बाघसँग कुस्ती
भरतपुर ः कालिका नगरपालिका - २ पदमपुरका ३२ वर्षीय रविन्द्र श्रेष्ठलाई बुधबार साँझ भरतपुरबाट घर जाँदै गर्दा खगेरी खोलाको पुल नजिकै बाघले आक्रमण गरेको छ ।
चतुमुर्खी सामुदायीक वनबाट निस्केको बाघले मोटरसाइकलमा घर जाँदै गरेका श्रेष्ठलाई आक्रमण गर्दा दाहिने खुट्टाको तिघ्रामा गहिरो चोट लागेको छ । हाल भरतपुरस्थित सेन्ट्रल हस्पिटलमा उपचाररत उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
कसरी गर्याे बाघले आक्रमण ?
साँझ साढे सात बजेको थियो । नारायणगढस्थित कुमारी बैंकमा कार्यरत श्रेष्ठ कार्यालयको काम सकेर घर फर्किदै गर्दा बाघको आक्रमणमा परेका थिए । ‘आर्थिक वर्ष सकिन लागेकोले बैंकमा अबेरसम्म काम गरेर घर फर्किदा अचानक बाघसँग जुध्न पुगेछु,’ घटनाको विवरण सुनाउँदै उनले भने , ‘मोटरसाइकलमै बाघले झम्टिएपछि बाँचुला झैँ लागेको थिएन ।’
दायाँ गोडामा घाउ बनाइदिएपछि आत्तिएका उनले मुक्काले हिर्काएपछि मात्रै बाघले छाडेको बताए । उनका अनुसार दिउँसै खगेरी खोलामा माछा मार्न गएका एकजनालाई आक्रमण गरेको थियो । ‘तर, उनी भागेर बाँच्न सफल भएछन्,’ उनले भने, ‘दिउँसैदेखि रिसाएर बसेको बाघको शिकारमा म पो परेछु ।’
उनी भरतपुरबाट घर जाँदै गर्दा केही अटो ट्याम्पु चालक खगेरी खोलाको पुलमै साधन रोकेर बसिरहेका थिए । ‘उनीहरूले केही भनेका हुन् कि भन्ने लागेको थियो,’ घाइते श्रेष्ठले भने, ‘बाघले झम्टिएपछि पो झसंग भएँ ।’
मोटरसाइकलमै बाघसँग कुस्ती खेल्दैगर्दा ती अटो ट्याम्पो चालकले हल्ला गरेर बाघ धपाएपछि बल्ल सास फेरेको उनले बताए । उनको मोटरसाइकलको सिट बाघसँगको जुधाइमा धुजैधुजा भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको मध्यवर्ती सामुदायिक वन आसपासका जनताले हरेक वर्ष जंगली जनावरसँग पौँठेजोरी खेल्नुपर्ने बाध्यता छ । भरतपुरको भोजाडदेखि पदमपुर छिचोल्ने यो बाटोमा बाघले हरेक वर्ष मानिसलाई आक्रमण गर्दै आइरहेको छ ।
गतवर्ष पनि बाघको आक्रमणबाट सोही स्थानमा एक जनाले ज्यान गुमाए । बाटो हिँड्दा दिउँसै पनि जोखिम मोलेर हिँड्नुपर्ने भएकोले जनताको सुरक्षाको लागि सम्बन्धित सामुदायिक वन र जिल्ला वनले ध्यान दिनुपर्ने श्रेष्ठले बताए ।
‘साँघुरो बाटो त्यही माथि वर्षाको समयमा बढेको बाक्लो झाडीले पनि झनै डर छ,’ उनले भने, ‘त्यसैले सडक छेउको झाडी फाँडेर सफा बनाउने र सडकमा बत्ती राखे सुरक्षित यात्रा गर्न सकिन्थ्यो ।’
बाघको आक्रमणमा परेर घाइते भएकालाई सरकारले अधिकतम दुई लाख रूपैयाँसम्म क्षतिपूर्ति दिने प्रावधान छ । राष्ट्रिय निकुञ्ज तथा जिल्ला वन कार्यालयबाट प्रमाणित भएमा उक्त क्षतिपूर्ति पाउन सकिने चितवन निकुञ्जका सूचना अधिकारी अर्यालले जानकारी दिए ।
‘तर, जंगलभित्र भएको घटनामा भने पाउँदैनन्,’ उनले भने, ‘बाटोमा हिँड्दाहिँड्दै अथवा घरमै आएर आक्रमण गरेमा अथवा खेतबारीमा काम गर्दै गर्दाको अवस्थामा मात्रै यो नियम लागू हुन्छ ।’ मृतकको हकमा भने १० लाख रूपैयाँ क्षतिपूर्ति पाउने सरकारी प्रावधान छ ।
मान्छेलाई किन आक्रमण गर्छ बाघले ?
खासगरी जंगली जनावरमध्ये बाघलाई निकै अनुशासित तथा भद्र जनावरको रूपमा लिने गरिन्छ । बाघलाई लजालु स्वभावको जनावर पनि भनिन्छ । तर, कुनैकुनै समय बाघले हिंस्रक व्यवहार देखाउँदा त्यसको शिकारमा मानिस हुने गरेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवम् सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार बाघले आफूलाई असुरक्षित महसुस गरेमा मानिसलाई पनि झम्टिन सक्छ ।
‘बाघले निश्चित क्षेत्र निर्धारण गरेर बासस्थान बनाएको हुन्छ,’ उनले भने, ‘वासस्थानमा असहज महसुस भएमा यसले आतंक फैलाउन सक्छ ।’ मान्छे नै खान पल्केका बाघले भने अन्य जनावरलाई भन्दा मान्छेलाई नै आक्रमण गर्न सक्ने उनको भनाइ छ ।
‘अर्को कुरा बाघ जब बुढो हुँदै जान्छ, त्यसपछि उसले जनावरलाई शिकार गर्न सक्दैन र बाटो ढुकेर मान्छेलाई आक्रमण गर्न सक्छ,’ उनले भने । सन् २०१३ को गणना अनुसार चितवन जिल्लामा १२० वटा बाघ रहेका छन् । सन् २०१८ मा बाघ गणना गरिए पनि तथ्यांक भने सार्वजनिक भइसकेको छैन ।