तामाकोशी आयोजनाको गाडी संघर्ष समितिको कब्जामा
दोलखा : माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको गाडी सेयर संघर्ष समितिका पदाधिकारीले सोमबार कब्जामा लिएका छन्।आयोजनाको बा ९ च ९३६९ नम्बरको टोयोटा हाईलक्स गाडीलाई सदरमुकाम चरिकोटको सातदोबाटोबाट सोमबार करिब सवा २ बजे संघर्ष समितिले कब्जामा लिएको हो।
चरिकोट बजारबाट आयोजनाको सबस्टेसन जान लागेको गाडीको चाबी संघर्ष समितिका संयोजक बर्मा लामाले खोसेको दोलखा प्रहरीले जनाएको छ। संघर्ष समितिले आयोजनाले जारी गरेको सेयरको वर्गीकरण अवैज्ञानिक रहेको, आयोजनामा भएको भ्रष्टाचारको छानबिनलगायतका माग राख्दै आन्दोलन गरिरहेको छ।
कब्जामा लिए लगत्तै संयोजक लामासँगबाट प्रहरीले गाडी र चाबी नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय चरिकोटमा राखेको छ। आयोजनाका पदाधिकारीलाई गाडी जिम्मा लगाउने प्रहरीले जनाएको छ।