शुल्क नतिरेको भन्दै ५० छात्रा स्कुलमै बन्धक
नयाँ दिल्ली : भारतको राजधानी नयाँ दिल्लीको एक स्कुलले शुल्क नतिरेको भन्दै ५० छात्रालाई स्कुलमै बन्धक बनाएको छ।अभिभावकले नानीहरुको शुल्क समयमै नतिरेका कारण सजायस्वरुप उनीहरुलाई स्कुलले बन्धक बनाएको समाचार भारतीय मिडियाहरुले सार्वजनिक गरेका छन्।
समाचार अनुसार छात्राहरुलाई स्कुल भवनको भूँइतलामा रहेको बेसमेन्टमा करिब पाँच घन्टा बन्धक बनाएको थियो। दिल्लीको चाँदनी चोकस्थित राबिया गर्ल्स पब्लिक स्कुलमा अध्ययनरत विद्यार्थीका अभिभावकले बिहान साढे सात बजेदेखि छात्राहरुलाई बन्दक बनाएको आरोप लगाएका छन्।
स्कुल बिदा भइसके पनि नानीहरु घर नआएपछि अभिभावले स्कुलमा खबर गरेका थिए। तर स्कुलले शुल्क नतिरेकाले उनीहरुलाई घर नपठाइएको जानकारी गराएपछि बन्धक बनाइएको अभिभावकले थाहा पाएका थिए।
विद्यालय प्रशासनले शुल्क नतिरेका कारण उनीहरुलाई बन्धक बनाइएको अभिभावकलाई बताएको समाचारमा जनाइएको छ। स्कुलले नानीहरुलाई खाना र पानीसमेत नदिई पाँच घण्टासम्म बन्धक बनाइएको अभिभावको आरोप छ।