विश्वकप महाकुम्भका आश्चर्य लाग्ने फरक प्रसंग
मस्को : रुस विश्वकप अन्त्यतिर आइपुग्दा खेलको बढ्दो रोमाञ्चकसँगै यस्ता धेरै रोचक घटना सार्वजनिक भएका छन्, जसले सुन्नेहरूलाई आश्चर्यमा पार्ने छ । तर, घटनामा संलग्न हुनेहरू भने दण्डको भागीदार बनेका छन् । युरोपेली टोली क्रोएसियाले बुधबार दोस्रो सेमिफाइनल खेलमा इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । यद्यपि क्रोएसिया अनौठो कारणले फिफाको आर्थिक कारबाहीमा परेको छ । क्रोएसियाका खेलाडीले खेलका क्रममा मैदानमा फिफालाई पेयपदार्थका लागि प्रायोजन गरेको भन्दा फरक कम्पनीको पेयपदार्थ पिएपछि दण्डित हुनु परेको हो ।
यस्तै घटना स्विडेनसँग पनि जोडियो । स्विडेनका खेलाडीहरूले विश्वकपको खेलका क्रममा फिफाद्वारा स्विकृत नगरिएको मोजा लगाएका कारण दण्डित हुनुप¥यो । यी दुवै घटनामा फिफाको अनुशासन समितिले स्विडेन र क्रोएसियालाई समान ७० हजार स्विस फ्राङ्क जरिबाना लगाएको छ । सामान्यजस्ता लाग्ने यी घटनाले सबैलाई आश्चर्य बनाएको हुनुपर्छ, यद्यपि फिफाले विशेष कारणले यस्ता घटनामा कारबाही गर्ने गरेको छ ।
फिफाले विश्वकपका लागि हरेक कुरामा आफ्नो छुट्टै प्रायोजक खोज्ने गर्छ । सहभागी टोलीहरूले खोजेको प्रायोजकको उत्पादन प्रयोग गर्न पनि फिफाबाटै अनुमति लिएको हुनुपर्छ । आफ्नो स्विकृतिबिनाको व्यवहारलाई फिफाले कारबाहीको दायरामा ल्याउने गर्छ । रुस विश्वकपका यस्ता रोचक घटना यही रोकिँदैन । एक रुसी समर्थकले मैदानमा ‘नियो–नाजी ब्यानर’ देखाएपछि रुसी फुटबल संघ कारबाहीमा परेको छ । फिफाले यो घटनामा रुसी फुटबल संघलाई १० हजार स्विस फ्राङ्क जरिबाना लगाएको छ । फिफाले मैदानमा समर्थकको गलत व्यवहारमा सम्बन्धित फुटबल संघलाई कारबाही गर्ने गर्दछ ।
फिफाको अनुशासन समितिका लागि कठिन समय त्यतिबेला आयो जतिबेला समर्थकलाई कारबाही गरिसकेपछि महान् फुटबलर डिएगो म्याराडोनाको पालो आयो । फिफाको सद्भावना दूतका रूपमा दैनिक भत्ता लिएर रुस पुगेका म्याराडोनाले स्टेडियमकै प्यारापिटमा सिगार तानेका थिए । अनुशासन समितिले यो घटनामा कुनै निर्णाय सार्वजनिक गरिसकेको छैन, तर यो घटनाको विषयमा फिफाले के निर्णय गर्छ भन्ने विषयमा धेरैको चासो बढेको छ । यसैगरी म्याराडोना रेफ्रीको विषयमा अनावश्यक टिप्पणी गरेर पनि चर्चामा आएका थिए । उनले रेफ्रीको आलोचना गरेपछि फिफाले उनलाई सचेत गराएको थियो । त्यसपछि उनले पनि आफ्नो गल्ती सच्याएका थिए ।
खेलकुद कानुनका विज्ञ जेम्स किचिङ फिफाले प्रायोजनसँग जोडिएका घटनालाई बढी आर्थिक जरिबाना लगाउने गरेको बताउँछन् । ‘व्यापारिक वा व्यावसायिक घटनासँग जोडिएका यस्ता घटनामा फिफाले ठूलो आर्थिक जरिबाना लगाउने गर्दछ’, एसियाली फुटबल महासंघ (एएफसी) मा खेलकुदको कानुनी मामला विभागका पूर्वप्रमुख किचिङ भन्छन्, ‘किनभने विश्वकपजस्ता ठूला प्रतियोगितामा फिफा यस्तै प्रायोजनमा बढी निर्भर रहने गर्छ ।’
फिफाले क्रोएसिया र स्विडेनलाई आगामी खेलमा यस्तो व्यवहार दोहो¥याएमा थप ७० हजार स्विस फ्राङ्क जरिबाना लगाउने चेतावनीसमेत दिएको छ । फिफाले यसअघिका विश्वकपमा समेत यस्ता घटनामा कडाइका साथ व्यवहार गर्ने गरेको छ । सन् २०१० को विश्वकपको क्रममा समेत फिफाले आफ्नो प्रायोजकबाहेक अन्य उत्पादन प्रयोग गर्ने खेलाडी वा पदाधिकारीमाथि निक्कै कडाइ गरेको थियो । कुनै पनि प्रायोजन नगरेको पेयपदार्थ उत्पादक कम्पनी बुडवेजरले खेलको क्रममा आफ्नो उत्पादनसँग मिल्ने रङको कपडा लगाएका युवतीहरूलाई स्टेडियम पठाएपछि फिफाले कारबाहीको चेतावनी दिएको थियो ।