भन्सार राजस्वको लक्ष्य पूरा नहुने
काठमाडौं : राजस्व संकलनको प्रमुख स्रोत रहेको भन्सारबाट चालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन नहुने देखिएको छ। चालू आवको पहिलो महिनादेखि भन्सारबाट संकलन हुने राजस्वको लक्ष्य पूरा हुन सकेको थिएन।
गत आवभन्दा ३० प्रतिशत बढाएर भन्सार राजस्वको लक्ष्य निर्धारण गरिएको थियो। राजस्व सचिव शिशिरकुमार ढुंगानाले मन्त्रालयले दिएको राजस्व असुलीको लक्ष्यमा भन्सारबाट केही कम हुने बताए। ‘अघिल्लो नौ महिनामा भन्सार राजस्व कम उठेकाले पछिल्लो समय लक्ष्यभन्दा बढी संकलन भए पनि लक्ष्यमा केही कम हुने देखिएको हो’, उनले भने ‘भरसक लक्ष्य पूरा गर्न सबै भन्सार कार्यालयलाई निर्देशन दिएका छौं।’
चालू आवका अर्थ मन्त्रालयले भन्सार विभागलाई तीन खर्ब २५ अर्ब राजस्व लक्ष्य दिएको थियो। असार २८ गतेसम्म विभागले तीन खर्ब नौ अर्ब राजस्व संकलन गरेको विभागका महानिर्देशक तोयम रायाले बताए। ‘अघिल्लो ८÷९ महिनामा लक्षित भन्सार राजस्व उठ्न नसकेकाले भन्सार राजस्व कम हुने देखिएको हो’, उनले भने ‘वैशाखयता राजस्व संकलनमा सुधार आएको छ।’
असारमा भन्सारबाट ३२ अर्ब ५७ करोड राजस्व संकलन गर्ने लक्ष्य थियो। बिहीबारसम्म पाँच अर्ब उठ्न बाँकी रहेको महानिर्देशक रायाले बताए। अहिले दैनिक एक अर्बभन्दा बढी राजस्व उठ्दै आएको छ। सधैं एकनास हुँदैन’, उनले भने ‘वैशाखमा लक्ष्य भेटको छ। जेठमा बढी नै उठ्यो असारमा पनि अहिलेसम्मको अवस्था हेर्दा राम्रो छ।’
भन्सारबाट उठ्ने राजस्वले लक्ष्य पूरा नगरेको देखेपछि अर्थमन्त्री डा. युवराज खतिवडाले २१ फागुनमा भन्सार मूल्यांकन सुधार गर्न निर्देशन दिएका थिए। कम मुल्यांकनको सामानलाई सन्दर्भ मूल्यका आधारमा पास गर्न अर्थमन्त्रीले दिएको निर्देशनको व्यापारीहरूले विरोध गरेका थिए। राजस्व संकलनमा यसको प्रभाव सकारात्मक परेको देखिएको छ।
भन्सारले भरथेग नगरे पनि अन्य क्षेत्रबाट पनि राजस्व राम्रै संकलन भएकाले चालू आवमा लक्ष्य पूरा हुनेछ। ‘दोस्रो चौमाससम्म महŒवाकांक्षी लक्ष्य निर्धारण गरिएछ भन्ने लागेको थियो’, ढुंगानाले भने, ‘केही शीर्षकमा घटीबढी हुँदा पनि समग्रमा राजस्वको लक्ष्य पूरा हुन्छ। यसमा म ढुक्क छु।’
चालू आवमा राजस्व लक्ष्यअनुसार उठ्ने देखिए पनि भन्सारले लक्ष्य पूरा गर्न नसक्ने भएको छ। चालू आवको पहिलो नौ महिनामा भन्सारबाट हुने राजस्व संकलनमा आएको कमीले समग्र लक्ष्य नै प्रभावित भएको छ।
आन्तरिक राजस्वतर्फका शीर्षकमा भने लक्षित राजस्व संकलन हुने आन्तरिक राजस्व विभागका उपमहानिर्देशक यज्ञप्रसाद ढुंगेलले बताए। ‘हामीलाई सरकारले चालू आवमा दुई खर्ब ९९ अर्ब ९१ करोड राजस्व असुल गर्न निर्देशन दिएको थियो’, उनले भने ‘अहिलेसम्म दुई खर्ब ६९ अर्ब ७६ करोड राजस्व असुली भएको छ। हामीलाई दिएको लक्ष्यभन्दा बढी नै राजस्व उठ्छ। जेठसम्म ९४ करोड नपुग राजस्वसमेत यस महिनामा असुलउपर हुने भएको छ।
विभागका उपमहानिर्देशक ढुंगेलले लक्ष्य पूरा हुने बताए पनि अर्थ मन्त्रालयले असारमा दिएको लक्ष्य ५० अर्ब ८६ करोडमा असार २८ सम्म २१ अर्ब ३६ करोड राजस्व संकलन भएको छ। आर्थिक वर्षको अन्त्यमा राजस्व संकलन ह्वात्तै बढ्ने भएकाले पनि अबको बाँकी दिनमा सो लक्ष्य पूरा हुने अनुमान विभागले गरेको हो। असार २८ गतेसम्म मूल्य अभिवृद्धि कर लक्ष्यको तुलनामा एक अर्ब ७६ करोड बढी उठेको छ। उक्त शीर्षकमा असारमा ६ अर्ब ६४ करोड उठाउने लक्ष्य लिएकोमा आठ अर्ब १० करोड राजस्व संकलन भएको उपमहानिर्देशक ढुंगेलले बताए।
हालसम्म संकलित राजस्वको अवस्था हेर्दा आयकर र अन्तःशुल्कमा लक्ष्यभन्दा संकलन भएको देखिन्छ। सरकारले यस महिना आयकरको अन्तिम किस्ता भएकाले ३४ अर्ब ४३ करोड उठाउने लक्ष्य लिएको थियो। यो बिहीबारसम्म सात अर्ब ४४ करोडमात्र राजस्व संकलन भएको छ। अन्तःशुल्कतर्फ यस महिना उठाउने निर्धारित राजस्व ६ अर्ब ७९ करोडमा चार अर्ब ९४ करोड संकलन भएको छ।
सरकारले चालू आवमा मूल्य अभिवृद्धितर्फ ७३ अर्ब ८४ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकामा जेठसम्म ६७ अर्ब ६ करोड संकलन भएको छ। अन्तःशुल्क शीर्षकमा विभागले ५६ अर्ब ५९ करोड राजस्व उठाउने लक्ष्य निर्धारण गरेकोमा जेठसम्म ५४ अर्ब ३३ करोड संकलन भएको छ। आयकरतर्फ भने जेठसम्म एक खर्ब २९अर्ब ९३ करोड राजस्व लक्ष्य रहेकोमा लक्ष्यको तुलनामा ९६ प्रतिशत अर्थात एक खर्ब २४ अर्ब ८१ करोड राजस्व संकलन भएको विभागले जानकारी दिएको छ।
सरकारले चालू आवको यो अवधिसम्म शिक्षा सेवा शुल्कबाट ९० करोड ९१ लाख, स्वास्थ्य सेवा करबाट एक अर्ब ११ करोड ८० लाख राजस्व संकलन गरेको छ। यी दुवै शीर्षकमा पनि अहिलेसम्म लक्ष्य भन्दा केही कम राजस्व संकलन भएको देखिएको छ। अबको चार दिनमा दैनिक ११ अर्बका दरले कुल ४४ अर्ब राजस्व संकलन गर्न पर्ने चुनौतीमा सरकार रहेको छ।