ललितपुरको दोस्रो नगरसभा : बजेट अघिल्लो वर्षको भन्दा दुई सय प्रतिशत बढी
ललितपुर : ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को लागि ४ अर्ब ६० करोड ७२ लाख ७८ हजारको बजेट विनोयजन गरेको छ । नगरप्रमुख चिरीबाबु महर्जनले सोमबार भएको दोस्रो नगरसभामा २०७५/०७६ को उक्त बजेट प्रस्तुत गरेका हुन् ।
नगरप्रमुख महर्जनल प्रस्तुत गरेको बजेट अघिल्लो आर्थिक वर्षको भन्दा दुई सय प्रतिशत बढी आकारको छ । ललितपुर महानगरपालिकाका बजेट महाशाखाका प्रमुख डिल्लीराज शाक्यले चालु आर्थिक वर्षको बजेट गत वर्षको भन्दा दुई सय प्रतिशत ठूलो भएको जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्ष ०७४/७५ मा महानगरले एक अर्ब २० करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । त्यस्तै ०७३/७४ मा ३१ करोड ६८ लाख ७२ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो ।
यो वर्ष प्रत्येक वडाका लागि एक देखि डेढ करोडसम्म बजेट छुट्याइएको छ । तर ०७४/७५ मा वडाहरूले ५० लाख रुपैयाँ मात्र बजेट पाएका थिए आव ०७३/७४ मा २० देखि ३० लाख रुपैयाँ मात्रै दिइएको थियो
यो वर्ष ललितपुर महानगरपालिकाले एक अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको हो । असार मसान्त सम्ममा ६० करो सम्म उठ्न सक्ने अनुमान गरिएको राजश्व महाशाखाका प्रमुख शाक्यले जानकारी दिए ।
महानगरको बजेटमा भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षालाई प्राथमिकताको सूचीमा राखेको छ । ललितपुरका अन्य नगरपालिका तथा गाउँपालिकाले भने यस अघि नै बजेट प्रस्तुत गरिसकेका छन् ।