सेमिफाइनलको पहिलो खेलमा फ्रान्स र बेल्जियमको अग्नि परीक्षा: कसले मार्ला बाजी?
मस्को : जारी विश्वकपको मंगलबार हुने पहिलो सेमिफाइनल खेलमा पूर्वविजेता फ्रान्स र पछिल्लो समय उच्च लयमा देखिएको बेल्जियम एकआपसमा भिड्दै छन् । फ्रान्सले १२ वर्ष र बेल्जियमले ३२ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनल खेलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । जारी विश्वकपमा सुरुबाटै सशक्त प्रदर्शन गरेका फ्रान्स र बेल्जियम दुवै टोली यस पटक उपाधिको प्रमुख दाबेदार टोली हुन् ।
सन् १९९८ मा आफ्नै देशमा भएको विश्वकपको उपाधि जितेको फ्रान्सले यसपटक २० वर्षअघिको त्यही इतिहास दोहोर्याउने उद्देश्य लिएको छ । सन् १९८६ मा चौथो स्थान हात पार्नुबाहेक विश्वकपमा गतिलो नतिजा निकाल्न नसकेको बेल्जियम भने यस पटक उपाधि जित्दै नयाँ इतिहास रच्ने दाउमा देखिएको छ । फ्रान्स र बेल्जियमको यही दुई उद्देश्यबीचको प्रतिस्पर्धाले मंगलबारको खेल दर्शकका लागि सोचेभन्दा उच्चस्तरको हुने निश्चित छ ।
यद्यपि आफ्नो उपाधिको लक्ष्य पूरा गर्न यी दुवै टोलीसामु बलियो प्रतिद्वन्द्वीले दिने मुस्किल चुनौतीलाई पन्छाउनुको विकल्प हुने छैन । फ्रान्सले आफ्नो गर्विलो इतिहासबाट प्रेरणा लिन सक्छ भने बेल्जियमले आफ्नो बलियो वर्तमानबाट उत्साह जुटाउन सक्छ । बेल्जियमसामु फ्रान्सलाई पूर्वविजेता हुनुको गर्व छ । यसैगरी, बेल्जियमलाई अहिलेको फिफा वरीयतामा फ्रान्सभन्दा अगाडि रहनुको खुसी छ ।
रुस विश्वकपको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको फिफा वरीयतामा बेल्जियम तेस्रो स्थानमा छ भने फ्रान्स चार स्थानपछि सातौं स्थानमा आसिन छ । त्यसबाहेक यी दुवै टोली जारी विश्वकपमा प्राविधिक र रणनीतिक रूपमा पनि सशक्त देखिएका छन् । दुवै टोली रक्षापंक्ति, मिडफिल्ड र अग्रपंक्ति सबैमा सन्तुलित देखिएका छन् । फ्रान्समा पल पोग्बादेखि एन्टोइन ग्रिजम्यान, केलियन एमबाप्पे र ओलिभर गिरोडको जोडी जम्दा बेल्जियममा रोमेलु लुकाकू, केभिन डे ब्रुन, इडेन हाजार्ड र गोलरक्षक थिबाउट कोर्टियसको जोडी पनि खुबै चम्किएको छ।
यसैगरी मिडफिल्डमा फ्रान्सका लागि पोग्बा र बेल्जियका लागि हाजार्डको सृजनात्मक खेलले दुवै टोली नियमित रूपमा गोलका राम्रा अवसर सिर्जना गर्न सफल देखिएका छन् । त्यही अवसरमा ग्रिजम्यानको उत्कृष्ट प्रदर्शन र एमबाप्पेको रफ्तारले फ्रान्सेली टोली खेलको नतिजा आफ्नो पक्षमा पार्न सफल देखिएको छ । अर्कोतिर डे ब्रुन र लुकाकूको जोडीले पनि हालसम्म प्राप्त कुनै पनि अवसर खेर जान दिएका छैनन् ।
इङ्लिस क्लब चेल्सीका अनुभवी गोलरक्षक कोर्टियसले विपक्षीको राम्रा प्रहारलाई पनि सहजै असफल बनाउने गरेका छन् । मंगलबार यिनै खेलाडीले गर्ने प्रदर्शनले यी दुई टोलीको जित र हार तय हुने पक्का छ । फुटबलका परम्परागत प्रतिद्वन्दी फ्रान्स र बेल्जियमबीच विगतमा भएको प्रतिस्पर्धाको नतिजाले समेत मंगलबारको खेल प्रतिस्पर्धात्मक हुने संकेत गरेको छ ।
विश्वकप फुटबलमा हालसम्म यी दुई टोलीबीच दुई पटक भेट हुँदा दुवै पटक फ्रान्सले जित हात पारेको छ । धेरै पहिले सन् १९३८ र सन् १९८६ को विश्वकपमा बेल्जियमविरुद्ध प्रतिस्पर्धा गर्दा नतिजामा फ्रान्स हाबी भएको थियो । यद्यपि समग्रमा भने बेल्जियमले बढी खेल जितेको छ । हालसम्म यी दुई टोलीबीच सबै प्रतियोगितामा गरी ७४ खेल भएका छन्, जसमा बेल्जियमले ३० र फ्रान्सले २४ खेल जितेका छन् । बाँकी २० खेल भने बराबरीमा टुंगिएका छन् । बेल्जियमले जारी प्रतियोगितामा अहिलेसम्म खेलिएको सबै खेलमा जित हात पार्दै सेमिफाइनलको यात्रा तय गरेको हो भने फ्रान्सले पनि यहाँसम्म आइपुग्न आफूलाई अपराजित राखेको छ ।
विगतमा दुई टोली
कुल खेल : ७४
बेल्जियम विजयी : ३०
फ्रान्स विजयी : २४
बराबरी : २०