हठ त्यागाैं, वार्तामा बसाैं‌

हठ त्यागाैं, वार्तामा बसाैं‌


डा. अर्जुन कार्की

चिकित्सा क्षेत्रको गुणस्तरमा दीर्घकालीन सोच नराखी विगतमा खुरुखुरु मेडिकल कलेजहरूलाई आशयपत्र दिने, सम्बन्धन दिने, संचालन गर्न दिने लगायत काम भए ।

हाम्रो राष्ट्रिय आवश्यकता के हो ? हाम्रो स्वास्थ्य सेवा प्रणालीसँग चिकित्सा शिक्षाको तादात्म्यता के हो ? हामीले थेग्न सक्ने के हो ? भन्ने विषयका सम्बन्धमा दीर्घकालीन आयाम र समग्र वस्तुस्थितिबारे अध्ययन गरी टुंगोमा नपुगी च्याउ उम्रेजसरी सम्बन्धन दिइयो । मेडिकल कलेजलाई च्याउझैं उम्रिन दिइयो । त्यसले ल्याएका विकृति र विसंगति पनि भित्र्याइयो ।

गुणस्तरीय स्वास्थ्य सेवा सुलभ तरिकाले पाउने जनताको मौलिक अधिकार हो । नेपालको संविधानले यसको प्रत्याभूति सुनिश्चित गरेको छ । त्यसलाई व्यवहारमा अनुभूति दिलाउनका लागि दीर्घकालीन सोच लिएर समस्या समाधान गर्नुपर्छ भन्ने सन्दर्भका साथ प्रतिवेदन तयार पारिएको थियो । त्यसमा हामीले चिकित्सा विद्यार्थी भर्ना कसरी गर्नुपर्छ ? जथाभावी मेडिकल कलेज किन खोल्न दिनु हुँदैन ? राजधानीमा मात्र मेडिकल कलेज किन केन्द्रित गर्नु हुँदैन ? भौगोलिक सन्तुलन किन मिलाउन पर्छ ? भन्नेदेखि लिएर विद्यार्थी भर्नाका तौरतरिका, पाठ्यक्रम, शिक्षण विधि र पढाउने शिक्षकको योग्यता र वृत्ति विकास कसरी सुनिश्चित गर्नुपर्छ भन्ने विषय प्रतिवेदनमा छन् ।

खासगरी एमबीबीएसमा जति विद्यार्थी अध्ययन गर्न चाहन्छन् र स्नातकोत्तर तहमा पढ्नका लागि जतिवटा ठाउँ छ, यी दुईबीच असमान खालको अनुपात छ । त्यसलाई पनि कसरी सम्बोधन गर्ने भन्नेबारे स्पष्ट रूपमा ठोस सुझाव प्रतिवेदनमा दिइएको छ ।

अहिले समस्याको गाँठो परेको छ– सुझाव कार्यान्वयनका बारेमा । सरकारले विचार गर्नुपर्ने कुरा के छ भने सुझाव मागेपछि त्यसलाई कार्यान्वयनमा लैजानुपर्छ । सुझावका मुख्य–मुख्य बुँदाहरूको मर्म र भावना नमिची, नमारी, मुलुकको स्वास्थ्य सेवा प्रणालीका लागि सान्दर्भिक प्रमुख कुरा ग्रहण गर्नु आवश्यक छ । सुझाव अक्षरशः सबै पालना वा कार्यान्वयन हुनुपर्छ भन्ने मान्न सरकार तयार देखिंदैन । सरकार पक्षको बुझाइ र प्रश्न आइरहेकै छ– सार्वभौमसत्ता सम्पन्न संसद्को विवेक नै हुँदैन ? चेतना नै हुँदैन ? विश्लेषण नै गर्न सक्दैनन् ? एउटा डाक्टरले कराएको भरमा हामी त्यहीत्यही गर्ने हो र ?

मेडिकल माफियालाई सहयोग गर्न पुरानो चिकित्सा अध्यादेशमा संशोधन गरी दर्ता गरिएको बुझाइ डा. गोविन्द केसीको छ । अध्यादेशमा परिवर्तन गरेर सरकारले माफियासँग साँठगाँठ गरेको छ भन्ने उहाँलाई परेको छ । उहाँको अडान हेर्दा कस्तो देखिन्छ भने मानौं देशमा उहाँ मात्रै चोखो हुनुहुन्छ । अनि सम्पूर्ण नेताहरु दोषी छन् ।

जनताको चाहना भने दुवैभन्दा भिन्न छ । लामो राजनीतिक संक्रमणपछि जनताले बल्लतल्ल राजनीतिक स्थिरताको आशा गरेका छन् । अल्पविकसित मुलुकका रूपमा चिनिएको बेला अब मुलुकमा समृद्धि आउला कि भन्ने जनअपेक्षा छ । यस सन्दर्भमा चिकित्सा शिक्षा र सेवाकै विषयमा सरकार र डा. केसीबीच मुठभेडको स्थिति सिर्जना हुनु कुनै पनि हालतमा राम्रो होइन ।

कसरी फुकाउने त गाँठो ?

पहिलो कुरा, सरकार र डा. केसी दुवै पक्षले मेरो गोरुको बाह्रै टक्का गर्नु हुँदैन । दोस्रो कुरा, दुवै पक्षले संयमता अपनाउनु पर्छ । विषयवस्तुको संवदेनशीलतालाई गहन रूपमा मनन् गर्दै वार्तामा बस्ने वातावरण मिलाउनु प¥यो । तेस्रो कुरा, खुल्ला दिमागले कुनै पूर्वाग्रह नराखी विषयवस्तुलाई तथ्यसम्मत, तर्कसम्मत र एउटा यसको उपादेयता र चिकित्सा शिक्षा र नेपाली जनताको हितमा कसरी राख्न सकिन्छ भन्ने प्रश्नलाई केन्द्रविन्दुमा राखेर वार्तालाप गरेर सुल्झाउनुपर्छ ।

प्रमुख सरोकारवाला निकायसँग आवश्यक परामर्श र अन्तत्र्रिmया गरेर सुल्झन सक्छ । हठ गर्ने हो भने मुठभेड मात्रै बढ्छ, समस्या समाधान हुँदैन । दुवै पक्षबाट संवदेनशीलता, आवश्यक लचकता र जनताको हितलाई केन्द्रविन्दुमा राखी दीर्घकालीन रूपमा समस्या समाधान गर्न कुन–कुन आधारमा के के गर्दा राम्रो हुन्छ, त्यसको गुणदोषको आधारमा कुनै कुरा मान्ने अथवा नमान्ने भनेर समस्याको समाधान खोजिनुपर्छ । आम नेपाली जनताको दीर्घकालीन हितलाई केन्द्रविन्दुमा राखी संवेदनशीलता, संयमता र लचकतासहित वस्तुनिष्ठ ढंगले संवाद हुनुपर्छ ।

चिकित्सा शिक्षामा देखिएका जति पनि विकृति र विसंगति छन्, त्यसलाई समुचित ढंगले सम्बोधन गर्न चिकित्सा शिक्षा आयोगको व्यवस्था गर्नुपर्छ । आयोग स्थापना गर्न नसक्ने भए वा डा. केसीका माग सम्बोधन गर्न असजिलो भए सरकारले तर्कसहित खुलस्त पार्न सक्नुपर्छ । लोकतन्त्रमा वार्ता र छलफलद्वारा नै समस्या समाधान हुनुपर्छ । मैले बोलेको वा भनेको सबै सही हो र यसलाई अक्षरशः कार्यान्वयन हुनुपर्छ भन्ने आग्रह राख्नु विवेकसम्मत होइन । समग्र परिस्थितिलाई ध्यानमा राखी लचकता अपनाउनु पर्छ । जनतालाई एउटै विषयमा पटकपटक अनशनका शृंखला हेर्न मन छैन । पूर्ण रूपमा टुंगो लगाउन वार्तामा बसी सरोकारवाला पक्षको समेत विश्वास जितेर समस्या समाधान गर्नुपर्छ ।

देशविदेशमा भइरहेका छलफल र वार्तालाई पनि सन्दर्भका रूपमा हेर्नुपर्ने हुन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङबीच पनि वार्ताद्वारा समस्या समाधान खोजिएको सन्दर्भ पढ्ने मात्र होइन, त्यसबाट सबैले सिक्नु समेत पर्छ । त्यसैले लचकता दुवै पक्षमा हुनुपर्छ । चिकित्सा शिक्षा आयोग स्थापना हुनुपर्छ । आयोग गठनमा लिंडेढिपी गर्नु वा तन्काउनु कसैको हितमा छैन । तर्क र तथ्यका आधारमा पुष्टि गर्ने प्रमाणहरू वार्ताका सन्दर्भमा राख्न सकिन्छ ।

समस्याको कारक रूपमा दुवै पक्ष पेश हुनु उपयुक्त हुँदैन । सरकारले दुईतिहाइ बहुमत छ भने सोच्ने वा अहम् प्रदर्शन गर्नु हुँदैन । डा. केसीले पनि चिकित्सा शिक्षा सुधारका लागि आफ्नो मात्र योगदान भन्ने खालको अहंकार देखाउनु हुँदैन । मैदानको खेलाडी आफू मात्र हो भन्ने सोच राख्नु हुँदैन । चिकित्सा शिक्षा र सेवा समाजिक न्यायमा आधारित हुुनुपर्छ । चिकित्सा शिक्षा गुणस्तरीय र सर्वसाधारणको पहुँचयोग्य हुनुपर्छ । त्यसैले सबैले आ–आफ्नो क्षेत्रबाट सकारात्मक योगदान गर्नु आजको दिनमा वाञ्छनीय हुन्छ ।

(कार्की चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा गठित उच्चस्तरीय कार्यदल सदस्य हुन् । दिनेश गौतमसँगको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.