सिंहदरबारको दक्षिण गेटबाट कृष्ण पहाडीसहित १० जना पक्राउ
काठमाडौँः सरकारले तोकेको निषेधित क्षेत्र तोड्न पुगेका १० जनालाई प्रहरीले सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मानवअधिकारकर्मी कृष्ण पहाडीसहित १० जना रहेका छन् ।
सरकारले स्वतन्त्रतापूर्वक भेला हुन पाउने अधिकार हनन गर्न खोजेको भन्दै पहाडीसहितका प्रदर्शनकारी सिंहदरबारको दक्षिण गेट अगाडि पुगेर धर्नामा बसेका थिए । त्यसपछि त्यहाँ तैनाथ प्रहरीको टोलीले पहाडीसहित १० जनालाई नियन्त्रणमा लिएको हो । यसअघि कांग्रेसको भातृसंगठन नेविसंघले माइतीघरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गर्दै आएको छ ।
स्वास्थ्य र शिक्षामा बढ्दो माफियाकरण हट्नुपर्नेसहित माग गर्दै दक्षिण गेट अगाडि धर्नामा बसेको अवस्थाम प्रहरीले पक्राउ गरेको मानवअधिकार तथा शान्ति समाजका महासचिव उत्तम पुडासैनीले बताएका छन् ।
पहाडीसँगै पक्राउ पर्नेमा शान्ति समाजका अध्यक्ष गगांधर अधिकारी र संस्थापक सदस्य कृष्ण कडेलसहित १० जना रहेका छन् ।