उपुकलपतिलाई एयरपोर्टबाट फर्काइएको घटनामा प्राध्यापक विभाजित
काठमाडौं : क्यानडामा हुन लागेको अन्तर्राष्ट्रिय संस्कृत सम्मेलनमा भाग लिन जाने क्रममा नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि)का उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालालाई विमानास्थलबाट फिर्ता गरिएको घटनामा प्राध्यापक नै विभाजित भएका छन् ।
विश्वविद्यालयमा अध्यापन गराउने व्यक्ति नै फरकफरक धार समाएर उपकुलपतिका गतिविधिको विरोध र बचाउमा लागेपछि समग्र विश्वविद्यालयकै प्रतिष्ठामा आशंका उब्जिएको छ । सम्बन्धित निकायसँग अनुमति नलिई क्यानडा जान लागेको भन्दै नेसंविका उपकुलपति प्रा.डा. कोइरालालाई शनिबार विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी ओलीको निर्देशनमा विमानास्थलबाटै फिर्ता गरिएको थियो ।
प्रधानमन्त्री कार्यालयको निर्देशन भन्दै विमानास्थलबाट प्रहरीले कोइरालालाई प्रधानमन्त्री निवास बालुवाटार लगेको थियो । विश्वविद्यालयको कानुनअनुसार उपकुलपतिले विदेश भ्रमणमा जानुअघि अनिवार्य रूपमा कुलपतिबाट अनुमति लिनुपर्छ । तर कोइरालाले अनुमति नलिएका कारण उनलाई फिर्ता गरिएको शिक्षा मन्न्त्रालयले स्पष्ट पारिसकेको छ ।
विश्वविद्यालयका सहकुलपति शिक्षामन्त्री हुने व्यवस्था छ । कोइरालाले शिक्षामन्त्रीमार्फत आफूले बिदाका लागि कुलपति कार्यालयमा निवेदन पठाएको दाबी गरेपछि मन्त्रालयले प्रधानमन्त्री कार्यालयको समेत निर्देशनमा विज्ञप्ति जारी गरेर कोइरालालको बिदा स्वीकृत नभएको स्पष्ट पारेको हो ।
विमानस्थलबाट फर्काएपछि कोइरालालाई बालुवाटारमा एक घण्टा राखेर घर पठाइएको थियो । कोइरालालाई अपहरण शैलीमा बालुवाटार लगेर थुनेको आरोप लगाउँदै नेपाल प्राध्यापक संघले खेद प्रकट गरिसकेको छ । विश्वविद्यालयको उपकुलपति जस्तो प्राज्ञिक व्यक्तित्वलाई अपहरण शैलीमा पक्राउ गर्नु विश्वविद्यालयमाथिको राजनीतिक हस्तक्षपेको नांगो रूप भएको संघको भनाइ छ ।
विगतमा एमाले र माओवादी निकट रहेका प्राध्यापकका दुई फरक संगठनले भने बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीको कामको बचाउ गरेका छन् । नेपाल राष्ट्रिय प्राध्यापक संगठनका सहसंयोजक प्रा.डा. रमेशप्रसाद भट्टराईले उपकुलपति कोइरालाका गतिविधि विश्वविद्यालयको नेतृत्वमा पुगेदेखि नै आपत्तिजनक रहेको बताए । ‘उपकुलपति कोइरालाले अहिले जे काम गर्न खोजे, यो अपत्तिजनक छ । उनलाई कुलपतिको हैसियतमा प्रधानमन्त्रीले कारबाही गर्नुपर्छ । यो अधिकार विश्वविद्यालय ऐनले दिएको छ’, उनले भने ।
नेपाल प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. यादवप्रकाश लामिछानेले पनि विश्वविद्यालयको ऐनकानुन नमान्ने कोइरालालाई कारबाही गर्नुपर्ने दाबी गरे । तर हाल नेपाल कम्युनिस्ट पार्टी निकटका केही प्राध्यापकले भने कोइरालालेल कुलपतिसँग अनुमति नलिई विदेश जान खोज्नु गलत भए पनि प्रधानमन्त्रीले विमानास्थल पुगिसकेका व्यक्तिलाई प्रहरी लगाएर समात्न लगाउनु गलत भएको भन्दै असन्तुष्टि जनाएका छन् ।
‘जे भए पनि विश्वविद्यालयको उपकुलपति प्रतिष्ठित व्यक्ति हुन् । उनीप्रति कुनै कुरामा असन्तुष्टि भए कुलपतिले जहिले पनि बोलाएर आवश्यक निर्देशन दिन सक्छन्’, नेकपा निकट एक प्राध्यापकले भने, ‘मुलुकको नेतृत्व सम्हालिरहेको प्रधानमन्त्रीजस्तो व्यक्तिको शैली पटक्कै राम्रो भएन ।’
यता उपकुलपति कोइरालाले भने आफूले विगतका विदेश भ्रमणमा पनि यही प्रक्रिया अपनाएको, यस पटक पनि बिदाका लागि प्रधानमन्त्री कार्यालयमा निवेदन दिएको र त्यहाँबाट कुनै जवाफ नआएको दाबी गरेका छन् ।