‘अब सिन्डिकेट फर्कदैन’
काठमाडौंं : गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रमा सिन्डिकेट अब कुनै पनि हालतमा नफर्किने बताएका छन् । काठमाडौंंमा बुधबार आयोजित एक कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् । ‘यातायात क्षेत्रमा सिन्डिकेट फर्काउन अब सम्भव छैन । अब अहिले जस्तो यातायातको क्षेत्रमा केही मुठिभर व्यवसायीको एकाधिकार अब रहँदैन’, उनले भने, ‘यो क्षेत्रमा आउन खोजेका हजारौं नयाँ व्यवसायीको बाटो रोक्ने गरी सिन्डिकेट फर्काउने षड्यन्त्र भइरहेको छ । यसबारे सरकार सचेत छ ।’
कार्यक्रममा यातायात व्यवसायीले कम्पनीमा कसरी यातायात सञ्चालन हुन्छ भन्ने मोडालिटी सार्वजनिक गरेका थिए । कार्यक्रममा नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले व्यवसायी कम्पनी मोडलमा सवारी चलाउन सहमत रहेको बताए । उनले भने, ‘त्यसका लागि सरकारले मोडालिटी तोक्दिनुपर्छ । कम्पनीमा जाँदा हाम्रो लगानी कसरी सुरक्षित हुन्छ भन्ने प्रष्ट छैन । सरकारले ग्रामीण क्षेत्रमा संचालन हुँदै आएको सार्वजनिक सवारी व्यवस्थापन गर्नुपर्छ ।’