भक्तपुरको अधिकांश खानेपानीमा कोलिफर्म, महामारीको त्रास
भक्तपुरः भक्तपुरबासीले प्रयोग गर्दै आएका सबैजसो खानेपानीका मूल प्रदूषित पाइएको छ । यहाँका मूलकै पानीमा कोलिफर्म भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । पानी प्रदूषित भएकै कारण भक्तपुरमा पानीजन्य रोगको महामारी फैलिने जोखिम बढेको कार्यालयले भनाइ छ । कार्यालयले जिल्लामा सबैभन्दा बढी प्रयोग हुने १८ वटा मूलको पानी परीक्षण गर्दा १६ मा कोलिफर्म भेटिएको हो ।
कार्यालय प्रमुख कृष्णबहादुर चन्दले १८ वटामध्ये सूर्यविनायक नगरपालिका–६ कटुञ्जेस्थित तीनधारा र चाँगुनारायण नपा–६ नगरकोटस्थित हेल्थपोस्ट मूलको पानीमात्रै खानयोग्य रहेको जानकारी दिए । ‘जिल्लावासीले खाने प्रमुख १८ वटा मूलको पानी परीक्षण गर्दा १६ वटा मूलको पानी प्रदूषित पाइयो’, उनले भने, ‘मूलकै पानीमा कोलिफर्म देखिएको हो । दुइटा मूलको पानीमात्रै खानयोग्य देखियो ।’
वर्षायाम सुरु भएसँगै विभिन्न सरुवारोगको महामारी फैलिनसक्ने भएकाले खानेपानीको अवस्था बुझ्न कार्यालयले उक्त परीक्षण गरेको उनको जानकारी थियो । भक्तपुरभरकै पानी प्रदूषित देखिएकाले उमालेर वा शुद्धीकरण गरेर पानी खान आग्रह गर्दै आएको कार्यालय प्रमुख चन्दले जानकारी दिए ।
उनका अनुसार भक्तपुर नगर र मध्यपुर थिमी नगरका वासिन्दाले खानेपानी प्रयोग गर्ने खान नगरकोटस्थित मुहानपोखरी र बोडको पानीसमेत प्रदूषित रहेका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेडअन्तर्गत रहेका यी दुवै मूल पानी शुद्धीकरण गर्ने फिल्टर प्लान्टबिहीन छन् । बोडेस्थित फिल्टर प्लान्ट बिग्रिएको दसौं वर्ष हुँदा पनि मर्मत हुन सकेको छैन ।
नगरकोटस्थित मुहानपोखरीमा भने फिल्टर प्लान्ट नै छैन । जसले गर्दा भक्तपुर–नगरकोट सडक विस्तारले गर्दा वर्षा याममा धमिलो पानी खान भक्तपुर नगरवासी बाध्य हुँदै आएका छन् । भक्तपुरमा वर्षासँगै महामारीजन्य रोग फैलिनसक्ने जोखिम बढेपछि त्यसको न्यूनीकरणसम्बन्धमा बुधबार बहुपक्षीय समन्वय बैठक गरेको छ ।
बैठकमा जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख चन्दले विपद्सँगै स्वास्थ्यको क्षेत्रमा आउनसक्ने महामारी रोक्न कार्यालयमा मेडिकल अफिसरसहितको विपद् प्रतिकार्य टोली तयारी अवस्थामा राखिएको जानकारी दिए । त्यस्तै भक्तपुरका चार नपामा समेत नगरस्तरीय विपद् प्रतिकार्य टोली गठन गरी अति आवश्यकीय औषधिहरुको आवश्यक भण्डारण गरिएको उनको भनाइ थियो ।
‘स्थानीय तहमा अधिकार गइसकेकाले नगरपालिकालाई पनि विपद् प्रतिकार्यको क्षेत्रमा सहयोग गर्न आग्रह गरेका छौं’, प्रमुख चन्दले भने, ‘अघिल्लो वर्षको आधारमा भक्तपुर वर्षायाममा कुनै महामारी देखिएको छैन । तैपनि हामी तयारी अवस्थामा छौं ।’
भक्तपुरलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिसकिएको छ । दिसामा पाइने जीवाणु खानेपानीमा देखिएकोले खुला दिसामुक्त प्रभावकारी नभएको गुनासो गरिएको छ ।