पहिलो हाफमा बेल्जियम–फ्रान्स गोलरहित बराबरी
काठमाडौँः रसियामा जारी विश्वकप फुटबल अन्तरगत मंगलबार राति भएको पहिलो सेमिफाइनल भिडन्तको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। बेल्जियमले खेलमा दबाब राखे पनि दुवैतर्फबाट भएका गोल प्रयास सफल हुन नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।
सेन्ट पिटसबर्ग स्टेडियममा पहिलो हाफ सकिँदासम्म फ्रान्सले गोल गर्ने ११ वटा प्रयास गर्यो भने उता बेल्जियमले ३ वटा प्रयास गर्यो । विश्व कपमा दुवै टिमको यो तेस्रो भिडन्त हो ।
यसभन्दा अघि भएका दुर्इ भिडन्तमा फ्रान्स सफल थियो । अन्तरराष्ट्रिय खेलको कुरा गर्ने हो भने ३ वर्षपछि यी दुर्इ टिम भिडिरहेका छन् ।
७ जुन २०१५ मा स्टेड डि फ्रान्समा खेलिएको मैत्रीपूर्ण खेलमा बेल्जियमले ४-३ को जित निकालेको थियो । फ्रान्स सन् २००६ यता पहिलो पटक विश्व कपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो । अर्कातिर बेल्जियम १९८६ पछि पहिलो पटक अन्तिम चारमा पुगेको हो ।
विश्वकप फुटबलमा हालसम्म यी दुई टोलीबीच दुई पटक भेट हुँदा दुवै पटक फ्रान्सले जित हात पारेको छ । धेरै पहिले सन् १९३८ र सन् १९८६ को विश्वकपमा बेल्जियमविरुद्ध प्रतिस्पर्धा गर्दा नतिजामा फ्रान्स हाबी भएको थियो ।
यद्यपि समग्रमा भने बेल्जियमले बढी खेल जितेको छ । हालसम्म यी दुई टोलीबीच सबै प्रतियोगितामा गरी ७४ खेल भएका छन्, जसमा बेल्जियमले ३० र फ्रान्सले २४ खेल जितेका छन् । बाँकी २० खेल भने बराबरीमा टुंगिएका छन् ।
बेल्जियमले जारी प्रतियोगितामा अहिलेसम्म खेलिएको सबै खेलमा जित हात पार्दै सेमिफाइनलको यात्रा तय गरेको हो भने फ्रान्सले पनि यहाँसम्म आइपुग्न आफूलाई अपराजित राखेको छ ।