खेलाडीले खेलमा रूस र युक्रेनको राजनीति जोडेपछि विवादित

खेलाडीले खेलमा रूस र युक्रेनको राजनीति जोडेपछि विवादित

मस्को : जारी विश्वकपमा अविश्वासिलो प्रदर्शन गर्दै क्रोएसिया सेमिफाइनलमा पुगिसकेको छ । समूहगत चरणको तीनवटै खेलमा जित हात पार्दै विजेता बनेको क्रोएसियाले प्रिक्वार्टरफाइनलमा डेनमार्कलाई र क्वार्टरफाइनलमा आयोजक रुसलाई हराएर आफ्नो क्षमताको परिचय दिइसकेको छ । क्रोएसियाले सेमिफाइनलमा भने बुधबार सन् १९६६ को विश्वकप विजेता इङ्ल्यान्डको सामना गर्दैछ ।

तर, यतिबेला सेमिफाइनल खेलको अन्तिम तयारीमा व्यस्त क्रोएसिया आफ्ना खेलाडीको व्यवहारका कारण आलोचित बनेको छ । खेलाडीले अनुशासन मिचेर खेलमा राजनीतिलाई मिसाउन खोजेपछि यतिबेला सामाजिक सञ्जालहरूमा समर्थकदेखि लिएर खेल पदाधिकारीसम्मले क्रोएसियाको आलोचना गरेका छन् । रुसविरुद्घको खेलमा जित हात पारेपछि क्रोएसियन टोलीका डिफेन्डर डोमागोज भिडाले ‘यो जित युक्रेनको गौरवका लागि’ भन्ने अभिव्यक्ति दिएका थिए ।

डिफेन्डर भिडाको उक्त अभिव्यक्तिसहितको भिडियो नै अहिले आलोचनाको विषय बनेको हो । विश्व फुटबल महासंघ (फिफा) ले पनि भिडाले खेलमा राजनीतिक विषयलाई प्रवेश गराएर अनुशासन उल्लंघन गरेको जनाउँदै क्रोएसियन फुटबल संघ र भिडालाई चेतावनी दिएको छ । भिडाले रुसविरुद्घको खेलमा गोलसमेत गरेका थिए । भिडाभन्दा अघि क्रोएसियाका पूर्वखेलाडी ओग्जेन भुकोजेभिचले पनि रुसविरुद्घको जित ‘डाइनामो र युक्रेनका लागि’ भन्ने अभिव्यक्ति दिएका थिए ।

खेल चलिरहेको बेला भुकोजेभिचले ‘यो जित डाइनामो र युक्रेनका लागि ...अघि बढ क्रोएसिया’ भन्दै खेलाडीलाई हौंस्याएका थिए । यस्तो अभिव्यक्तिसहितको भिडियो सार्वजनिक भएपछि थुप्रै रुसी नागरिकले खेलमा राजनीतिक विषयलाई प्रवेश गराउन खोजिएको भन्दै सामाजिक सञ्जालहरूमार्फत आपत्ति जनाएका थिए । भिडा र भुकोजेभिच दुवैजना युक्रेनी क्लब डाइनामो किभबाट व्यावसायिक फुटबल खेल्छन् ।

रुसविरुद्घको क्वार्टरफाइनल खेलको अतिरिक्त समय (१०१औं मिनेट) मा गोल गरेका भिडाले पेनाल्टी सुटआउटमा पनि गोल गरेका थिए । पेनाल्टी सुटआउटमा क्रोएसियाले रुसलाई ४-३ गोलले हराएको थियो । ‘खेलाडीले अनुशासन उल्लंघन गरेको विषयलाई लिएर फिफाको अनुशासन समितिले क्रोएसियन फुटबल संघ र भिडालाई चेतावनीसहितको पत्र पठाइसकेको छ’, फिफाले भनेको छ।

भिडाले भने फुटबललाई राजनीतिसँग जोड्ने आफ्नो कुनै उद्देश्य नरहेको दाबी गरेका छन् । ‘मैले फुटबलमा राजनीति मिसाउन खोजेको होइन । मैले डाइनामो किभका साथीहरूसँग सामान्य ठट्टामात्र गर्न खोजेको हुँ’, भिडाले एक रुसी पत्रिकासँगको कुराकानीमा भनेका छन्, ‘म रुसी नागरिकलाई माया गर्छु र म युक्रेनी नागरिकलाई पनि माया गर्छु ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.