बाढीले ६ घर बगायो

बाढीले ६ घर बगायो

 दार्चुला : दार्चुलामा बाढीपहिरोले बितण्डा मच्चाएको छ । गए राति परेको भारी वर्षाका कारण दार्चुलामा विभिन्न नदी खोलाहरूमा पानीको बहाव बढेर विभिन्न स्थानमा पहिरो तथा बाढीले क्षति गरेको छ । नौगाड गाउँपालिकामा बढी क्षति गरेको छ । नौगाड खोलामा पानीको बहाव बढेपछि नदीले जमिन कटान गरिरहेको छ भने आधा दर्जन घरहरूमा क्षति पुर्‍याएको छ । ती खोलाहरूमा लगाइएको काठेपुलहरू समेत बगाइदिएको छ ।

नौगाड गाउँपालिका वडा नम्बर ४ कपडेका लालमणि ठगुन्नाका दुई वटा घरमा पहिरोले क्षति पुर्‍याएको छ । नौगाड खोलामा आएको बाढीले होपरीगाडमा रहेको मनवीर ठगुन्नाको एउटा पसल बगाएको छ । नौगाड गाउँपालिका वडा नम्बर १ मा खड्कसिंह ठगुन्नाको घर पहिरोले पुरिँदा पशुचौपाया, अन्नबाली, अन्य सम्पत्ति पहिरोले पुरिएको मिडिया विकास समाज नेपाल दार्चुलाका सदस्य आनसिंह बडालले बताए ।

यस्तै नौगाड गाउँपालिका वडा नम्बर १ मा रहेको गोधानी खोला लघुजलविद्युत् आयोजनाको विद्युत्गृहमा क्षति भएको छ । गरिबी निवारण कोषको ६० लाख बढी लगानीमा उक्त जलविद्युत् आयोजना निर्माण गरिदिएको हो ।

विभिन्न खोलामा लगाइएका पुलहरू बगाएको छ । गोधानी खोला, सेइल खोला, दह खोलामा राखिएका काठेपुलहरू पनि बगाउँदा आवत्जावतसमेत बन्द भएको नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामीले बताएका छन् । खोलाहरूमा लगाइएका पुलहरू बगाउँदा उद्धार कार्यसमेत प्रभावित भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वर जनाएको छ ।

बस्तीहरू सञ्चारविहीन

नौगाडका बाढी तथा पहिरोले क्षति पुर्‍याएका ती बस्तीहरूमा सञ्चार सेवा नै अवरुद्ध भएको छ । घाम लागेका बेलामात्रै टेलिफोन सेवा उपलब्ध हुने र उक्त बस्तीहरूमा टेलिफोन सम्पर्क नहुँदा थप विवरणहरू संकलन गर्न समेत समस्या भइरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वर, प्रहरी चौकी सिप्टी र प्रहरी चौकी दल्लेकबाट प्रहरी टोली उद्धारका लागि ती बस्तीमा परिचालन गरिएका छन । उद्धारका लागि खटिएको प्रहरी टोलीसँगसमेत सम्पर्क हुन नसकेको प्रहरी चौकी सिप्टीले जनाएको छ ।

महाकाली नदीभन्दा दोस्रो ठूलो नदी चमेलियामा पानीको बहाव खतराको लेबलमा पुगेको छ । पानीको बहाव साँझ र राति बढ्ने अनुमान गरिएकाले नदी किनारमा बसोबास गरिरहेका मानिसलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.