रातिदेखि अबरुद्ध अरनिको र बिपी राजमार्ग सञ्चालन
बनेपा : बाढीका कारण अबरुद्ध अरनिको र बिपी राजमार्ग सञ्चालन भएको छ । बुधबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण खोलामा बाढी आउनाका साथै पाखा भित्तामा कान्ला भत्किएर अवरुद्ध भएको अरनिको र बिपी राजमार्ग दुवै सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी छ ।
यसैबीच, नमोबुद्ध नगरपालिका–६ खाक्सिस्थित खानेपानीको काम गरिरहेका रोशी खोलाको बीचमा परेको दुई जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख खड्काका अनुसार नमोबुद्ध नगरपालिका–६ खाक्सी र दाप्चाका लागि लिफ्टिङ खानेपानी आयोजनामा खोलामा इनार खनिरहेका डोजर अपरेटर नमोबुद्ध नगरपालिका–७ दाप्चाका नारायणगोपाल श्रेष्ठ र सहचालक धुलिखेल नगरपालिका–२ का कान्छा तामाङलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
दुवै जना खोलामा काम गरिरहेको अवस्थामा एक्कासि खोला बढेर दुवै तर्फबाट बाढी पसेपछि बीचको अग्लो ढुंगामा बसिरहेको अवस्थामा दुवैजनाको उद्धार गरिएको हो ।
पोखरा–बागलुङ सडक खण्ड बाह्र घण्टापछि खुल्यो
अविरल वर्षासँगै सडक माथिबाट खसेको पहिरोका कारण अवरुद्ध भएको पोखरा–बागलुङ सडक खण्ड बाह्र घण्टापछि सञ्चालन भएको छ । पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा पर्ने भ्याप्ले खोला नजिकै माथिबाट लेदो झरेका कारण गए राति १० बजेबाट सडक अवरुद्ध भएको थियो ।
बिहान १० बजेदेखि बाटो सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । सडक खुलेसँगै रातिदेखि नै सडकमा अलपत्र परेका सयौँ सवारी साधन गन्तव्यतर्रफ लागेका छन् ।
पोखरा बागलुङ सडकखण्डको वैकल्पिक सडक नहुँदा यात्रुहरु रातभर नै सावरीसँगै सडकमै अलपत्र परेका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय र डिमुवा प्रहरी चौकीले संयुक्त रुपमा रातिदेखि नै डोजरको प्रयोग गरेर पहिरो हटाउने प्रयास गरेका थिए ।
अहिले वर्षा रोकिएका कारण बाटो खुलाउन सकिएको भए पनि फेरि वर्षा हुँदासाथ बाटो अवरुद्ध हुने अवस्था रहेको पहिरो गएको स्थानमा रहेका ट्राफिक प्रहरी काशीनाथ चौधरीले बताए । वर्षा सुरु भएसँगै भ्याप्ले खोलामा पहिरो खस्ने गरेका कारण पोखरा बागलुङ सडकखण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ । रासस