इरानले अमेरिकी प्रतिबन्ध नमान्ने
लन्डन : इरानका उपराष्ट्रपति जहाँगिरीले अमेरिकी प्रतिबन्धले आफ्नो अर्थतन्त्रमा नोक्सानी पुग्ने बताउँदै त्यसलाई पालना नगर्ने बताएका छन् ।अमेरिकाले आर्थिक प्रतिबन्ध लगाए पनि यथासम्भव पेट्रोलियम पदार्थ विक्री गर्ने स्पष्ट पारेका छन् । अमेरिकाले इरानको पेट्रोकेमिकल, स्टील र तामा निर्यातमा रोक लगाउन चाहन्छ । उनले भने, ‘पेट्रोलियम पदार्थबाट सबैभन्दा बढी आम्दानी गर्ने मुलुकलाई त्यसैमा प्रतिबन्ध लगाएर अमेरिकाले कमजोर बनाउन खोजेको छ ।’ व्यापार युद्धबाट इरानलाई नोक्सान नहुने कुरा हाँसउठ्दो भएको पनि उनले चर्चा गरे ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेमा इरानमाथि पुनः प्रतिबन्ध लगाइने चेतावनी दिएका थिए । उनले इरानसँगको परमाणु सम्झौताबाट बाहिर निस्केको घोषणा पनि गरिसकेका छन् । अमेरिकी राष्ट्रपतिले इरानसँग पेट्रोलियम पदार्थ नकिन्न पनि अन्य मुलुकसँग आग्रह गरेका छन् । यसको साटो ट्रम्पले साउदी अरेबियालाई तेल उत्पादन बढाउन आग्रह गरेका छन् । अमेरिकी कदमको युरोपेली मुलुकले भने विरोध गरेका छन् ।
सम्झौताबाट बाहिर निस्केर अमेरिकाले गलत काम गरेको उनीहरूको भनाइ छ । युरोपेली मुलुकले भने इरानसँग व्यापार सम्बन्ध कायमै राख्ने चेतावनी दिएका छन् । इरानसँगको परमाणु सम्झौताका बेलायत, फ्रान्स, जर्मनी, रूस र चीनले अमेरिकाले इरानलाई विशेष प्याकेज दिने बताएका थिए । इरानले यस्तो प्याकेज आफूलाई स्वीकार नगर्ने स्पष्ट पारिसकेको छ । इरानबाट ठूलो मात्रामा पेट्रोलियम पदार्थ आयात गर्ने भारतले पनि इरानसँग तेल आयात नरोक्ने बताउँदै आएको छ ।
इरानका उपराष्ट्रपतिले इरानी विदेश मन्त्रालय र केन्द्रीय बैंकलाई अमेरिकी प्रतिबन्धविरुद्ध डटेर सामना गर्न निर्देशन दिएका छन् । जहाँगिरीले भने, ‘युरोपेली मुलुकहरूले इरानको माग अनुसारको काम गर्ने अपेक्षा गरेका छौं । उनीहरूको निर्णय प्रतीक्षामा छौं ।’ उनले इरानमा विद्रोह गराउन अमेरिकाले यस्तो चाल चलेको स्पष्ट पारे । यसअघि इरानमा भएको विद्रोहमा अमेरिकाले हस्तक्षेप गर्नुपर्ने अमेरिकी अधिकारीले बताउँदै आएका थिए ।