विश्वकप : आजका खेलमा प्रभाव पार्न सक्ने खेलाडी
राफेल भारान (फ्रान्स)
राफेल भारान फ्रान्सेली टोलीका मुख्य रक्षक हुन् । यद्यपि टोलीमा उनको जिम्मेवारी रक्षकको भूमिकामा मात्रै सीमित छैन । जारी रुस विश्वकपमै पनि उनले टोलीका लागि एकभन्दा बढी भूमिका निर्वाह गरेका छन् । क्वार्टरफाइनल चरणको खेलमा बलियो प्रतिद्वन्द्वी उरुग्वेविरुद्ध प्रतिस्पर्धा गर्दा फ्रान्सलाई २-० ले विजयी बनाउन भारान आफैंले गोलसमेत गरेका छन् । टोलीको दुईमध्ये पहिलो गोल उनै भारानले गरेका थिए ।
एन्टोइन ग्रिजम्यानको क्रसमा भारानले हेडिङ गोल गरेपछि फ्रान्स जिततर्फ अग्रसर बनेको थियो । यही क्षमताले नै उनलाई पछिल्लो झन्डै ६ वर्ष यता फ्रान्सेली टोलीको महत्वपूर्ण सदस्यका रूपमा स्थापित गराएको छ । उनी हुँदा टोलीको रक्षापंक्ति निक्कै सशक्त रहनेगर्छ । कुनै पनि टोलीका स्ट्राइकरलाई भारान र उनी नेतृत्वको फ्रान्सेली रक्षापंक्तिलाई पछि पारेर गोल गर्न मुस्किल हुने गर्छ ।
उनी आफ्नो रक्षापंक्तिमै मात्र पनि सीमित रहँदैनन् । उनी आफ्नो मिडफिल्डर र स्ट्राइकरलाई सहयोग गर्न अघि बढेर विपक्षीको पोस्टसम्मै पुग्छन् । त्यसमा कतिपय अवस्थामा गोल नै गरेर फर्कन्छन् । सन् २००६ मा उपविजेता हुँदै घर फर्किएको १२ वर्षपछि फ्रान्सले फेरि फाइनल खेल्दै उपाधि जित्ने योजना बनाउँदा त्यो योजना सफल बनाउन उनै भारानले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
मैदानमा खेलाडीका साथसाथै नेतृत्वको हिसाबले पनि उनको उपस्थिति महत्वपूर्ण हुने गर्छ । उनी मैदानमा लिनुपर्ने निर्णयका लागि कप्तान ह्युगो ल्होरिसका मुख्य सल्लाहकार जस्तै हुन् । त्यसैलै सन् २०१२ मा राष्ट्रिय टोलीमा डेब्यु गरे यता भारान नियमित जस्तै टोलीका उपकप्तान रहँदै आएका छन् । राष्ट्रिय टोलीबाट ४७ खेल खेलेका भारानले तीन गोल समेत गरेका छन्।
मिची बात्सुई (बेल्जियम)
पछिल्लो समय अन्तर्राष्ट्रिय फुटबललाई एकसेएक प्रतिभा उपलब्ध गराइरहेको बेल्जियमको अर्को प्रतिभाशाली खेलाडी हुन् बिची बात्सुई, जो टोलीले ३२ वर्षपछि विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गर्दाका महत्वपूर्ण सदस्य बनेका छन् । मैदानमा रहँदा टोलीलाई विजयी बनाउन सधैं गोलको खोजीमा रहने बात्सुई लामो प्रहारमा गोल गर्न माहिर छन् ।
विपक्षी रक्षकलाई छक्याएर बलसहित अघि बढ्न सक्ने उनी टोलीका लागि आवश्यक परेको समयमा गोल निकाल्न सक्षम देखिन्छन् । जारी प्रतियोगितामा बेल्जियमले पाँचवटा खेल खेल्दा उनले दुई खेलमा मात्रै अवसर पाएका छन् । त्यसमध्ये समूहगत चरणमा इङ्ल्यान्डविरुद्धको अन्तिम खेलमा उनले पूर्ण समय खेलेका थिए । उनी यस्ता खेलाडी हुन्, जसले मैदानमा जति लामो समय बिताउन पायो टोलीका लागि गोल गर्ने सम्भावना पनि त्यति नै बढी हुने गर्छ । त्यसैले उनले रुस विश्वकपमा आफ्नो क्षमता प्रस्तुत गर्न अझै अवसर पाउन बाँकी रहेको महसुस गरिएको छ ।
बेल्जियमले मंगलबार सेमिफाइनलमा बलियो फ्रान्सविरुद्ध अवसर पाएको अवस्थामा बात्सुईले अझ उत्कृष्ट प्रदर्शन दिने अपेक्षा गरिएको छ । सन् २०१५ मा बेल्जियमको राष्ट्रिय टोलीबाट खेल्ने अवसर पाएका बात्सुईले हालसम्म १८ खेल खेलेका छन् । जसमा उनले टोलीका लागि आठ गोलसमेत गरिसकेका छन् । इङ्लिस क्लब चेल्सीबाट व्यावसायिक फुटबल खेल्दै आइरहेका बात्सुई अनुभवका आधारमा पनि टोलीको सफलतामा महत्वपूर्ण योगदान पुर्याउन सक्छन् । उनीसँग इङ्लिस प्रिमियर लिग, फ्रान्सेली लिग वानजस्ता युरोपका ठूला लिग खेलेको अनुभव रहेको छ ।