रुसी फुटबल टोलीलाई पुटिनको बधाई
मस्को : रुस विश्वकप अघि आयोजक टोलीको प्रदर्शनलाई लिएर धेरै आलोचना भएको थियो । आयोजकको हिसाबले विश्वकपमा सहभागी रुसले आफ्ना तयारी खेलमा निराशाजनक प्रदर्शन गरेको थियो । टोलीको तयारीलाई लिएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसमेत त्यति सन्तुष्ट थिएनन् । तर विश्वकपको सुरुवाती खेलसँगै रुसले अप्रत्याशित प्रदर्शन गर्यो । क्वार्टरफाइनलमा क्रोएसियासँग टाइब्रेकरमा ४-३ गोलले पराजित भएपछि पुटिनले टोलीको प्रदर्शन उच्च रहेको भन्दै बधाई दिएका हुन् ।
‘रुसका खेलाडी वास्तवमै राष्ट्रका हिरो हुन् । टाइब्रेकरमा पराजित हुँदा हामीले सेमिफाइनल यात्रा तय गर्न सकेनौं । खेलमा हारजित स्वाभाविक हो । तर रुसी खेलाडीको प्रदर्शन वास्तवमै तारिफयोग्य थियो । हामीले मैदानमा डटेर खेल्यौं । रुसी खेलाडीले अनुशासित र उत्कृष्ट खेल खेलेका छन्’, प्रवक्ता क्रेमलिनमार्फत पुटिनले भने । क्रोएसियासँग पेनाल्टीमा चुक्दा आयोजक टोलीको फाइनलमा पुग्ने अभियानमा ठेस लागेको भन्दै अहिले रुसी जनतामा निराशा छाएको छ । तर पुटिनले खेलाडीको प्रदर्शनलाई उच्च मूल्यांकन गरिने बताएका छन् ।
विश्वकपमा समूह ‘ए’ बाट प्रदर्शन गरेको आयोजक रुसले समूह चरणको पहिलो खेलमा एसियाली टोली साउदी अरेबियालाई ५-० गोलले हराएको थियो । समूह चरणको दोस्रो खेलमा इजिप्टलाई ३-१ गोलले पराजित गरेको रुस अन्तिम खेल अगाडि नै नकआउच चरणमा प्रवेश गरेको थियो ।
समूह चरणको अन्तिम खेलमा भने रुस उरुग्वेसँग ३-० गोलले पराजित हुँदै समूह उपविजेता बनेको थियो । प्रिक्वार्टरफाइनलमा सन् २०१० को विश्वकप विजेता स्पेनलाई टाइब्रेकरमा ४-३ गोलले पराजित गरेपछि रुसले विश्वभरको फुटबल समर्थकको ध्यान तानेको थियो । क्वार्टरफाइनलमा भने रुसलाई क्रोएसियाको नमीठो झट्का लाग्यो ।