नदी कटानले मासिँदै अन्नभण्डार
टीकापुर : राष्ट्रिय गौरवको आयोजना रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाको कमाण्ड क्षेत्रभित्रको हजारौं बिघा उर्वर भूमि (कैलालीको अन्नभण्डार) पथरैया नदी र मोहना नदीको कटानले मासिँदै गएको छ ।
लम्की चुहा नगरपालिका, जानकी गाउँपालिका, टीकापुर नगरपालिका र भजनी नगरपालिका भएर मोहना नदीमा बग्ने पथरैया नदीले बर्सेनि कटान गर्न थालेपछि यस क्षेत्रको हजारौं बिघा उर्वर भूमि मासिँदै गएको हो ।
नदीको कटानका कारण कैयौं बस्ती उच्च जोखिममा परेका छन् । पथरैया नदीले लम्की चुहा नगरपालिकाको कुम्भिया, तोरीपुर, सोनपुर, सुतैया, सुहाननगरमा कटान गरेको छ । त्यस्तै, जानकी गाउँपालिकाको जवलपुर र टीकापुर नगरपालिका–६ को भर्तापुर, भगवानपुरमा कटान गरिरहेको छ ।
जोशीपुर गाउँपालिकाको सीमाराना, लालपुर, वाणीमा समेत पथरैया नदीले कटान गरिरहेको छ । उता, भजनी नगरपालिका–८ दैलेखी टोल, काँडाढिक, खल्ला गाउँमा बर्सेनि नदीले कटान गर्दै आइरहेको छ । नदीको कटानका कारण उत्पादनका लागि उर्वर मानिएको भूमि बगरमा परिणत भइरहेको स्थानीय बताउँछन् ।
लम्की चुहा नगरपालिका–६ सुतैयाका मुकेश चौधरीले पथरैया नदीले खेत बगरमा परिणत गरेको बताए । ‘बर्सेनि कटान भइरहेको छ’, झण्डै एक विघा जग्गा नदीमा गुमेको बताउँदै चौधरीले भने, ‘हामीसँग लालपुर्जा छ, जग्गा छैन, हाम्रो जग्गा त सबै नदीमा गइसक्यो ।’
टीकापुर नगरपालिका–६ भर्तापुरका चन्द्रे बुढाले पथरैया नदीले आफूहरूको उठिबास लगाएको बताए । ‘वर्षैपिच्छे कटान गरिरहेकै छ, १० वर्षमा यो गाउँको सयौं बिघा जमिन नदीमा गुमेको छ’, नदी कटानले हरेक वर्ष घर सार्नुपर्ने बाध्यता सुनाउँदै बुढाले भने, ‘अन्त जाने ठाउँ छैन, हरेक वर्ष घर सा¥यो बस्यो ।’
कैलालीका चुरे क्षेत्रबाट नदीमा अनियन्त्रित बाढी आउने हुनाले समेत बर्सेनि हजारौं बिघा जमिन कटान हुँदै आएको हो । पथरैया नदीको कटान झेल्दै आएका भजनी नगरपालिका–८ थापापुरका लक्ष्मण चौधरीले आफ्नो एक बिघा जमिनमा नदी बगिरहेको बताए । ‘पहिले राम्रो अन्न फल्थ्यो, नदीमा आएको बाढीले मलिलो माटो ल्याउँथ्यो तर नदीले कटान सुरु गरेपछि हामी सुकुम्बासी हुने अवस्थामा छौं ।’
पथरैया नदी मात्र नभएर मोहना नदीले समेत बर्सेनि हजारौं बिघा उर्वर भूमि बगरमा परिणत गरिरहेको छ । टीकापुर नगरपालिका–९ खक्रौलाका अनिल कोइरालाको परिवारले झन्डै तीन बिघा जमिन गुमायो । भारतीय सीमासँगै जोडिएको नदीले कटान गरेको कोइरालाको जमिन अहिले भारततर्फ परेको छ ।
‘आधा जमिन भारततर्फ छ, आधामा नदी छ’, उर्वर भूमि मासिएको सुनाउँदै कोइरालाले भने, ‘हाम्रो जग्गा त गयो–गयो मोहनाका कटानका कारण सीमा क्षेत्रसमेत मासिने अवस्थामा छ ।’
नदीले जग्गा बगर बनाए पनि जग्गाको कर भने तिर्नुपर्ने बाध्यता रहेको कोइरालाले गुनासो गरे । राष्ट्रिय गौरवको आयोजना रानी, जमरा, कुलरिया क्षेत्रभित्रको कर्णाली नदीका जोखिम क्षेत्रको झन्डै ५० किलोमिटर क्षेत्रमा आयोजनाले तटबन्ध गरेर जमिन संरक्षण गरेको छ ।
आयोजनाका सिनियर डिभिजन इन्जिनियर दिनेशचन्द्र भट्टले कर्णाली र मोहना नदीको गरी पहिलो चरणमा ५० किलोमिटर तटबन्ध गरी जमिन संरक्षण गरेको बताए । ‘पहिलो चरणमा कर्णाली नदी र मोहनाको केही भाग तटबन्ध गरेका छौं’, इन्जिनियर भट्टले भने, ‘दोस्रो चरणमा पथरैया नदीको कटानका लागि योजनामा समावेश गरेका छौं ।’
आयोजनाको कमान्ड क्षेत्रभित्रको उर्वर भूमि तटबन्ध गरी संरक्षण गर्न विश्व बैंकले सहयोग गर्दै आइरहेको छ । राष्ट्रिय गौरवको आयोजना निर्माण भइरहँदा उर्वर भूमि मासिँदै जानु चिन्ताको विषय भएको सरोकारवालाले बताएका छन् ।