समर्थक र क्लबलाई धन्यवाद दिँदै रियल मड्रिडबाट विदा भए रोनाल्डो
एजेन्सी : पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले स्पेनिस क्लब रियल मड्रिड छाडेका छन् । रियल मड्रिडमा ९ वर्ष बिताएका ३३ वर्षीय रोनाल्डो इटालियन क्लब युभेन्टसमा आवद्ध भएका छन् । अन्तराष्ट्रिय सञ्चार माध्याममा आएका खबर अनुसार रोनाल्डोलाई १० करोड यूरो( ८ करोड ८३ लाख पाउण्ड)मा युभेन्टसले भित्र्याएको हो ।
बेलायती पत्रिका गार्डिएनका अनुसार मंगलबार रोनाल्डो र उनका एजेन्ट जर्ज मेन्डेजले ग्रीसमा युभेन्टसका अध्यक्ष आन्द्रे एगनेलीलाई भेट गरी सम्झौता गरेका थिए । रोनाल्डोले युभेन्टससँग ४ वर्षका लागि सम्झौता गरेका छन् । युभेन्टसमा रोनाल्डोको तलब ३० लाख युरो हाराहारी हुने बताइएको छ ।
सन २००९ रियल मड्रिडमा आवद्ध भएका रोनाल्डोले रियल मड्रिडबाट ४३८ खेल खेले । उक्त खेलमा उनले ४५१ गोल गर्न सफल भए ।
रियल मड्रिड छाडेपछि रोनाल्डोले आफ्ना फ्यानलाई खुल्ला पत्र लेख्दै रियल मड्रिडले आफ्नो र आफ्नो परिवारको मन जितेको भन्दै क्लबप्रति आभार व्यक्त गरेका छन् । उनले क्लबमा विताएका ९ वर्ष अद्भूत रहेको भनेका छन् । उनले क्लबका व्यवस्थापक कर्मचारी, चिकित्सक लगायत क्लब सम्वद्ध सबैप्रति आभार प्रकट गरेका छन् ।
मंगलबार नै रियल मड्रिडले एक वक्तव्य प्रकाशित गरी रोनाल्डोको इच्छा अनुसार उनलाई युभेन्टस पठाउन सहमत भएको भनेको छ ।
विश्वकै उत्कृष्ट खेलाडी बन्न सफल भएका रोनाल्डोले रियल मड्रिडको ९ वर्षको अवधिलाई एतिहासमा सम्झन योग्य बनाएको वक्तव्यमा भनिएको छ । ९ वर्षको अवधिमा क्लबले जितेका सबै उपाधिमा रोनाल्डोको प्रतिभा मेहनत र समर्पणको भूमिका रहेको भन्दै रोनाल्डोप्रति आभार व्यक्त गरेको छ ।
रोनाल्डो आवद्ध भएपछि रियल मड्रिडले च्याम्पियन लिगको उपाधि ४ पटक जित्यो । पछिल्ला तीन सिजन रियलले लगातार च्याम्पियन लिगको उपाधि हात पार्न सफल भयो । यस बाहेक रोनाल्डोको पालामा रियल मड्रिडले विभिन्न १६ टाइटलका उपाधि जित्यो । उनकै समयमा रियलले स्पेनिस घरेलु लिग ला लिगा २ पटक र स्पेनको पुरानो घरेलु लिग कोपा डेलरको उपाधि २ पटक जितेको थियो ।
रियल मड्रिडमा रहँदा रोनाल्डोले थुप्रै कीर्तिमानहरु बनाएका छन् ।