सबै यातायात समिति पुरानै अवस्थामा

सबै यातायात समिति पुरानै अवस्थामा

धनगढी : सरकारले यातायात व्यवसायीलाई प्रालिमा जान आह्वान गरे पनि कैलालीमा कुनै यातायात समिति प्रालिमा गएका छैनन् । यातायात व्यवसायीको सिन्डिेकट अन्त्य भनिरहँदा त्यसको कुनै आभास गर्न यात्रुले पाएका छैनन् । प्रदेशमा सञ्चालित सबै समिति पुरानै अवस्थामा छन् ।

नवीकरण नभएसम्म कैलालीमा दर्ता भएका १० वटा यातायात समितिको सरकारले खाता रोक्का गरे पनि ती संस्था अहिलेसम्म प्रालिमा नगएको सेती अञ्चल यातायात व्यवस्थापन कार्यालयका प्रमुख कृष्ण भुसालले बताए । ‘असार मसान्तमा नवीकरण सकिँदै छ’, उनले भने, ‘तर बस व्यवसायी समिति प्रालिमा आएका छैनन् ।’

सरकार कडा रूपमा प्रस्तुत हुँदासमेत कैलालीमा सक्रिय रहेका कुनै पनि यातायात समिति सरकारले तोकेको दायरामा जान तयार नभएका हुन् । ‘हामी सरकारले भनेकै अवस्थामा प्रालिमा जाँदैनौँ’, सुदूरपश्चिम यातायात व्यवसायी संघका अध्यक्ष पदमराज सापकोटाले भने । सरकारले यातायात व्यवसायीलाई ‘सफाया’ गर्न खाजेको आरोप सापकोटाले लगाए ।

‘सरकारको नीतिमा ६ वटा सवारीसाधन भए पुग्छ तर सदस्य एक सय एकभन्दा बढी हुनुहुँदैन, सापकोटाले भने, ‘हामी ६ सय १ छौं, पाँच सय कसरी हटाउने, कसलाई हटाउने ? ’

कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बस व्यवसायी समितिलाई नवीकरण गर्नू भन्ने मात्रै निर्देशन आएको बताए । ‘असार मसान्तसम्म नवीकरणको म्याद दिएको छ’, निमित्त प्रमुख जिल्ला अधिकारी भट्टले भने, ‘म्याद सकिए सरकारले केही नयाँ व्यवस्था ल्याउँछ होला ।’

संरचना र सम्पत्ति संघ संस्था ऐन २०३४ अनुरूप जिल्ला प्रशासन कार्यालयमा दर्ता यातायात समितिले छोटो समयमा आफूलाई स्थापित गर्न सफल भएका हुन् । अब नयाँ व्यवस्थाअनुसार सबै समिति कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता हुनुपर्ने छ । सार्वजनिक समिति प्रालिमा जाँदा हालसम्मको सम्पूर्ण सम्पत्ति सरकारको हुने भएकाले अहिले उनीहरू प्रालिमा जान आनाकानी गरिरहेको हुन सक्ने कार्यालय सेती अञ्चल यातायात व्यवस्था कार्यालय प्रमुख भुसालको बुझाइ छ ।

प्रदेश ७ मा तीन दशकअघि दर्ता भएको सुदूरपश्चिम यातायात व्यवसायी समितिको धनगढीमा रहेका १२ वटा विभिन्न बैंकमा खाता छन् । धनगढी उपमहानगरपालिकाभित्रै दुई स्थानमा जग्गा छ । दुईतले भवनसमेत छ । सबै सम्पत्ति सरकारको हुने भएपछि राष्ट्रिय यातायात व्यवसायी महासंघले नै कार्यदल गठन गरेर सरकारलाई केही लचकता देखाउन आग्रह गरेको छ ।

यातायात कार्यालय सेतीका अनुसार प्रालिमा जान निर्देशन दिएको दुई महिनासम्म कुनै नयाँ सवारी दर्ता भएका छैनन् । पुराना सवारीले पनि कम्पनीका लागि प्रक्रिया थालेका छैनन् । हालसम्म कैलालीमा घरेलु कार्यालयमार्फत गोदावरी यातायात प्रालि, फूलबारी यातायात प्रालि र बडिमालिका यातायात प्रालि कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.