यी पाँच जसले एसईईमा संगीत पास गरे

यी पाँच जसले एसईईमा संगीत पास गरे

गह्रुँगो झोला बोकेर स्कुल गइरहेका विद्यार्थीलाई ‘फ्युचर प्लान’ सोधियो भने उत्तर उस्तैउस्तै हुनसक्छ, ‘डाक्टर, पाइलट वा इन्जिनियरिङ बन्छु।’ सम्भवतः थोरैले भन्न सक्छन्, ‘संगीतकार बन्छु।’ मानविकी संकाय थला पर्दै गएको छ। यस्तै परिस्थितिमाझ भर्खरै सकिएको एसईई परीक्षामा पाँचजना विद्यार्थीले संगीतमै एसईई पास गरेका छन्।

ती पाँच विद्यार्थीले पढेको गौशाला पिंगलास्थानस्थित संगीत विद्यालय बाजागाजाको धुनले गुञ्जायमान थियो। वातावरण रोमाञ्चित लाग्थ्यो। विद्यार्थीहरू गितार भिरेर बाहिरिँदै भित्रिँदै गरेका दृश्य प्रशस्तै देखिन्थ्यो।

विद्यालयको आँगन टेक्दा कतै ड्रम सेट त कतै किबोर्ड बजेको सुनिन्थ्यो। माथिल्लो तलाबाट सुरिलो आवाज आइरहेको थियो। ‘एउटा खुला किताब हुँ म, तिमीले पनि पढे हुन्छ ..’, सुरिलो आवाज पछ्याउँदै जाँदा देखिन्थे, माथिल्लो तलामा संगीत साधनामा लीन केही विद्यार्थी।

बैजनी रङको पातलो ज्याकेट, कालो पाइन्ट र हरियो टिसर्टमा सर्लक्क कपाल अगाडि झारेर गीत गाउँदै थिइन्— पूजा परियार। कालै रङको पातलो ज्याकेट र पाइन्ट अनि कपाल अगाडि झारेर गितारमा औंला नचाइरहेका थिए— सुशान्त गजुरेल। छेउमा गायनमा साथ थिइरहेका थिए— मनोज खड्का। उनीहरूसँग स्वर मिसाउँदै थिइन्— विमला प्रजा। ह्यान्डसम लुक्समा रियल मेड्रिडको टिसर्ट लगाएर गितारमा कर्ड थिच्दै थिए— संजित अछामी।

०००

१८ वर्षीया पूजा माइती नेपालको होस्टेलमा बस्दै आएकी छन्। उनलाई क्लासिकल गीत गाउन एकदमै मन पर्छ। केही वर्षअघि भारतीय गायिका सुनिधि चौहान सँगको भेट उनको स्मृतिमा अझै ताजा छ। सुनिधिले पूजाको स्वरको निकै तारिफ गरेकी थिइन्। कक्षा ८ सम्म टेरेसा एकेडेमीमा पढेपछि उनको यात्रा संगीत विद्यालयतिर मोडियो। पूजाले एसईईमा ३.१२ जीपीए ल्याइन्। कयौं स्टेज कार्यक्रममा सहभागी भइसकिन् पूजा। उनको सुमुधुर आवाजका कैयौं ‘फ्यान’ छन्, माइती नेपालमा। बेचिएर फर्किएकी, विपत्मा परेकी बेसहारा दिदी बहिनीहरू उनको ‘डाइहर्ट फ्यान’ छन्। संगीत विद्यालयले सिकाएको शिक्षाबाटै भविष्यमा राम्रो गायिका बन्ने धोको छ पूजाको। म्युजिक टिचर बन्ने र म्युजिकलाई समाज परिवर्तनको माध्यम बनाउने लक्ष्य छ उनको। भन्छिन्, ‘म भविष्यमा राम्रो गायिका र म्युजिक टिचर बन्न चाहन्छु।’

गितार बजाइरहेका सुशान्त भारतीय संगीतकार एआर रहमानका ठूला फ्यान हुन्। अमेरिकी गिटारिस्ट स्टिभी भाइको औंला जब गितारमा नाच्न थाल्छ, सुशान्त हेरेको हेर्‍यै हुन्छन्। स्टिभीका ठूला फ्यान गइसके सुशान्त। १७ वर्षे सुशान्तको परिवार ललितपुरको कुसुन्ती बस्छन्। आदर्श विद्या मन्दिरमा ८ कक्षा पास गरेर म्युजिक स्कुल आए उनी। म्युजिक स्कुलबाटै एसईई पास गरेपछि उनी उत्साहित बनेका छन्। भन्छन्, ‘मेरो सपना राम्रो म्युजिसियन र एरेन्जर बन्ने हो।’

बबरमहल बस्दै आएका मनोज भविष्यमा राम्रो ड्रमर बन्न चाहन्छन्। उनले ऐच्छिक विषय ड्रम लिएका छन्। संगीतमा रुचि राख्ने उनका आमाबुवा (उदिराम खड्का र बिर्मा खड्का)ले बबरमहलमा सत्यवती कला केन्द्र नै खोलेका छन्। सांगीतिक माहोलमा हुर्किएका मनोजले सेन्टपल स्कुलबाट कक्षा ८ पास गरे। त्यसपछि संगीत पढ्न म्युजिक स्कुलमा भर्ना भए। मनोजले यस वर्षको एसईई परीक्षाबाट ३.६५ जीपीए ल्याए। आफूलाई मन पर्ने विषय पढ्न पाउँदा मनोज दंग छन्। भन्छन्, ‘म ड्रमर बनेर नाम कमाउन चाहन्छु।’

१७ वर्षीया विमलाको घर मकवानपुरको राक्सिराङ हो। उनी पनि माइती नेपालकै होस्टेलमा बस्दै आएकी छन्। विमलाको सपना पनि राम्रो गायिका बन्ने हो। टेरेसा एकेडेमीमै कक्षा ८ पास गरेपछि उनी गायिका बन्न म्युजिक स्कुल भर्ना भइन्। एसईईमा ३.२० जीपीए ल्याइन्। विमला हार्मोनियम, मादल र गितार बजाउँछिन्। म्युजिक स्कुलबाट एसईई पास गरेपछि गायिका बन्ने सपना पूरा हुनेमा उनी ढुक्क छिन्। भन्छिन्, ‘अहिले सिक्दै छु। हेरौं भविष्यमा के हुन्छ।’

गिटारिस्ट बन्न चाहने सञ्जित अछामी १७ वर्षका भए। एसईईमा उनले २.६८ जीपीए ल्याए। ईपीएस स्कुल बानेश्वरमा कक्षा ८ सम्म पढेपछि बुवा राजभक्त अछामी र आमा अञ्जिता अछामीले उनलाई म्युजिक स्कुल भर्ना गरिदिए। उनका बुवा सञ्जितलाई खेलाडी बनाउन चाहन्थे। तर, सञ्जितको रुचि बुझेर राजभक्तले म्युजिक स्कुलमा भर्ना गरिदिए। एसईई पास गरेपछि सञ्जितमा म्युजिकको भोक अझै जागेको छ। भन्छन्, ‘मेरो अरू विषयको पढाइ सामान्य छ तर म राम्रो गिटारिस्ट बन्न चाहन्छु।’

०००

नेपाली समाजमा आममानिसको चाहना हुन्छ, ‘आफ्नो सन्तान डाक्टर, पाइलट र इन्जिनियर बनून्; नाम र दाम दुवैै कमाऊन्।’ तर, यी किशोरकिशोरी अहिलेसम्मको सामाजिक मान्यतालाई चुनौती दिँदै संगीतमै भविष्य खोज्दै छन्। उत्साहित हुँदै संगीत साधनामा डुबेका छन्। सञ्जित भन्छन्, ‘मलाई दामभन्दा नाम कमाउन मन छ।’

तर, सुशान्तको भनाइ सञ्जितको भन्दा फरक छ। उनी संगीतलाई कमाइ नहुने क्षेत्र मान्न नहुने तर्क गर्छन्। भन्छन्, ‘संगीत क्षेत्रमा मेहनत गर्न सकियो भने नाम र दाम दुवै कमाउन सकिन्छ।’ संगीत क्षेत्रबाटै आर्थिक उपार्जनसँगै जनचेतना पनि जगाउन सकिने पूजाको ठम्याइ छ। म्युजिक स्कुलका प्रिन्सिपल इमानविक्रम शाह संगीतबाटै जीविका पनि चलाउन सकिने बताउँछन्। भन्छन्, ‘मेहनत गर्नेले संगीत क्षेत्रमा पनि राम्रो प्रगति गर्न सक्छन्।’

के हो संगीत विद्यालय ?

यो संगीत विद्यालय नेपाल म्युजिक सेन्टर ट्रस्टद्वारा सञ्चालित छ। ट्रस्टका अध्यक्ष हुन्— संस्कृतिविद् सत्यमोहन जोशी। संगीत विद्यालयका अध्यक्ष हुन्— वरिष्ठ गीतकार रत्नशमशेर थापा। दुई दिग्गजको अगुवाइमा सञ्चालित छ विद्यालय। सन् २००६ बाट सञ्चालित विद्यालयमा वार्षिक तीन सयदेखि पाँच सयजना विद्यार्थीले संगीत सिक्ने गर्छन्। यहाँ २२ जना शिक्षकले संगीत सिकाइरहेका छन्।

संगीत विद्यालयमा दुई किसिमको पढाइ हुन्छ। एउटा औपचारिक र अर्को अनौपचारिक। औपचारिक शिक्षाअन्तर्गत पाठ्यक्रम विकास केन्द्रले बनाएको पाठ्यक्रममा आधारित संगीत सिकाइन्छ। सन् २०१५ मा शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त गरेपछि पहिलोपटक दुईवर्षे एसईई तहको पढाइ सुरु भएको हो। यही वर्ष साउनबाट संगीतमै प्लस–टु तहको पढाइ सुरु हुन लागेको विद्यालयका प्रधानाध्यापक इमानविक्रम शाह बताउँछन्। प्राधिविक तथा व्यावसायिक धारको नेपालकै पहिलो संगीत विद्यालय अहिले सुरुआती अवस्थामा रहेको उनको भनाइ छ।

८ कक्षा पास गरेपछि संगीत विद्यालयमा भर्ना हुन पाइन्छ। संगीत विद्यालयका विद्यार्थीले नेपाली, इङ्लिस, गणित र विज्ञान विषयसँगै थप ६ वटा विषय पढ्नुपर्छ। यसमा आधारभूत संगीत, नेपालको संगीत, किबोर्ड इन्स्ट्रुमेन्ट, संगीत र प्रविधि, म्युजिक बिजनेस एन्ड इभेन्ट म्यानेजमेन्ट र ऐच्छिक (गीत, नृत्य, बाजामध्ये कुनै एक) पढ्नुपर्छ। शुल्क अन्य विद्यालयमा जस्तै भएको बताउँछन्, प्रधानाध्यापक शाह।

संगीत पनि अरू प्राविधिक धारजस्तै भएको र नेपालमा संगीतको विकासका लागि सातै प्रदेशमा संगीत विद्यालय सञ्चालन हुनुपर्ने प्रधानाध्यापक शाहको धारणा छ। भन्छन्, ‘एउटा प्रदेशमा एउटा म्युजिक स्कुल भयो भने नेपालले संगीतमा धेरै विकास गर्न सक्छ।’

०००

उनीहरू संगीत साधनामा लागे। विद्यालयबाट बाहिरिँदै गर्दा उनीहरूले गाएको गीत परपरसम्म सुनिन्थ्यो। सुमधुर आवाजमा उनीहरू गाउँदै थिए, ‘लग्जा गले ...।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.