुभवी मिडफिल्डर हुन्, कार्लोस सान्चेज। कोलम्बियालाई रुसमा जारी २१औं विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलसम्म पु¥याउन ३२ वर्षीय सान्चेजको पनि महत्वपूर्ण योगदान थियो। उनी जारी विश्वकपमा गलत खेल खेलेका कारण रेफ्रीबाट सीधै रातो कार्ड पाउने पहिलो खेलाडी पनि बन्न पुगेका छन्।
सान्चेजले समूहगत चरणको खेलमै रातो कार्ड पाएका थिए। समूह ‘एच’अन्तर्गत जापान र कोलम्बियाबीच भएको खेलका क्रममा उनले रातो कार्ड पाएका हुन्। उनले खेल सुरु भएको तेस्रो मिनेटमै रातो कार्ड पाएका थिए। खेलका क्रममा सान्चेजले डीबक्सभित्र हातले बल छोएपछि रेफ्रीले उनलाई रातो कार्ड देखाउँदै जापानलाई पेनाल्टी प्रहारको अवसर दिएका थिए।
सान्चेज र उनको साथीले जानीजानी हातले बल नछोएको दाबी गरे पनि रेफ्री आफ्नो निर्णयमा अडिग रहे। सोही अवसरको फाइदा उठाउँदै जापानका लागि सिन्जी कागावाले पेनाल्टी प्रहारमा गोल गरेका थिए। उक्त खेलमा जापान २—१ गोलले विजयी भएको थियो। सो समूहबाट कोलम्बिया विजेता र जापान उपविजेताका रूपमा नकआउट चरणमा पुगेका थिए।
प्रिक्वार्टरफाइनल खेलमा भने जापानलाई बेल्जियमले र कोलम्बियालाई इङ्ल्यान्डले हराएका थिए। जारी विश्वकपमा सान्चेजका अतिरिक्त अर्का एक खेलाडी स्विट्जरल्यान्डका माइकल लाङले मात्र सीधै रातो कार्ड पाएका छन्। यसदेखि बाहेक एउटै खेलमा दुईवटा पहेँलो कार्ड पाएर भने अन्य दुई खेलाडी जर्मनीका जेरोमी बोयटेङ र रुसका इगोर स्मोलनिकोभले पनि मैदान छाडेका छन्।
माइकल लाङ (स्विट्जरल्यान्ड)
स्विट्जरल्यान्डका डिफेन्डर हुन्, मिचेल लाङ। जारी विश्वकपमा गलत खेल खेलेका कारण रेफ्रीबाट सीधै रातो कार्ड पाउने दुई खेलाडीमध्ये एक उनी पनि हुन्। २७ वर्षीय अनुभवी डिफेन्डर लाङले स्विडेनविरुद्घको प्रिक्वार्टरफाइनल खेलमा रातो कार्ड पाएका थिए। स्विट्जरल्यान्डलाई नकआउट चरणमा पु¥याउन उनको पनि महत्वपूर्ण भूमिका रहेको थियो।
तर, प्रिक्वार्टरफाइनल खेलमा भने उनी आफ्नै गलत हर्कतका कारण रातो कार्ड पाउन पुगे। खेल सुरु भएको ६६औं मिनेटमा स्विडेनले गोल गरेको थियो। स्विडेनका लागि एमिल पिटर फोर्सबर्गले गोल गरेका थिए। त्यसपछि खेल झनै आक्रामक बनेको थियो। स्विडेन आफ्नो अग्रता जोगाउँदै क्वार्टरफाइनलमा पुग्न चाहन्थ्यो भने स्विट्जरल्यान्ड जवाफी गोल फर्काएर खेललाई अतिरिक्त समयतर्फ धकेल्न चाहन्थ्यो।
यस्तै घम्साघम्सीबीच दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा स्विडेनका मार्टिन ओल्सनले विपक्षीको पोस्टतर्फ एक्लै बल अगाडि बढाएका थिए। त्यतिबेला स्विट्जरल्यान्डका अन्य डिफेन्डर पनि पछाडि नै थिए। यस्तो स्थितिमा कुनै सीप नलागेपछि डीबक्सभन्दा ठीक बाहिर लाङले ओल्सनलाई धकेलेर लडाएका थिए। उनले नलडाएको भए स्विट्जरल्यान्डका गोलरक्षकलाई छक्याएर ओल्सनले गोल गर्ने पर्याप्त सम्भावना थियो।
त्यसपछि रेफ्रीले लाङलाई सीधै रातो कार्ड देखाउँदै स्विडेनलाई पेनाल्टी प्रहारको अवसर दिएका थिए। यद्यपि, भीएआर प्रणालीमा पछि पेनाल्टी नभएको देखिएका कारण स्विडेनलाई फ्रिकिक प्रहार गर्न दिइएको थियो। लाङलाई दिएको रातो कार्ड भने यथावत् राखिएको थियो। स्विडेनका खेलाडीले डीबक्स नजिकैबाट फ्रिकिक प्रहार गरे पनि गोल भने छिराउन सकेनन्। उक्त खेलमा १—० ले विजयी हुँदै स्विडेन क्वार्टरफाइनलमा पुगेको थियो। स्विडेन क्वार्टरफाइनलमा भने इङ्ल्यान्डसँग पराजित भयो।