प्रधानमन्त्रीले सचिवसँग लिए ब्रिफिङ
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले सबै मन्त्री र सचिवसँग आगामी वर्ष गर्ने बृहत् कार्ययोजनासहितको ब्रिफिङ लिएका छन् । सिहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार दिउँसो साढे २ बजेबाट सुरु भएको ब्रिफिङ राति सवा ९ बजेसम्म चलेको थियो ।
प्रधानमन्त्रीले मन्त्रालयका सचिवले प्रस्तुत गरेको विकास र आर्थिक समृद्धि समेटिएको कार्ययोजना सुन्नुका साथै सवालजवाफसमेत गरेका थिए । उनले मन्त्रीहरूसँग पनि कार्ययोजनाबारे जिज्ञासा राखेका थिए ।
सरकारका नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न आवश्यक कार्ययोजना पेस गर्न उनले सचिवलाई निर्देशनसमेत दिएका छन् । प्रधानमन्त्रीले रेल, पानीजहाज सञ्चालन, सडक, सिँचाइ र कृषि विकासका लागि तत्काल कार्ययोजना बनाउन पनि मन्त्री र सचिवलाई निर्देशन दिए । उक्त अवसरमा उनले मन्त्री तथा सचिवलाई अलमल नगरी आफ्नो मन्त्रालयको जिम्मेवारीमा आएको कामको उपलब्धि देखिने गरी तत्काल काम थाल्नुपर्नेमा जोड दिएका छन् ।
कतिपय सचिवलाई पूर्ण रूपमा कार्ययोजना नआएको र कार्ययोजनाका सवालमा स्पष्ट नभएकाले केही विषय थप गर्नसमेत सुझाएका छन् । कतिपय सचिवबाट परम्परागत रूपमा कार्ययोजना आएको भन्दै प्रधानमन्त्रीले असन्तुष्टिसमेत व्यक्त गरेको बताइएको छ । निजामती प्रशासन कामचलाउ हुँदै आएको आरोप लागेको अवस्थामा प्रधानमन्त्रीले आर्थिक समृद्धि र सुशासनको एजेन्डा पूरा गर्न कर्मचारीतन्त्र जिम्मेवार र संवेदनशील बन्नुपर्ने बताए ।
सचिवले सरकारका नीति तथा कार्यक्रम र बजेटअनुसार सम्बद्ध मन्त्रालय र निकायबाट आगामी वर्ष सम्पन्न हुने विकास र समृद्धिको खाकासहितको विस्तृत कार्ययोजना सुनाएका थिए । बुधबार गृह, सहरी विकास, स्वास्थ्य, ऊर्जा, सिँचाइ, परराष्ट्र, श्रम तथा रोजगार, भौतिक पुर्वाधार तथा यातायातलगायत मन्त्रालयको कार्ययोजनाबारे छलफल भएको थियो ।