विश्वकप समीक्षा : युरोपकै दबदबा

विश्वकप समीक्षा : युरोपकै दबदबा

मस्को : विश्वकपमा बलियो छवि बनाएका देशहरु नकआउट चरणबाटै घर फर्किए । अझ विश्व फुटबलमा दबदबा कायम गर्दै आएका उत्तर र दक्षिण अमेरिकी टोलीको नतिजा त झनै निरश देखियो । पाँच पटकको विश्वकप विजेता ब्राजिलले आफुलाई सेमिफाइनलसम्म पनि पुर्‍याउन सकेन । प्रिक्वार्टरफाइनलमा उरुग्वेको हालत पनि ब्राजिलको भन्दा फरक रहेन ।

उपाधिको प्रबल दाबेदार मानिएको अर्को दक्षिण अमेरिकी टोली अर्जेन्टिनाले त समूहगत चरण नै बल्लतल्ल पार गरेको थियो । अन्ततः दुई पटकको विश्वकप विजेता अर्जेन्टिना पनि प्रिक्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेन । अफ्रिका र एसियाली टोली यसअघिका विश्वकपमा झैं यसपटक पनि कमजोर नै सावित भए । सेमिफाइनलमा पुग्दासम्म त मैदानमा युरोपेली टोलीको एकक्षत्र राज देखियो ।

आखिर यस्तो किन त ? रुसमा जारी २१औं विश्वकप र सहभागी टोलीहरुको प्रदर्शनलाई नजिकबाट नियाली रहेका फुटबल पण्डितहरुले विश्वकपमा युरोपको दबदबा देखिनुको कारण खोतलेका छन् । पछिल्लो समय युरोपको क्लब फुटबलको स्तर निकै माथि उठेका कारण विश्वकपमा पनि युरोपेली टोलीहरु हावी भएको फुटबल पण्डितहरुको तर्क छ ।

‘विश्वकपमा युरोपको दबदबा रहनुको पछिल्लो कारण यहाँको फुटबल संस्कृति नै हो । अहिले युरोपेली देशहरुले सरकारी स्तरबाटै युवा पिढिलाई लक्षित गरी खेलकुदमा ठूलो आर्थिक लगानी गरेका छन् । यस्तो परम्परा दक्षिण अमेरिकी तथा अन्य मुलुकमा देखिन्न । युवालाई नै लक्षित गरी युरोपका विभिन्न शहरमा स्टेडियम र खेलकुद संरचना निर्माण भएका छन् । ब्यवस्थित भौतीक पूर्वाधारकै कारण युरोपियन च्याम्पियन्स लिग र युरोपा लिगजस्ता ठूला प्रतियोगिता आयोजना सम्भव भएको छ । यसले हरेक युवामा फुटबलप्रति मोह जगाएको छ । बाल्यकालदेखि नै फुटबल खेल्नेको संख्यामा बृद्धि भएको छ । यही संरचना र संस्कारकै कारण जारी विश्वकपमा युरोपेली टोलीहरू हावी भएका हुन्’, युरोपेली फुटबल महासंघ (यूईएफए) का पूर्वअध्यक्ष लेनर्ट जोन्सन भन्छन् ।

यसको ठिक बिपरीत दक्षिण र उत्तर अमेरिकी क्षेत्रमा प्रतिर्धात्मक ठूला प्रतियोगिताकै कमि भयो । युरोपमा बलिया क्लबहरुले च्याम्पियन्स लिग खेल्छन् भने दोस्रो स्तरका क्लबहरुले युरोपा लिग खेल्ने अवसर पाउछन् । घरमै पनि नकआउट र लिगका राम्रा संरचनामा खेल्ने अवसर पाउँछन् । तुलनात्मक रुपमा दक्षिण अमेरिकी र अन्य क्षेत्रमा यस्ता प्रतियोगिता खेल्ने प्रतिस्पर्धी टोलीको पनि कमि देखिन्छ ।

यसका साथै परम्परागत रुपमा ठूला मानिँदै आएका टोलीहरु आफ्ना एक वा दुई स्टार खेलाडीमाथि बढी निर्भर रहँदा विश्वकपमा त्यसको प्रतिकुल असर देखिएको ठहर पनि फुटबल पण्डितहरुले गरेका छन् । जोन्सनले युईएफएले सन् २००४ देखि फुटबल विकासका लागि फरक तरिका अपनाएको बताए । ‘फुटबलको विकासका लागि हामीले युरोपका क्लबहरुमा विशेष ध्यान दियौं । सबै क्लबलाई फरक–फरक उमेर समूहको युवा फुटबल कार्यक्रममा अग्रसर बन्न आग्रह गर्‍यौं । क्लबहरुले पनि यू–१० देखि यू–१४, यू–१५ हुँदै यू–२१ सम्मका एकेडेमी तयार गरे । त्यसले फुटबलको स्तर उकास्न ठूलै मद्दत गर्‍यो । विस्तारै राष्ट्रिय टोली पनि बलियो बन्दै गायो । यो कुनै भगवानले दिएको उपहार होइन’ पछिल्लो समय युरोपेली टोली बलियो हुनुको रहस्य खोतले जोन्सनले ।

जोन्सनको विचारमा कुनै पनि टोलीलाई बलियो बनाउन सानैदेखि मलजल गर्नुपर्छ भन्ने यथार्थ कसैले भुल्नु हुँदैन । इङ्ल्यान्ड फुटबल संघले सरकारको मातहतमा रहेर यू–१७ र यू–२० उमेर समूहमा लगानी गर्दा सन् १९६६ पछि अहिले आएर विश्वकपमा नतिजा निकाल्न सकेको पनि विज्ञहरुको बुझाई छ । यसैगरी युईएफएका अध्यक्ष अलेक्जेन्डर सेफेरिन पनि युरोपेली मुलुकले फुटबलमा गरेको लगानीका कारण विश्वकपमा उत्कृष्ट नतिजा आएको बताउँछन् ।

‘यो युरोपले फुटबलमा गरेको लगानीको प्रतिफल हो । जस्तो विरुवा रोप्यो त्यस्तै फल फल्छ । विश्वकपमा युरोपबाट आयोजक रुससहित १४ टोलीले भाग लिएका थिए । आयोजकसहित १० टोली अन्तिम १६ मा पुगे । क्वार्टरफाइनलमा ६ र सेमिफाइनलमा चारवटै युरोपका टोली पुग्नुले फुटबल विकासप्रति युरोपको लगाव र मिहिनेत झल्काउँछ’, अलेक्जेन्डर भन्छन् ।

उनले युरोपका टोलीले विश्वकप छनोटका लागि नै कठिन यात्रा तय गर्नुपर्ने पनि बताए । ‘छनोटको ढोका खोल्न नै युरोपेली देशलाई निकै गाह्रो छ । यही विश्वकपमा नेदरल्यान्ड्स र इटालीजस्ता बलिया टोली बाहिरिए । छनोट चरण पार गरे पनि जर्मनी जस्तो बलियो टोलीले समूहगत चरण नै पार गर्न सकेन । सन् २०१० को विश्वकप विजेता स्पेन र सन् २०१६ को युरोपियन च्याम्पियन पोर्चुगलले अन्तिम १६ मा चित्त बुझाए पनि ती टोलीको प्रदर्शन फाइनलमा पुग्ने टोलीकोभन्दा कुनै अर्थमा कम थिएन,’ अलेक्जेन्डर भन्छन् ।

कनकाकाफका अध्यक्ष भिक्टर मोन्टाग्लियानीले पनि युरोपलाई उनीहरुको फुटबल संरचनाले विश्वकपमा सहयोग पुर्‍याएको बताउँछन् । ‘पछिल्लो ४० वर्षको अवधिलाई हेर्ने हो भने कनकाकाफमा आवद्ध उत्तर र दक्षिण अमेरिकी देशभित्रको फुटबल गतिविधि खासै सन्तोषजनक छैन । ती देशको क्लब फुटबलको स्तर खस्किएकोले विश्वकपमा पनि धक्का लागेको हो,’ भिक्टर भन्छन् । ब्राजिलजस्तो टोलीको प्रदर्शन खस्किनुको पछाडि पनि युवा कार्यक्रमको अभाव रहेको उनको बुझाई छ ।

क्रोएसियकाका प्रशिक्षक ज्लाट्को डालिचले पनि जारी विश्वकप युरोपेली युवा पुस्ताको फुटबल भएको धारणा ब्यक्त गर्छन् । ‘रुस विश्वकपको सेमिफाइनलमा खेल्ने ९२ खेलाडीमध्ये युरोपको विभिन्न लिग र च्याम्पियन्स लिग खेलिरहेका ८१ जना छन् । जसमा इङ्ल्यान्डमा ब्यवसायिक लिग खेलिरहेका ४०, स्पेनका १२, फ्रान्सका १२, जर्मनीका नौ र इटालीका आठजना खेलाडी छन् । यसैले पुष्टि गर्छ, यो विश्वकप युरोपको हो भनेर ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.