विश्वकपले लिन सक्छ ज्यान
हिजोआज सामाजिक सञ्जालका भित्ताहरू विश्वकप फुटबलसम्बन्धी समाचार, अनुमान र कार्टुनले भरिएका छन्। सर्वसाधारणदेखि समाजका लब्धप्रतिष्ठितले समेत आआफ्नो समर्थनको टिम र खेलाडीबारे लेख्ने, राख्ने र अद्यावधिक गर्ने गरेका छन्। विश्वकपको रापले सिंगो विश्वलाई खर्लप्पै ढाकेकोे छ। फुटबललाई सामान्य मनपराउनेदेखि यसमा मरिहत्ते गर्नेसम्मका फ्यान छन्। यो क्रम अझै एक सातासम्म रहनेछ। फुटबलको नशामा समय, आफ्नो नियमित काम र स्वास्थ्य बर्बाद पार्नेहरू प्रशस्तै छन्।
विश्वकप खेल हेर्दै मुटुका लागि खतरनाक मसालेदार खाना, रक्सी र चुरोटको अत्यधिक उपयोग गर्ने गरेको विभिन्न खोजले जनाएका छन्।
खेल जित्ने-हार्ने तनावले हृदयगति बढिरहेको बेलामा यस्ता खाद्यान्नले हृदयाघातलाई मसलाको काम गर्छ। मद्यपानको अधिक सेवनले सडक दुर्घटना, असुरक्षित यौनसम्पर्क र हिंसा बढ्छ। फुटबलप्रेमीका लागि विश्वकप परिवार र साथीहरूसँग मोजमज्जा गर्ने माध्यम हुन सक्छ, तर हृदयाघात, मस्तिष्काघातदेखि असुरक्षित यौन, दुर्घटना, आत्महत्या, घरेलु हिंसा तथा बिरामी र मृत्युसमेत बन्न सक्छ भन्नेमा सचेतना नभएको हैन। विस्तारै बिरामी, अस्पताल भर्ना र आत्महत्यासम्मका खबर पनि आउन थालेका छन्।
खेलकुद र मस्तिष्क
खेल हेर्दा मस्तिष्कले आफूलाई खेलाडीको स्थानमा भएको महसुस गर्दछ। शारीरिक रूपमा खेल नखेले पनि दिमागले भने खेलिरहेको हुन्छ। चाहेको टिम र खेलाडीले जित्दा वा राम्रो गर्दा न्युरो ट्रान्समिटर डोपामिनले संवेगात्मक दायित्व प्रवाह गरी आनन्द भएको महसुस गराउने गर्दछ। यसको उल्टो हामी दुःखी हुँदा स्ट्रेस हर्माेन कार्टिजोल उत्पादन हुन्छ। समर्थित देश वा टोली र खेलाडीले खेल्दा भावनात्मक उत्तेजित भई एड्रानिलिन बढाउँछ, जसले मुटुको गति, धड्कन, रक्तचाप बढाइदिन्छ, रक्तनली साँघुरो भई हृदयगतिमा गडबडी आई समर्थकमा हृदयघातसम्म हुन सक्छ।
तनावपूर्ण भएर खेल हेर्ने बानीले हृदयाघात हुने सम्भावना कम्तीमा दुई गुणाले बढ्छ। महिलामा दुई गुणा बढी तथा पुरुषमा तीन गुणा बढी हृदयाघात देखिएको थियो।
नियमित लगातार खेल हेर्ने बानीले मस्तिष्कका विभिन्न भाग सक्रिय हुने वा मस्तिष्कको न्युरो प्रणालीमै सकारात्मक असर पर्छ। सन् २००८ मा भएको एक अध्ययनअनुसार खेल हेर्ने बानी भएका मानिसमा भाषामा समेत सुधार आएको देखियो। अझ खेल हेरेर मानिसको सोच्ने र दृश्यावलोकन गर्ने क्षमतामा समेत सुधार हुन्छ।
कट्टर समर्थक बन्दा
कैयौं समर्थक कुनै अमूक टोली वा खेलाडीप्रति मरिहत्ते गर्ने खालका हुन्छन्, जसको समयको बर्बादी, कार्यनाश त हुन्छ नै स्वास्थ्यमा समेत गम्भीर समस्या निम्त्याउँछ। विश्वकपले मनोरञ्जनसँगै डरलाग्दो समस्या निम्तिन सक्छ। आफ्नो मनपरेको टिम र खेलाडीले खेल जितोस् भन्ने चाहनासँगै कतै तपाईं अस्पताल पुग्ने तयारी त गरिरहनुभएको छैन ?
सन् २००६ मा जर्मनमा भएको विश्वकपका फुटबलप्रेमीमाझ गरिएको अध्ययन ‘न्यु इङल्यान्ड जर्नल अफ मेडिसिन’ मा प्रकाशित भएको छ। उक्त शोधपत्रानुसार तनावपूर्ण भएर खेल हेर्ने बानीले हृदयघात हुने सम्भावना कम्तीमा दुई गुणाले बढ्छ। महिलामा दुई गुणा बढी तथा पुरुषमा तीन गुणा बढी हृदयाघात देखिएको थियो। महिलाभन्दा पुरुषमा हृदयाघातको सम्भावना त्यसै पनि बढी हुन्छ। पहिलेदेखि नै मुटुसम्बन्धी रोग भएकामा त विश्वकप जस्ता लत घातकसिद्ध भएका छन्।
सन् २०१० मा अमेरिकी जर्नल अफ मेडिसिनमा प्रकाशित खोजमा प्रमुख खेल भएका बेला तत्कालै कार्डियोभ्यास्कुलरका घटना र मृत्युदर बढेको देखाएको थियो। प्रायः फुटबल समर्थक टीभीमा खेल हेर्दा गोल मिस गर्दा वा विपरीत टिमले गोल गर्दा कराउँछन्। उनीहरूमा हृदयाघात भएको पाइएको थियो। त्यस्तै समर्थकहरूमा पटकपटक उत्पन्न भइरहने भावनात्मक साइकोलोजिकल ट्रिगर, तनाव, दिक्दारी र रिसले हृदयाघात बनाउन सक्छ।
आँखाको स्ट्रोक
आँखाको नानीका साना रक्तनली बन्द हुने रोग आँखाको स्ट्रोक (रेटिनल भेन अक्लुजन) हो। यो रोग मुटुरोगीमा बढी देखिन्छ। सन् २०१४ को विश्वकपपछि जर्मनीको एक आँखा अस्पतालमा गरिएको अध्ययनले आँखाको स्ट्रोकका रोगी बढेको देखाएको थियो। यसको मुख्य कारण थियो, विश्वकपका बेला आँखामा पर्ने भावनात्मक दबाब।
आँखाको स्ट्रोकबाट जोगिन रगत पातलो बनाउने औषधि एस्प्रिन उपयोग गर्नुपर्दछ। त्यस्तै बोसोयुक्त खानेकुरा, मद्यपान, लागूपदार्थ सेवन गर्नु हुँदैन। प्रशस्त पानी पिउने, बीचबीचमा खाजा खाने गर्नुपर्दछ। तर खाजा भने स्वास्थ्यमैत्री हुन जरुरी छ। स्वास्थ्यमैत्रीको अर्थ हो, बोसोरहित र कम क्यालोरीको। त्यस्तै खेल हेरिरहँदा हरेक आधा घन्टामा उठेर यताउता टहल्ने गर्नुपर्छ।
डिप्रेसनदेखि आत्महत्या
चाहेको टोली, देश, खेलाडी पराजय हुँदा डिप्रेसनमा जानेदेखि आत्महत्या गर्नेसम्मका घटना हुने गरेको छ। सन् २००७ को विश्वकप क्रिकेटमा भारतले श्रीलंकासँग हारेपछि पश्चिम बंगालमा एक जोडीले आत्महत्या गरेका थिए। हैदराबादमा एक कट्टर समर्थकको हृदयाघातका कारण निधन भएको थियो। अहिले पनि अर्जेन्टिनाले पराजय भोगेपछि तथा मेसीले पेनाल्टी सफल पार्न नसकेपछि भारतका एक समर्थकले पानीमा हाम फालेर आत्महत्या गरेका थिए।
मनपरेकाले राम्रो गर्दा अहम् भाव पैदा गर्ने हर्माेन टेस्टोस्टेरोन बढ्छ भने हार्दा घट्छ। समर्थकहरू उत्तेजित भई दंगा हुन सक्छ। सन् २०१२ मा विश्वकपका बेला स्पेनिसहरूमा गरिएको अध्ययनले फ्यानहरूमा तनाव वृद्धि हने प्रस्ट्याएको छ। घरेलु टोलीका समर्थकहरूमा तनावको प्रमुख कारकतत्व कार्टिजोल र टेस्टोस्टेरोनको मात्रा बढी पाइएको थियो।
विश्वकपका बेला घरेलु हिंसा पनि बढ्ने गरेको लेनकास्टर विश्वविद्यालयले सन् २००२, २००६ र २०१० ताका गरेको खोजले देखाएको छ। बेलायतले हार्दा ३८ तथा जित्दा २६ प्रतिशतले हिंसा बढेको देखाएको छ। अर्काे खोजमा बेलायतमा घरेलु दुव्र्यवहार खेल जित्दा २७.७ र हार्दा ३१.५ प्रतिशतले बढ्ने गरेको देखाएको छ। सन् २०१३ को खोजले सन् २००२, २००६ र २०१० को विश्वकपमा भएको अध्ययनमा बेलायतमा घरेलु हिंसा खेल बराबरी हँुदा २६ प्रतिशतले र पराजयमा ३८ प्रतिशतले बढेको देखाएको थियो।
सन् २००६ को विश्वकप समापनको नौ महिनापछि जन्मदर पहिलेभन्दा ३० प्रतिशतले बढेको थियो। आइसल्यान्डले सन् २०१६ मा युरोकप जितेपछि त जन्मदर वृद्धिको रेर्कड नै ब्रेक भएको थियो। त्यसैले आउने वर्ष रसिया, जर्मनी हँुदै विश्वको जनसंख्या बढेमा अनौठो मान्नु पर्दैेन।
खेल मनोरञ्जनका लागि खेलिने र हेरिने हो। आफूले मनोरञ्जन गर्दा वा लिँदा अरूको शान्तिपूर्वक बाँच्न पाउने अधिकारको पनि सम्मान गर्न जरुरी छ। खेल खेलकै रूपमा हेर्न र खेल्न पर्दछ। अत्यधिक लगावले तत्काल र दीर्घकालीन स्वास्थ्य समस्या मात्र नभई ज्यानै जान सक्ने तथ्यमा हामी सबै सचेत रहनुपर्दछ।
- न्याम्सका सहप्राध्यापक डा. बुढाथोकी वरिष्ठ कन्सल्ट्यान्ट डेन्टल सर्जन हुन्।