नीति, निष्ठा र नैतिकताको खडेरी

नीति, निष्ठा र नैतिकताको खडेरी

आर्थिक रूपमा दरिद्र हुनु, विविध कारणले अविकसित हुनु वा आर्थिक, प्राविधि, वैज्ञानिक क्षेत्रमा पछि पर्नु, गरिब हुनु देशको दुर्भाग्य होइन । नैतिकता र निष्ठापूर्वक काम गरे ढिलोचाँडो समयका गतिसँग हिँड्न सक्ने अवस्था निर्माण गर्न सकिन्छ र गरिबी र पछौटेपनमाथि विजय प्राप्त गर्न सकिन्छ । विश्वका अनेकैाँ मुलुक यसका साक्षी छन् । तर देशको राजनीतिक नेतृत्व मानसिक रूपले दरिद्र, नैतिक रूपले पतीत, चारित्रिक रूपले भ्रष्ट हुनु कुनै पनि देशका लागि दुर्भाग्य हो । 

हाम्रो समाजको आजको चारित्रिक पहिचान औसत रूपमा यस्तै छ । जसले जतिसुकै सहयोगी हात बढाएर चन्द्रमा छुने सपना बाँडे पनि गरिबी अन्त्य भई समृद्धि हासिल गर्न सकिन्न । सकारात्मक अग्रगामी परिवर्तनको बाटोमा समात्न पनि सकिँदैन । परिवर्तनका लागि विशेषगरी नेतृत्व वर्गको संस्कार, संस्कृति, मनोविज्ञान, नीति, निष्ठा, नियत र आचरण नै फेर्नुपर्ने हुन्छ।

फेराइका बाटा विभिन्न हुन सक्छन् । सम्यक् र प्रभावकारी बाटो खोज्नु राजनीतिक नेतृत्वको पहिलो र अन्तिम नैतिक दायित्व हो । यसका लागि कम्तीमा पनि नेतृत्व वर्गका तीन पीढीको निष्ठापूर्ण त्याग, तपस्या र निःस्वार्थ बलिदान आवश्यक पर्छ, जुन विश्व इतिहासको यथार्थ हो । हाम्रो आजको राजनीतिक, बौद्धिक, सांस्कृतिक र नागरिक नेतृत्वमा यसको खडेरी छ ।

निर्विकल्प सत्य हो, आम  श्रमिक जनता समाज परिवर्तनको अगुवा शक्ति हो, समृद्धिको निर्माता हो, समाजको अन्नदाता शक्ति हो । क्रान्तिकारी परिवर्तनका लागि यसमा अपार शक्ति, निष्ठा, नैतिकता र   श्रम–संस्कृति रहन्छ र हाम्रो देशमा पनि छ । तर क्रान्तिकारी परिवर्तनका लागि आवश्यक सिद्धान्त, दिशा, सही बाटो र लक्ष्यको पहिचान निक्र्यौल गर्ने काम, उसको सामाजिक, आर्थिक र बौद्धिक अवस्थाले गर्दा उसले आफ्नै बलबुतामा गर्न सक्दैन । त्यसका लागि उसलाई नैतिकवान् र निष्ठावान् पथप्रदर्शक नेतृत्व चाहिन्छ । 

त्यो काम समाजका अग्रगामी राजनीतिक, बौद्धिक तथा वैचारिक र सांस्कृतिक नेतृत्वको संयुक्त शक्तिले मात्र गर्न सक्छ । त्यसैले श्रमिक वर्गका पार्टीको आवश्यकता महसुस गरिएको हो र सबभन्दा नजिक र विश्वासिलो पार्टीका रूपमा कम्युनिस्ट पार्टी अस्तित्वमा आएका हुन् । यो इतिहासको सत्य हो । तर जब यो नेतृत्व नैतिक रूपमा पतीत, चारित्रिक रूपमा भ्रष्ट हुन्छ र कथनी र करनीमा दोहोरो चरित्र लिएको छद्मभेषी वञ्चक हुन्छ, तब श्रमिक वर्गलाई सधैं धोका हुन्छ । समाज क्रान्तिकारी परिवर्तनको बाटो होइन, पतनको बाटो लिन पुग्छ । नीति, निष्ठा र नैतिकतामा नबाँधिएको नेतृत्वले न देशमा मानवीय श्रम संस्कार जन्माउन सक्छ न समतामूलक न्यायिक समाज नै निर्माण गर्न सक्छ । समाजवाद त निकै परको कुरा हो ।

नयाँ नेपाल निर्माणको वाचासहित सत्तामा पुगेको सरकारका प्रारम्भिक कदमले त्यसअनुरूपको चरित्र, निष्ठा, अठोट, वर्गीय संलग्नता र नीतिको झलक दिँदैन ।

हामीले जनसार्वभौमिकता, समृद्धि र समानता, शोषण र विभेद अन्त्य गरी न्यायिक समानताका लागि विभिन्न चरणमा बलिदानपूर्ण आन्दोलन गरी जहानिया राणा राजदेखि शाहवंशको राज समाप्त गरी संघीय गणतन्त्र स्थापना गर्‍यैाँ । संघीय लोकतान्त्रिक गणतन्त्रका दस वर्ष पनि राजनीतिक लुछाचुँडी, अस्थिरता, राजनीतिक भ्रष्टाचार, प्रशासनिक अराजकताको अवस्थामा बिते । कहालीलाग्दो यस अन्त्यका लागि कम्युनिस्टहरूको हातमा एकछत्र सत्ता सुम्पी विगत अवस्थाको अन्त्य हुने आशामा राहतको श्वास लियौं । वैधानिक रूपमा (डिजुरे) जे भए पनि यथार्थमा (डिफ्याक्टो) एउटा प्रदेशबाहेक सर्वत्र कम्युनिस्टहरूको एकदलीय शासन छ यतिबेला । 

सत्तामा अर्को दलको सहभागिता वा कसैका समर्थनले कुनै तात्विक अर्थ राख्दैन । यस्तो अवस्था विगतमा पूर्वी युरोपका धेरै देश र स्वयं आजको चीनमा समेत अभ्यास गरिएकै हो । अर्कोतर्फ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस वैचारिक र संगठनात्मक रूपले तथा विगतमा सत्ता सञ्चालनको नकारात्मक छवि तथा वर्तमान बदलिएको अवस्थामा राजनीतिक र कार्यक्रमगत अन्योलजन्य दिशाहीनता, पराजयजन्यहीनताबोध, आन्तरिक कलह आदि कारणले निस्प्रभावी छ । यो सत्य हो आज पनि त्यसका समर्थक र मतदाताको संख्या कम छैन । तर कांग्रेसजस्तो इतिहास भएको पार्टीका लागि यो समर्थन स्वाभाविक हो । तर वर्तमान अवस्था ऊ कुनै वैकल्पिक शक्तिका रूपमा देखिँदैन र तत्काल यसको सम्भावना पनि देखिँदैन । यस अवस्थामा कम्युनिस्टहरूले निर्विरोध काम गर्ने अवसर पाएका छन् । तर दुर्भाग्य समाजवादउन्मुख परिवर्तनको दिशामा सिद्धान्तनिष्ठ कदम चालेको देखिँदैन ।

खड्ग ओलीले सत्तारोहण गरेका ६ महिना पुगेको छ । सत्ता प्राप्तिपछि आफ्नो घोषित नीतिअनुसार सबैलाई महसुस गर्ने गरी परिवर्तनको ठोस दिशा समात्न, विद्यमान चौतर्फी विकृति, भ्रष्टाचार, कुशासन, माफियातन्त्र, नागरिक असुरक्षा आदिको अन्त्य गर्ने दिशामा ठोस र निश्चयात्मक कदम चाल्न र परिवर्तनको दिशा समातेको अनुभूति हुने गरी कामको थालनी गर्न यो समय छोटो होइन । अक्टोबर क्रान्तिको सय दिन पुगेकोमा राष्ट्रलाई सम्बोधन गर्दै लेनिनले भनेका थिए, ‘पेरिसकम्युन ७२ दिन बाँचेको थियो, हामीले सय दिन पार गरेका छौं र सर्वहारा वर्गका सत्ताको जग बसालेका छौं ।’ त्यो भनाइ सस्तो प्रचारबाजी थिएन, बल्कि सत्ता संरचनाको सोभियत परिपाटीको सुदृढ जग हालिसकेको र सबैलाई अनुभूत हुने गरी आमूल परिवर्तनको मूल दिशामा कामको थालनी गरिसकेको अवस्था थियो ।

एक रातमा परिवर्तन हुँदैन, यो सत्य हो । तर भन्ने गरिन्छ– राम्रो थालनी आधा काम भएजत्तिकै हुन्छ । नयाँ नेपाल निर्माणको वाचासहित सत्तामा पुगेको सरकारका प्रारम्भिक कदमले सरकारको त्यसअनुरूपको चरित्र, निष्ठा, अठोट, वर्गीय संलग्नता र नीतिको झलक दिँदैन । यसविपरीत जनताले यस कम्युनिस्ट सरकारबाट आशा गरेको भन्दा उल्टो चरित्र, व्यवहार र चिन्तन देखिँदैछ । हुँदैछ, गरिँदैछ, गरिनेछ, यति छोटो समयमा सबै व्यवस्था मिलाउन सकिएको छैन आदि दलील दिन सकिन्छ र दिने गरिएको पनि छ । तर क्रान्तिकारी पार्टीको चारित्रिक लक्षण र परिवर्तनका लागि उठाइने प्रत्येक क्रान्तिकारी कदमको मूल्यांकन गर्न वर्षौंको समय चाहिँदैन ।

त्यसका हरेक कदम र प्रतिदिनका क्रियाकलाप आफैं बोलिरहेका हुन्छन् । यस दृष्टिकोणबाट हेर्दा सत्तासीन पार्टी माक्र्सको अनुयायी, सर्वहारा वर्गको पार्टी, समाजवादी लक्ष्य लिएको पार्टी इत्यादि जेजति विशेषण जोडिएका भए पनि यसले गरेका काम र व्यवहारले यो भ्रष्टाचारी, तस्कर, दलाल, पुँजीपति, कालाबजारीया शक्ति तथा सञ्चालित गैरसरकारी संस्थाको बर्कोभित्र काम गरिरहेका वैदेशिक एजेन्सी र तिनका प्रतिनिधिको नेतृत्वकारी अग्रणीय राजनीतिक दस्ताका रूपमा नै देखा पर्र्दैछ ।

भ्रष्टाचार समाप्त गर्ने, यातयात, निर्माण, बजार, शिक्षा र स्वास्थ्य क्षेत्रमा कायम सक्रिय सिन्डिकेट र बिचौलियाहरूको राज समाप्त गर्ने घोषणा गरियो र सोझासीधा जनताले अति उत्साही भएर त्यसको स्वागत गरे । तर परिणाम ? यातायातको सिन्डिकेट समाप्त गर्न लागिपरेको राष्ट्रसेवकलाई रेलको काम नलाग्ने डिब्बा बनाई सिन्डिकेटधारीलाई उन्मुक्ति मात्र होइन, संरक्षणसमेत दिइयो । निर्माण क्षेत्रको लुटतन्त्रको सिन्डिकेट समाप्त गर्ने प्रयास गरे गृहमन्त्रीले, तर नदीहरूको गिटी, बालुवादेखि सडक निर्माणजस्ता यावत् क्षेत्रका सिन्डिकेटधारीको संरक्षणमा लागे मन्त्रीदेखि नेतासम्म ।

तस्करतन्त्रविरुद्ध शून्य सहनशीलताको डंका पिटियो । सुन तस्करी काण्ड अगाडि आयो । तर त्यहाँ पनि तस्करहरूको सुरक्षाका लागि तत्पर बसेका र महाजालमा अटाउन नसक्ने माछाहरूको सेनासामु गृहमन्त्रीले झुक्नु मात्रै परेन तिनकै दबाबमा त्यसलाई कलात्मक ढंगले सामसुम पार्ने बाटो खोज्न बाध्य भए । तरकारी बजारका माफियाहरूको संरक्षण होस् वा म्यानपावरका दलालहरूको सिन्डिकेटको संरक्षण, राजस्व छली अथवा आयल निगम काण्ड आदिमा राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रको संगठित सिन्डिकेट सबैले बुझ्ने गरी देखियो । एक शब्दमा भन्ने हो भने जताततै सत्ताधारी पार्टीका तलदेखि माथिसम्मका शासनाधीश नेता तथा कार्यकर्ताको फौज यो अथवा त्यो रूपमा संलग्न छन् र सत्ताशक्तिको आडमा तिनको संरक्षणमा उभिएको देखिन्छन् ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा सत्तासीन पार्टीका राष्ट्रिय नेतृत्वदेखि तलसम्मका नेताको माफियातन्त्रसँगको गठजोडको साक्षी डा. गोविन्द केसीको पटकपटकको अनुशासन हो । यस क्षेत्रमा माफियाहरूको पकड समाप्त गरी सर्वसुलभ, जनमुखी र क्षेत्रीय सन्तुलनसहितको शिक्षा तथा स्वास्थ्य नीतिका लागि डा. केसीले एउटा सचेत नागरिकको हैसियतले आवाज उठाए, तर त्यस आवाजविरुद्ध तत्कालीन एमाले र माओवादी पार्टीदेखि तिनको वर्तमान सरकारसम्म अभेद्य पर्खाल बनी उभिए र वर्तमान सरकार त्यस आवाजलाई सधैंका लागि बन्द गर्न उद्यत् देखिन्छ । अनशनरत डा. केसीको गैरकानुनी गिरफ्तारी र प्रशासनिक घेरामै मर्नुपर्ने अवस्था उत्पन्न भइरहेको देखिन्छ ।

डा. केसीले संविधानप्रदत्त अधिकार प्रयोग गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा व्याप्त भ्रष्टाचार र माफियाहरूको पकड समाप्त गरी जनताका लागि स्वास्थ्य र शिक्षा सुलभ हुनुपर्छ भन्ने जनपक्षीय आवाज हो । आज कम्युनिस्ट पार्टीको एकलौटी सरकार छ र यो माग पूरा गर्नु सर्वोपरि प्राथमिकताको विषय हुनुपर्ने हो । तर सरकारले त्यो आवाज दबाउन पासो थापेको सबैसामु छर्लंग छ । डा. केसी जेलमा अनशनरत छन् । थाहा छैन यसपटक तिनको नियति के होला ? तर यति निश्चित छ– त्यसबाट वर्तमान सरकारलाई कुनै आत्मग्लानि हुने छैन ।

निरपराध मारिएको आफ्नो छोरालाई न्यायको माग गर्दै गंगामाया अनशनरत छन् । अनशनमै मृत्युवरण गरेका उनका पतिको लास न्याय पर्खिंदै शिक्षण अस्पतालमा सड्दै छ । तिनले अहिलेसम्म न्याय पाएकी छैनन्, किनकि त्यस हत्यामा माओवादी कार्यकर्ता संलग्न छन् । बालकृष्ण ढुंगेल जेलमुक्त गरिए । अदालतका फैसलालाई सत्ता र शक्तिको बलमा लत्याई निमुखाहरूलाई निमोठ्नेहरूले भन्ने गरेको न्यायिक समाज, कानुनी राज्य, निष्ठाको राजनीतिलाई कुनै पनि परिभाषाले समेट्छ र ?       

निष्ठा र नैतिकताको परख गर्न एउटै उदाहरण काफी छ, त्यो हो सांसद कोषका लागि सत्ताधारी पार्टीका सांसदहरूको संघर्ष । सर्वविदित छ संसद् कोष निर्माणमा होइन, टाठाबाठा कार्यकर्ताको मुख टाल्न र सांसदहरूको खल्ती भर्न प्रयोग गरिँदै आएको हो र यसविरुद्ध जनस्तरबाट प्रमाणसहित आवाज उठ्दै आएको हो । यसपटक अर्थमन्त्रीले राज्यकोषको यस्तो दुरुपयोग समाप्त गर्ने प्रयास गरे । तर मन्त्रीका त्यस कदमको सबभन्दा बढी चर्को विरोध सत्तापक्षका सांसदहरूले कुन रूपमा गरे, सर्वविदित छ ।

संसदीय प्रणालीमा सरकार प्रधानमन्त्रीको हुन्छ र उसको नीति तथा निर्देशनविपरीत कुनै पनि मन्त्रीले काम गर्न सक्दैन, अन्यथा या त मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ अथवा प्रधानमन्त्रीले निष्कासन गर्नुपर्छ । तर यहाँ मन्त्रीहरूद्वारा खुलमखुला भ्रष्टाचारी, तस्कर, कालाबाजारीया तथा विभिन्न क्षेत्रका सिन्डिकेटधारीको संरक्षण भइरहेको छ । माथिल्लो तहका नेतादेखि कार्यकर्तासम्म त्यसमा संलग्न छन् ।

सम्पूर्ण कार्यकर्ता तथा नेतृत्वपंक्ति यस्तै चरित्रको छ भन्ने होइन । राम्रा र नैतिकवान्, निष्ठावान् र समर्पित व्यक्ति त्यहाँ छन् । तर ती असक्त छन् र सत्ताशक्ति आम कार्यकर्ताका हातमा होइन, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष खड्ग ओलीका हातमा छ । यस्तो अवस्थामा सरकार तथा पार्टीको नीति, निष्ठा तथा नैतिकतामाथि जनस्तरबाट शंका व्यक्त हुनु अस्वाभाविक होइन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.